आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
झ्याप्लेखोला दुर्घटना

सीडीओ र एसपीको सम्बन्ध राम्रो नहुँदा मनसुन प्रतिकार्यबारे छलफल नै नभएको छानबिन निष्कर्ष

छानबिन अन्तिम चरणमा
आइतबार, ११ कात्तिक २०८१, १६ : ३९
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा ३५ जनाको ज्यान जाने गरी दुर्घटना हुनुमा प्रहरी उपरीक्षक गौतम केसी र प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे जिम्मेवार देखिएका छन् ।  असोज ११ र १२ मा अविरल वर्षासँगै झ्याप्लेमा खसेको पहिरोमा पुरिएर दुई वटा माइक्रो र एउटा बसमा सवार ३५ जनाले ज्यान गुमाएका थिए । 

धादिङको धुनिवेशी नगरपालिका–९ मा पर्ने झ्याप्ले खोला क्षेत्रमा साँझमा यात्रुवाहक सवारी चलाउन रोक्ने निर्णय नहुँदा दुर्घटना भएको भनेर सर्वत्र आलोचना भइरहेको छ । आईजीपी वसन्त कुँवरले प्रहरी हेडक्वार्टर स्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत एसएसपी सिद्धिविक्रम शाहको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए ।

छानबिन अन्तिम चरणमा पुगेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । धादिङ जिल्लाका प्रहरी प्रमुख गौतम केसी र प्रजिअ राजेन्द्रदेव पाण्डेको बिचमा ‘समन्वय’ नहुँदा दुर्घटना भएको प्रारम्भिक छानबिन निष्कर्ष छ । छानबिन समितिले रिपोर्ट बुझाउने तयारी गरिरहेको छ ।

गृह मन्त्रालयको निर्णय अनुसार एसपी केसी र प्रजिअ पाण्डे यसअघि नै त्यहाँबाट तानिएका थिए । उनीहरूको बिचमा ‘मनमुटाब’ हुँदा अविरल वर्ष हुनसक्ने पूर्वानुमान हुँदा पनि प्रतिकार्य सम्बन्धी योजना नबनाएको छानबिनबाट देखिएको छ ।

प्रजिअ र एसपीको मनमुटाब भएको तथ्य धादिङमा सर्वसाधारणले समेत थाहा पाउने गरी ‘छरपस्ट’ भएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए । उनले भने, ‘मनमुटावका कारण मनसुन प्रतिकार्यबारे उनीहरूले छलफल र निर्णय गरेको देखिएन ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणगढ–मुग्लिन हुँदै नागढुंगासम्म सवारी चलाउन रोक लगाउन सूचना जारी गरेको र सो सूचनालाई बेवास्ता गरेको भेटिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक शाह नेतृत्वको समितिले धादिङमा गएर घटनास्थलको स्थलगत अवलोकन र प्रहरी अधिकृतहरूसँग सोधपुछ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनको नारायणगढ–मुग्लिन सड्क खण्डमा अविरल वर्षाको समयमा सवारी सञ्चालन गर्न रोके पनि धादिङको सीमा क्षेत्रमा निर्बाध चलिरहेको छानबिनबाट भेटिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयका एक जना अधिकृत भन्छन्– ‘जिल्ला प्रशासन कार्यालयले त्यसबारे निर्णय गरेर पृथ्वी राजमार्गमा सवारी चल्न रोकेको भए दुर्घटना हुने थिएन तर, दुई जनाको कटुतापूर्ण सम्बन्धका कारण बैठक नै बसेको देखिएन ।’

स्थानीय प्रशासनले झ्याप्ले खोला क्षेत्रमा बस्ने स्थानीय र होटल सञ्चालकलाई पनि पूर्व सूचना दिएको भेटिएन । खोला बढेपछि होटल सञ्चालकहरू आफैँ त्यहाँबाट हिँडेका कारण थप दुर्घटना नभएको छानबिनबाट देखिएको छ । गोरखा र चितवनबाट आएका सवारी साधन प्रहरीले नरोक्दा दुर्घटनामा परेर २५ जना पुरुष ९ जना महिला र १ जना बालिकाले ज्यान गुमाएका थिए । उनीहरू सबैको सनाखत भैसकेको छ ।

गोरखाबाट काठमाडौँ आउँदै गरेको ना.४ ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायस र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा सवार यात्रु पुरिएका हुन् । दुर्घटनापछि धादिङको प्रमुख जिल्ला अधिकारीमा सुमन घिमिरे र जिल्ला प्रहरी प्रमुखमा दीपेन्द्र शाहीलाई जिम्मेवारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप