आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौंको दर्शन सहकारीलाई समस्याग्रस्त घोषणा

आइतबार, ११ कात्तिक २०८१, १५ : ४६
आइतबार, ११ कात्तिक २०८१

हेटौँडा । काठमाडौँको कीर्तिपुरमा केन्द्रीय कार्यालय रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ । आइतबार बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले कीर्तिपुर–९ मा कार्यालय रहेको सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

मन्त्रालय अन्तर्गतको सहकारी महाशाखा (रजिस्ट्रार)को कार्यालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा (१) बमोजिम दर्शन सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी रजिस्ट्रारको कार्यालयका कानुन अधिकृत मनोज कुमार गुप्ताका अनुसार सो सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको गुनासो र निरन्तरको छलफल पश्चात् पनि बचतकर्तासँगको सहमतिहरू कार्यान्वयन नभएकाले समस्याग्रस्त सहकारी घोषणा गरिएको हो ।

प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ को उपदफा (१)मा कुनै सहकारीको निरीक्षण तथा छानबिन गर्दा सदस्यको हित विपरीत हुने गरी कुनै कार्य गरेको, संस्था वा सङ्घले पुरा गर्नु पर्ने वित्तीय दायित्व पुरा नगरेको वा भुक्तानी गर्नु पर्ने दायित्व भुक्तानी गर्न नसकेको वा भुक्तानी गर्न नसक्ने अवस्था भएको, सदस्यहरूको बचत निर्धारित सर्त बमोजिम फिर्ता गर्न नसकेको, ऐन तथा नियम विनियम विपरीत हुने गरी संस्था वा सङ्घ सञ्चालन गरेको, संस्था वा सङ्घ दामासाहीमा पर्न सक्ने अवस्थामा भएको वा गम्भीर आर्थिक कठिनाइ परेको, संस्था वा सङ्घको उद्देश्य विपरीत कार्य गरेको, समस्याग्रस्त भएको भनी संस्थाका कम्तीमा २५ जना सदस्यहरूले रजिस्ट्रार समक्ष निवेदन दिएमा कानुन अनुसार समस्याग्रस्त घोषणा गर्न सक्ने व्यवस्था रहेको उनले बताए  ।

सोही अनुसार छानबिनका क्रममा बचतकर्ताको रकम फिर्ता गर्न नसकेकाले सहकारी रजिस्ट्रारको कार्यालयको सिफारिसमा मन्त्रालयले सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको उनले बताए ।

दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागमती प्रदेश अन्तर्गतको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २०७८ वैशाख ९ मा ३३३१/०६७/०६८ नम्बर सहित दर्ता कायम भएको उनले बताए । सो सहकारी विरुद्ध २०० बढी सदस्यहरूले बचत रकम फिर्ता माग गर्दै उजरी दर्ता गरेको र पटक पटकको छलफलमा भएका सहमति सञ्चालन समितिले कार्यान्वयन नगरेपछि सदस्यहरूको सुझाव अनुसार समस्याग्रस्त घोषणा गरिएको कानुन अधिकृत गुप्ताले बताए ।

सहकारीका सदस्यहरूको उजुरी प्राप्त भएपछि छलफलका लागि रजिस्ट्रार कार्यालयले पत्राचार गर्दा समेत सञ्चालकहरू सम्पर्कमा नआउने गरेको उनले बताए । २०८० पुस २ मा रजिस्ट्रार कार्यालयमा सहकारीका सञ्चालक समितिका अध्यक्ष दिनेश दर्शनधारीसहित १३८ जना सदस्यहरू बिच छलफल भएको गुप्ताले बताए । सो छलफलले प्रति महिना ५० लाख रुपैयाँका दरले बचत रकम फिर्ता गर्ने सहमति निकालेको भएपनि सञ्चालक समितिले कार्यान्वयन नगरेको उनले बताए ।

सो पश्चात् २०८० वैशाखमा सहकारीका सञ्चालनसँग रजिस्ट्रारको कार्यालयले स्पष्टीकरण सोध्दै छलफल गरेपनि बचतकर्ताको समस्या समाधान हुन नकसेको गुप्ताको भनाई छ । २०८१ भदौ १२ मा बचतकर्ताको एक समूहले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सुझा दिएको र सोही अनुसार सञ्चालन समितिसँग छलफल गर्दा समितिले बहिस्कार गर्ने काम गरेको उनले बताए ।

त्यसअघि २०८० असोज ६ मा नै कीर्तिपुर नगरपालिकाले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्न निर्णयसहित रजिस्ट्रार कार्यालयमा सिफारिस गरेको थियो । सहकारीमा ९ हजार ८५७ जना सदस्य  र  कुल सम्पत्ति १ अर्ब ५७ करोड ४ लाख रुपैयाँ रहेको छ ।

सहकारीको जम्मा बचत दायित्व ८६ करोड ८० लाख ८६ हजार रुपैयाँ रहेको छ । सहकारीको जम्मा सेयर पुँजी २२ करोड ४५ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष ४ करोड २५ लाख ७९ हजार रुपैयाँ, ऋण लगानी १ अर्ब ४५ करोड १३ लाख ४५ हजार रुपैयाँ र तिर्नुपर्ने बाह्य ऋण ३४ करोड ७६ लाख १६ हजार रुपैयाँ देखिएको छ ।

दर्शन सहकारी २०७८ मा सोनित्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आदिवासी जनजाति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग एकीकरण भएको थियो भने पछि निर्मल बुद्धभूमि सहकारीसँग पनि एकीकरण गरेको थियो ।

दर्शन सहकारीको आगामी जिम्मेवारी प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले लिनेछ । सो समितिले आवश्यक छानबिन तथा प्रक्रिया पुरा गरी बचतकर्ताको रकम फिर्ता गर्नेछ ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप