आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
पुनर्निर्माण

सरकारले एक करोड बजेट जुटाउन सकेन, बीपी राजमार्ग पुनर्निर्माणबारे अध्ययन अन्योलमा

‘जाइकाले आइतबारदेखि अध्ययन थाल्ने’
आइतबार, ११ कात्तिक २०८१, १६ : ००
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । बजेट अभावका कारण बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि अध्ययन गर्ने विषय अन्योलमा परेको छ । सरकारले तत्काल एक करोड रुपैयाँ जुटाउन नसक्दा कहिले अध्ययन गर्ने भन्नेबारे अन्योल देखिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले रातोपाटीलाई बताए ।

‘प्रारम्भिक अनुमानअनुसार एक करोड रुपैयाँ बजेट मागेका छौँ । तर तत्काल बजेट जुटाउन सकने अवस्थामा सरकार छैन,’ महानिर्देशक पोखरेलले भने, त्यसकारण उधारोमै अध्ययन थाल्ने कि बजेट आएपछि गर्ने भन्नेबारे अन्योल भएको छ ।’

महानिर्देशक पोखरेलकाअनुसार असोज दोस्रो साता परेको अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत चौकी डाँडा–कालढुङ्गा सडक खण्डको करिब ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । यो खण्डको बिचबिचमा नदीले कटान गरेकाले पुरानो सडक भएको स्थानमा फेरि सडक बनाउन त्यति सजिलो नरहेको उनको भनाइ छ । ‘त्यसकारण यो सडक खण्डमा विज्ञ टोली लगेर अध्ययन गर्नैपर्ने देखिन्छ,’ उनले भने, ‘हाइड्रोलोजिक, भौगर्भिक अध्ययन गर्नैपर्ने देखिएको छ ।’

माटो अध्ययन गरेर तलसम्म ग्रिडिङ गर्नु परेमा लागत बढी लाग्ने पोखरेलले बताए । ‘अन्य सर्वेहरूका लागि खासै धेरै लागत लाग्दैन,’ उनले भने, ‘यो सडक बनाउन २/३ वटा विकल्प प्रयोग गर्ने गरी अध्ययन गर्ने छौँ । भित्तो नकाटी पुल बनाएर निर्माण गर्ने कि पर्खाल लगाएर गर्ने, कुन सस्तो र बलियो हुन्छ, त्यसैअनुसार बनाउँछौँ ।’

सरकारले तत्काललाई बजेट नदिए केही दिनभित्र उधारोमै अध्ययन थाल्ने महानिर्देशक पोखरेलले बताए । यो अध्ययन सक्न के–कति अवधि लाग्छ भन्ने विषयमा टुङ्गो नभएको उनको भनाइ छ ।

बीपी राजमार्ग पुनर्निर्माणमा साढे सात अर्ब लाग्ने अनुमान

असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले विभिन्न राजमार्गमा क्षति पुगेको थियो । क्षति भएका सडक संरचना स्थायी रूपमा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँसम्म लाग्न सक्ने सरकारको प्रारम्भिक अनुमान छ ।

त्यसमध्ये रोशी खोलामा आएको बाढीले कटान गरेको बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माण गर्नका लागिमात्र साढे सात अर्ब लाग्ने प्रारम्भिक अनुमान रहेको विभागका महानिर्देशक पोखरेलले बताए । उनका अनुसार सबैभन्दा धेरै क्षति पुगेको राजमार्ग पनि यही नै हो ।

नेपालको पूर्वी जिल्लालाई काठमाडौँसँग जोड्ने यो राजमार्ग १६० किलोमिटर लामो (धुलिखेल–सिन्धुली–बर्दिबास) जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा  निर्माण भएको हो । सन् २००५ मा जापानले निर्माण सुरु गरेको यो राजमार्ग  करिब १० वर्ष लगाएर सन् २०१५ मा सम्पन्न भएको थियो । जसको लागत २६ अर्ब येन बराबर छ ।

२०७२ को भूकम्पमा करिब ५ स्थानमा यो सडक भासिएको थियो । त्यतिबेला जापान सरकारले १८ महिना लगाएर पुनर्निर्माण गरिदिएको थियो । यस पटक बाढी–पहिरोले क्षतिग्रस्त भएको यो राजमार्ग पुनर्निर्माणको कार्य सरकार आफैँले गर्ने कि जापानले नै सहयोग गर्ने भन्ने विषयमा अन्योल छ ।

जाइकाले अध्ययन थाल्दै

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को टोली बाढी–पहिरोले क्षतिग्रस्त संरचना सर्वेक्षणका लागि काठमाडौँमा आइपुगेको छ । विभागका महानिर्देशक पोखरेलका अनुसार जाइकाको टोलीले आइतबारदेखि क्षतिग्रस्त बीपी राजमार्गको स्थलगत अध्ययन थाल्दैछ ।

‘जाइकाको टोलीले क्षतिग्रस्त सडकको आइतबारदेखि अध्ययन थाल्छौँ भनेका छन् । उनीहरू आफ्नो हिसाबले अध्ययन गर्छन् । हामीले आफ्नो हिसाबमा अध्ययन गर्नुपर्छ,’ महानिर्देशक पोखरेलले भने, ‘यस्तो अध्ययन गर्न खासै ठुलो बजेट लाग्ने होइन । अध्ययन गर्न आए पनि जाइकाले बनाउन चासो देखाएको छैन ।’

जापानको मुख ताकेर नबस्ने

बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याए पनि स्थायी रूपमा पुनर्निर्माणका लागि ठुलो रकम र लामो समय खर्चिनु पर्ने देखिएको छ । यो राजमार्ग जापान सरकारले बनाए पनि क्षतिपश्चात पुनर्निर्माणमा जापान सरकारले चासो नदेखाएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले अहिले क्षतिग्रस्त संरचनाको अध्ययन गर्न जाइकाको टोली आएको तर पुनर्निर्माणका लागि चासो नदेखाएको बताए । पटकपटक जापानको मुख ताकेर बस्न नहुने भन्दै उनले जापानले सहयोग नगरेको खण्डमा आफ्नै पहलमा पुनर्निर्माण गर्नुपर्ने प्रस्ट पारे ।

‘अहिलेसम्म जापानले पुनर्निर्माण गरिदिन्छु भनेर चासो देखाएको छैन । सहयोग गरे ठिकै छ, नगरे आफैँ बनाउँछौँ, प्रवक्ता ढकालले भने, ‘सधैँ जापानको मुख ताकेर हुँदैन ।’

तत्काल पुनर्निर्माणका लागि बजेट जुटाउन मन्त्रालयले पहल गरिरहेको प्रवक्ता ढकालको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप