आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
एएफसी यू–१७ एसियन कप छनोट

सान्त्वना जितको खोजीमा रहेको नेपाल आज मंगोलियासँग भिड्दै

आइतबार, ११ कात्तिक २०८१, १५ : ५५
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । एसियाली फुटबल कन्फडेरेसन (एएफसी) यू–१७ एसियन कप छनोट प्रतियोगितामा आइतबार राति नेपालले मंगोलियाको सामना गर्दैछ । नेपाल र मंगोलियाबिचको खेल कतारको दोहोस्थित हमाद बिन खलिफा स्टेडियममा नेपाली समय अनुसार, राति २०ः३० बजे सुरु हुनेछ ।

सन् २०२५ मा आयोजना हुने साउदी अरेबियामा आयोजना हुने एएफसी यू–१७ एसियन कपमा सहभागी हुने टोलीको टुंगो लगाउन यो छनोट प्रतियोगिता आयोजना गरिएको हो । छनोट प्रतियोगितामा एसियाका ४३ राष्ट्रको सहभागिता रहेको छ ।

नेपाल र मंगोलिया छनोट प्रतियोगिताको समूह ‘एफ’ मा रहेका छन् । यो समूहमा आयोजक कतार र साबिक विजेता जापान पनि छन् । नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल खेल्न लागेको हो ।

नेपाल जारी छनोट प्रतियोगितामा पहिलो जितको खोजीमा छ । नेपाली टोली यसअघि खेलिएको दुवै खेलमा पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपाली टोली साबिक विजेता जापानसँग २–९ गोलले पराजित भएको थियो ।

यसै गरी, आफ्नो दोस्रो खेलमा नेपाली टोली आयोजक राष्ट्र कतारसँग ०–५ गोलले पराजित भएको थियो । त्यसैले आइतबार खेलिने खेलमा नेपाली टोली सान्त्वना जितको खोजीमा रहने छ । नेपालको अगाडि बढ्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ ।

nepal qatar

समूह ‘एफ’ तालिकामा सबै टोलीले दुई–दुई खेल खेलिसक्दा जापान ६ अङ्कसहित पहिलो स्थानमा आसीन छ । समान अङ्क बटुलेको घरेलु टोली कतार गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । तेस्रो स्थानमा आसीन मंगोलिया र चौथो स्थानमा आसीन नेपालले भने अङ्क बटुल्न सकेका छैनन् ।

नेपालले हालसम्म तीनपटक छनोट चरण पार गरेर यू–१७ एसियन कप खेलेको छ । तर, तीन पटक नै नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ । नेपालले सन् २००० मा पहिलो पटक यो प्रतियोगिता खेलेको थियो ।

सन् २००० मा भियतनाममा भएको संस्करणमा नेपाली टोली समूह ‘ए’ मा परेको थियो । नेपाली टोली चारवटै खेलमा पराजित भएको थियो । नेपाली टोली पहिलो खेलमा चीनसँग २–६, दोस्रो खेलमा भियतनामसँग ०–५, तेस्रो खेलमा जापानसँग ०–३ र चौथो खेलमा म्यानमारसँग ०–३ गोलले पराजित भएको थियो ।

यसै गरी, नेपालले सन् २००६ मा दोस्रो पटक यू–१७ एसियन कपमा सहभागिता जनाएको थियो । सिंगापुरमा आयोजना भएको त्यो संस्करणमा पनि नेपाल समूह ‘ए’ मै परेको थियो । नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको थियो ।

त्यतिबेला नेपाली टोलीले तीनमध्ये दुई खेलमा हार र एक खेलमा बराबरीको नतिजा निकालेको थियो । नेपाली टोली आफ्नो पहिलो खेलमा जापानसँग ०–६ गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली टोली दक्षिण कोरियासँग ०–२ गोलले हारेको थियो । तेस्रो खेलमा भने नेपालले सिंगापुरलाई गोलरहित बराबरीमा रोकेको थियो ।

यसै गरी, नेपालले सन् २०१४ मा तेस्रो पटक यू–१७ एसियन कपमा सहभागिता जनाएको थियो । त्यो संस्करण थाइल्यान्डमा आयोजना भएको थियो । त्यतिबेला नेपाली टोली प्रतियोगिताको समूह ‘सी’ मा परेको थियो । नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको थियो ।

त्यो संस्करणमा नेपाली टोलीले एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । आफ्नो पहिलो खेलमा नेपालले उज्बेकिस्तानलाई १–१ गोलको बराबरीमा रोकेको थियो । दोस्रो खेलमा नेपालले कुवेतलाई २–१ गोलले हराएको थियो ।

आफ्नो तेस्रो खेलमा भने नेपाली टोली उत्तर कोरियासँग १–४ गोलले पराजित भएको थियो । तालिकामा नेपाली टोली चार अङ्कसहित तेस्रो भएको थियो । तर, सात अङ्कसहित पहिलो हुने उज्बेकिस्तान र ६ अङ्कसहित दोस्रो हुने उत्तर कोरिया अघिल्लो चरणमा पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप