आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
नख्खु खोलाको वितण्डा

नख्खु खोलामा उद्धारमा ढिलाइ भएकोबारे प्रहरी प्रधान कार्यालयको छानबिन

आइतबार, ११ कात्तिक २०८१, १७ : ३०
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । ललितपुर महानगरपालिका–१३ स्थित नख्खु खोलाबाट विपद्मा परेकाहरूको उद्धारमा ढिलाइ भएकोबारे प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । असोज ११ र १२ मा अविरल वर्षासँगै नख्खु खोलामा आएको बाढीका कारण जस्ताको टहरोको छतमा उभिएर लामो समय गुहार माग्दा पनि दुई जना बेपत्ता भएका छन् ।

खोलाले टहरो ढालेपछि बगेका ३ जनालाई काभ्रे घर भएका चणिकलाल तामाङले उद्धार गरेका हुन् । रौतहटको वृन्दावन घर भएका ४३ वर्षीय राजु शाह, ६ वर्षीया छोरा मेघना शाह, उनकै अर्की छोरी सेतु शाहलाई र भाइ राज शाहलाई खोलाले बगाएको थियो ।

गुहार माग्दामाग्दै बगेका देवराज कार्की र सेतु शाह बेपत्ता छन् ।  खोलाले बगाएको मध्ये दुई जना बेपत्ता छन् । उनीहरू ललितपुर महानगर–१३ दिव्यनगरस्थित कान्तिपुर कोलोनी नजिकै ईश्वरी केसीको जग्गामा टहरा बनाएर बसेका थिए ।

उनीहरुले त्यहाँ ग्रिल कारखाना सञ्चालन गरेका थिए ।  घट्ना छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहको नेतृत्वमा समिति गठन गरेको छ ।

समितिका सदस्यहरूले नख्खु स्थित घटनास्थलमा स्थलगत अवलोकन गरेर उद्धारमा खटिएका प्रहरी अधिकृतहरूसँग बयान लिएका छन् । घटनास्थलमा समयमै प्रहरी पुगे पनि साधन स्रोत नहुँदा समयमा उद्धार हुन नसकेको र दुई जना बेपत्ता भएका छानबिन समितिको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिबिलिटी कम भएको कारण देखाएर हेलिकप्टर उडाउन अनुमति नदिँदा पनि नख्खुमा समयमा उद्धार हुन नसकेको समितिको प्रारम्भिक छानबिन निष्कर्ष छ ।

उद्धार टोली कुसुन्तीमा केन्द्रित

दिब्यनगरस्थित जस्ताको टहरा नजिकै ५ जना गुहार मागिरहँदा उद्धारकर्मीहरू कुसुन्तीमा केन्द्रित थिए । सशस्त्र प्रहरीको गोताखोर सहितका उद्धारकर्मीहरू कुसुन्तीमा केन्द्रित भएका हुन् । प्रहरी वृत्त सात दोबाटोबाट खटिएका प्रहरीले टहरामा बसेर गुहार माग्नेहरूलाई डोरीको सहायताले उद्धारको प्रयास गरे पनि अन्य साधन स्रोत नहुँदा उद्धार हुन नसकेको प्रारम्भिक छानबिनबाट देखिएको छ ।

कुसुन्तीस्थित मोटर ग्यारेजमा फसेका ६५ जनालाई प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र भट्टराई सहितको टोलीले उद्धार गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप