आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलाडी

वार्नरको ३८औँ जन्मदिन : चारवटा आईसीसी ट्रफीदेखि आजीवन प्रतिबन्धसम्म

आखिर के थियो विश्व क्रिकेट थर्काउने ‘स्यान्डपेपर गेट’ घटना ?
आइतबार, ११ कात्तिक २०८१, १७ : ००
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली क्रिकेटर हुन्, डेभिड वार्नर । अन्तर्राष्ट्रिय क्रिकेटमा वार्नरको उपलब्धि पनि निकै लोभलाग्दो छ । उनले अस्ट्रेलियाका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा अब्बल प्रदर्शन गरिसकेका छन् ।

आइतबार आफ्नो ३८औँ जन्मदिन मनाइरहेका यी प्रभावशाली क्रिकेटरको खेलजीवन निकै उतारचढावले भरिएको छ । आक्रामक ब्याट्सम्यान वार्नरले अस्ट्रेलियाका लागि करिब १९ हजार अन्तर्राष्ट्रिय रन बनाइसकेका छन् ।

वार्नरले अस्ट्रेलियन टोलीको महत्त्वपूर्ण सदस्यका रूपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा आयोजित चारवटा ठुला प्रतियोगिताको उपाधि पनि चुमिसकेका छन् । उनी यस्तो उपलब्धि हासिल गर्ने विश्वकै निकै कम खेलाडीमध्ये एक हुन् ।

david warner

देशलाई यति ठुलो सफलता दिलाउने वार्नरको खेल जीवनको उत्तरार्ध भने निकै निराशाजनक रह्यो । उनी खेल जीवनको उत्तरार्धतिर देशभित्र आजीवन कुनै पनि टोलीको नेतृत्व गर्न नपाउने गरी प्रतिबन्धमा परेका थिए ।

अस्ट्रेलियाले सन् २०१५ मा आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमेको थियो । त्यतिबेला वार्नर अस्ट्रेलियन टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनले जितेको यो पहिलो ठुलो उपाधि पनि थियो । सन् २०२१ मा अस्ट्रेलिया टी–२० विश्वकप जित्दा पनि उनी टोलीका प्रभावशाली सदस्य थिए ।

tp2b5kho_david-warner-afp_625x300_15_November_21

सन् २०२१ को टी–२० विश्वकपमा त वार्नर प्लेयर अफ दी सिरिज पनि घोषित भएका थिए । टी–२० विश्वकपको त्यो संस्करणमा वार्नरले सात खेलमा कुल दुई सय ८९ रन बनाएका थिए । त्यसपछि सन् २०२३ मा अस्ट्रेलियाले वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो ।

अस्ट्रेलियाले टेस्ट च्याम्पियनसिपको उपाधि चुम्दा पनि वार्नर टोलीका प्रभावशाली सदस्य थिए । टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले भारतलाई हराएको थियो । वार्नरले हात पारेको यो तेस्रो ठुलो उपाधि थियो ।

यसैगरी, अस्ट्रेलियाले सन् २०२३ मा पनि आईसीसी एकदिवसीय विश्वकपको उपाधि जित्यो । त्यतिबेला पनि वार्नर टोलीका महत्त्वपूर्ण सदस्य थिए । विश्वकपको त्यो संस्करणको फाइनलमा पनि अस्ट्रेलियाले भारतलाई उसैको मैदानमा हराएको थियो ।

David-Warner-with-the-ICC-Cricket-World-Cup-2023-Trophy-scaled

सन् २०२३ को एकदिवसीय विश्वकपमा वार्नर अस्ट्रेलियाका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी पनि थिए । यसरी वार्नरले हालसम्म तीनवटा आईसीसी विश्वकपको उपाधि चुमिसकेका छन् । यसका अतिरिक्त वार्नर सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि अस्ट्रेलियन टोलीका सदस्य थिए । त्यो विश्वकपमा पनि उनले अस्ट्रेलियाका लागि सबैभन्दा बढी रन बनाएका थिए ।

यसैगरी, वार्नरले विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि पनि चुमिसकेका छन् । सन् २०१६ मा वार्नरकै कप्तानीमा सनराइजर्स हैदराबादले आईपीएलको उपाधि जितेको थियो ।

_md_0831

तर, खेल जीवनको उत्तरार्ध भने उनका लागि दुःख रह्यो । उनी सन् २०१८ मा ‘स्यान्डपेपर गेट’ काण्डमा मुछिन पुगे । त्यो घटनापछि उनलाई आजीवन कुनै पनि टोलीको नेतृत्व गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको थियो ।

यस्तो प्रतिबन्ध लागेपछि वार्नर अस्ट्रेलियामा कुनै पनि स्तरको टोलीको नेतृत्व गर्न (कप्तान बन्न) बाट वञ्चित भए । अहिले ६ वर्षपछि आएर क्रिकेट अस्ट्रेलियाले वार्नरमाथि लगाइएको त्यो प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ ।

वार्नरले अस्ट्रेलियाका लागि एक सय १२ टेस्टको दुई सय पाँच पालीमा कुल आठ हजार सात सय ८६ रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा २६ शतक र ३७ अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने अविजित तीन सय ३५ रन हो ।

13warner-retirement

यसैगरी, उनले एक सय ६१ एकदिवसीय अन्तर्राष्ट्रियको एक सय ५९ पालीमा कुल ६ हजार नौ सय ३२ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले २२ शतक र ३३ अर्धशतक पनि प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर एक सय ७९ रन हो ।

यसैगरी, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले एक सय १० खेल खेल्दै कुल तीन हजार दुई सय ७७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले एक शतक र २८ अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय रन हो । उनले टेस्ट क्रिकेटमा चार विकेट पनि लिएका छन् ।

  • आखिर के हो त वार्नरले प्रतिबन्ध भोग्नु परेको ‘स्यान्डपेपर गेट’ काण्ड ?

सन् २०१८ को मार्चमा केपटाउनमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच टेस्ट क्रिकेट खेलिएको थियो । मार्च २४ तारिखमा उक्त टेस्टको तेस्रो दिनको खेल थियो ।

त्यो टेस्टमा अस्ट्रेलियाले गतिलो प्रदर्शन गर्न सकिरहेको थिएन । त्यसैले अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराउन एउटा कपटपूर्ण योजना बनायो । विश्व क्रिकेटको इतिहासमा त्यही घटनालाई ‘स्यान्डपेटर गेट’ काण्ड भनिन्छ ।

Steve_Smith_and_David_Warner_fielding_in_the_slips_Ashes_2021

‘स्यान्डपेटर गेट’ घटनामा अस्ट्रेलियाका तत्कालीन कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र क्यानरुन बेनक्रफ्ट गरी तीनजना खेलाडी मुछिएका थिए । त्यो घटनापछि विश्वव्यापी रूपमा अस्ट्रेलियन टोलीका बदनामी भएको थियो ।

त्यो घटना सार्वजनिक भएपछि उक्त टेस्टको चौथो दिन स्मिथ र वार्नरले क्रमशः कप्तान र उपकप्तान पदबाट राजीनामा दिनु परेको थियो । खासमा, त्यो टेस्टको तेस्रो दिन मैदानमा रहेका अम्पायरले अस्ट्रेलियन खेलाडी बेनक्रफ्टलाई बलमा एउटा पहेँलो रङको टेपले दलिरहेका दृश्य देखेका थिए ।

अम्पायरले केही समयपछि बेनक्रफ्टको उक्त कार्यप्रति आपत्ति जनाएका थिए । स्मिथ, वार्नर र बेनक्रफ्टले भने आफूहरूले केवल बललाई चम्किलो बनाइरहेको जवाफ अम्पायरलाई दिएका थिए । तर, अस्ट्रेलियन खेलाडीको त्यो कपटपूर्ण योजना क्यामेराको लेन्सबाट भने लुक्न सकेन ।

2455

पछि क्यामेराको फुटेज हेर्दा बेनक्रफ्टले एउटा पहेँलो रङको टेप बलमा दलेर पुनः आफ्नो ट्राउजरको खल्तीमा लुकाएको देखियो । खासमा त्यही पहेँलो रंगको टेप नै स्यान्डपेपर थियो । त्यो स्यान्डपेपर दल्नाले बल बिस्तारै बिग्रिएर पुरानोजस्तो बन्थ्यो र ब्याट्सम्यानहरूलाई ब्याटिङ गर्न अप्ठ्यारो पर्दै जान्थ्यो ।

क्यामेराको फुटेज देखेपछि अम्पायरले तत्काल त्यो बल आफ्नो नियन्त्रणमा लिएका थिए र अर्को नयाँ बलबाट खेल अघि बढाएका थिए । त्यो टेस्टको चौथो दिन दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई निकै ठुलो अन्तरले हराएको थियो । त्यो टेस्टमा दक्षिण अफ्रिकी बलर मोर्ने मोर्केलले उत्कृष्ट प्रदर्शन गर्दै कुल नौ विकेट लिएका थिए । मोर्केलको खेल जीवनको त्यो अन्तिम टेस्ट पनि थियो ।

आफ्नो गलत योजनाको रहस्य खुलेपछि कप्तान स्मिथ र वार्नरले आफ्नो गल्ती पनि स्वीकार गरेका थिए । त्यसपछि अस्ट्रेलियन क्रिकेट बोर्डले स्मिथ, वार्नर र बेनक्रफ्टलाई एक वर्षसम्म कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगायो ।

सोही काण्डमा वार्नरलाई आजीवन कुनै पनि टोलीको कप्तान बन्न नपाउने गरी प्रतिबन्ध पनि लगाइएको थियो । एक वर्षको सजाय पुरा गरेपछि तीनैजना खेलाडी पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप