आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

इङ्ल्यान्डका युवा अलराउन्डर ल्यूक चितवन राइनोजमा

आइतबार, ११ कात्तिक २०८१, १६ : २९
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवन राइनोजले इङ्ल्यान्डका युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेनस्टाइनलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ ।

ल्यूकले चितवन राइनोजमा आबद्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि चितवन राइनोजले दक्षिण अफ्रिकाका तीव्रगतिका बलर डी ल्यांगलाई टोलीमा अनुबन्ध गरेको थियो । गत जनवरीमा सम्पन्न यू–१९ विश्वकपमा १९ वर्षीय ल्यूकले इङ्ल्यान्डको उपकप्तानको भूमिका निर्वाह गरेका थिए ।

ब्याटिङ र बलिङ दुवैमा निपुर्ण ल्यूकले १७ वर्षको उमेरमा एसेक्सबाट काउन्टी क्रिकेटमा ४२ रन खर्चिएर ६ विकेट लिँदै कीर्तिमानी प्रदर्शन गरेका थिए । उनले सन् २०२२ मा ग्वादर शार्कसलाई पाकिस्तान सुपर लिग (पीएसएल) को फाइनलमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले पीएसएलमा केवल ३७ बलमा ७१ रन बनाएका थिए । उनी आफ्नो परिवारबाट तेस्रो पुस्ताका क्रिकेटर हुन् । उनका बुबा डेल बेनकेनस्टाइनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए । उनका हजुरबुवा मार्टिन बेनकेनस्टाइनले जिम्बाब्वे (पहिले रोडेसिया भनेर चिनिन्थ्यो) को प्रतिनिधित्व गरेका थिए ।

यसैगरी, उनका काका ब्रेट र बोयडले पनि व्यावसायिक क्रिकेट खेलेका थिए । उनले आगामी एनपीएलमा चितवन राइनोजको प्रतिनिधित्व गर्न आफू आतुर रहेको बताएका छन् । ‘खेल स्थलमा नेपाली समर्थकले सिर्जना गर्ने वातावरण जुनसुकै खेलाडीलाई लोभ्याउने खालको छ । त्यसैले यो मेरो लागि पनि चुनौती हो । म चितवन राइनोजको तर्फबाट प्रदर्शन गर्न आतुर छु,’ उनले भनेका छन् ।


चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानले ल्युकको आगमनले लिगमा उर्जा थपिने विश्वास व्यक्त गरे । ‘उनले जुन ऊर्जा ल्याउन सक्छन् र नेपाली समर्थकलाई मनोरञ्जन दिन सक्छन्, त्यसले नेपाल प्रिमियर लिगलाई थप रोमाञ्चक बनाउने छ,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप