आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

सहकारी ठगी प्रकरण : एमाले सांसदका छोरा सुमन खनाल पक्राउ

आइतबार, ११ कात्तिक २०८१, १९ : ३९
आइतबार, ११ कात्तिक २०८१

विराटनगर । सहकारी ठगी आरोपमा नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल पक्राउ परेका छन् । 

उनलाई झापाको शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थामा ठगी गरेको आरोप छ । खनाल सोही सहकारीका अध्यक्ष थिए । उनले बचतकर्ता र सेयर सदस्यको झण्डै एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् ।

प्रहरीले उनलाई कात्तिक ५ गते घरबाटै पक्राउ गरिएको थियो । यद्यपि प्रहरीले उनी पक्राउ परेको सार्वजनिक गरेको थिएन । प्रदेश रजिस्टार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनाललाई हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको र अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जनाइएको छ । 

खनालले आर्थिक वर्ष २०७८/७९ मा ७० हजार सेयर रकम हिनामिना गरेको शिवसताक्षी नगरपालिका–३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समिति अध्यक्षले संस्था स्थापना भएदेखि नै संस्थाको नगद हिनामिना गरी व्यक्तिगत रूपमा चलाएको र उक्त रकममा संस्थाले ब्याज नपाएको हुँदा संस्थापक अध्यक्षले आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा एक करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ अनियमितता गरेको देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप