आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
कूटनीति

चीनलाई देखाएर भारतलाई ‘साइज’मा राख्ने प्रधानमन्त्रीको नीति !

आइतबार, ११ कात्तिक २०८१, १९ : ००
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन महिनाभन्दा बढी भइसक्यो तर उनले हालसम्म कुनै पनि देशको राजकीय भ्रमण गरेका छैनन् ।

यसलाई कतिपयले स्वाभाविक रूपमा लिएका छन् भने कतिपयले उनको असफलताका रूपमा चित्रण गरेका छन् । प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेको तीन महिनाभन्दा लामो समयसम्म कुनै पनि देशको राजकीय भ्रमण गर्न नसक्नुले विभिन्न देशसँग उनको सम्बन्ध कस्तो छ भन्ने पुष्टि गरेको जानकारहरू बताउँछन् ।

प्रधानमन्त्री ओलीलाई भ्रमणका लागि कुनै पनि मुलुकले औपचारिक निमन्त्रणा नगरे पनि परराष्ट्र मन्त्रालय उनको विदेश भ्रमणको आन्तरिक तयारीमा जुटेको छ । ‘आधिकारिक निम्तो कहीँबाट नआए पनि हामीले आवश्यक तयारी गरिरहेका छौँ,’ परराष्ट्र मन्त्रालयका एक जना सहसचिवले भने, ‘हामी प्रधानमन्त्रीको भ्रमणको तयारीमा लागेका छौँ तर पहिला कुन देश जानुहुन्छ भन्ने प्रस्ट भइसकेको छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई पटक नेपाल भ्रमणको निमन्त्रणा दिइसकेका छन् तर भारतले हालसम्म ओलीलाई औपचारिक रूपमा निमन्त्रणा दिएको छैन ।

हालै प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे चर्चा चलेको छ । प्रधानमन्त्री ओलीको पहिलो औपचारिक विदेश भ्रमण चीन हुने चर्चा चल्नुलाई कूटनीतिक मामिलाका जानकार भने ‘भारतलाई साइजमा राख्ने प्रयास’का रूपमा लिन्छन् ।

चीन मामिलामा जानकारी राख्ने एक जना वरिष्ठ पत्रकारले भने, ‘हेर्नुहोला, प्रधानमन्त्री ओली पहिलो औपचारिक विदेश भ्रमण बनाएर चीन जानु हुन्न तर अहिले चीन जाने भनेर हल्ला फैलाएर भारतलाई तर्साउन खोज्नुभएको छ ।’

चीन जाने भनेर हल्ला चलाएपछि भारतले बोलाइहाल्छ कि भन्ने लागेको हुनसक्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीलाई दुवै छिमेकी मुलुक भारत र चीनले अहिलेसम्म औपचारिक भ्रमणको निम्तो दिएका छैनन् । यद्यपि दुवै मुलुकले अनौपचारिक रूपमा ओलीलाई ‘आउनु न त’ भन्नु बाहेक भ्रमण गराउने नै हिसाबले कुनै तयारी नगरेको ती पत्रकार बताउँछन् । उनले भने, ‘यसबाट क्लियर हुन्छ कि नेपाल कस्तो भूराजनीतिमा फसेको छ ।’

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाका सचिवालयका एक अधिकारीले भने, ‘चीनले औपचारिक निमन्त्रणा त दिएको छैन तर कुराकानी भइरहेको छ । चीनले प्रधानमन्त्री ओलीलाई आफ्नो देशको भ्रमण गराउन चाहेको छ । प्रधानमन्त्री ओलीको सचिवालयसँग यो विषयमा चीनले समन्वय सुरु गरेको छ । प्रधानमन्त्री ओलीले चीन जाने इच्छा देखाएपछि सायद औपचारिक निमन्त्रणा दिएर बोलाउँछ ।’

परराष्ट्र मन्त्रालयलाई सोही अनुसारको तयारी गर्न भनिएको र भ्रमणको सामान्य तयारी भइरहेको ती अधिकारीले पनि पुष्टि गरे । यदि प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने हो भने मंसिरमा सम्भव हुने देखिएको बताउँदै उनले ओलीको भ्रमणका लागि चीन सकारात्मक देखिएको बताए ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बेला भारतका प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ता गरेका थिए । सो भेटवार्तामा पनि नेपालको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई भ्रमणका लागि औपचारिक रूपमै भनिएको थियो ।

तर प्रधानमन्त्री ओलीलाई भारतीय पक्षले भ्रमणका सन्दर्भमा निम्तो नै गरेन । भेटवार्तामा संलग्न परराष्ट्र मन्त्रालयका अधिकारीले भने, ‘भारतीय प्रधानमन्त्री मोदीले त होइन, त्यहाँका विदेशमन्त्री एस.जयशंकरले प्रधानमन्त्री ओलीलाई भारत आउन आग्रह गर्नुभएको थियो ।’ सायद त्यो शिष्टाचारका लागि मात्र भनिएको उनको बुझाइ छ ।

अमेरिकामै प्रधानमन्त्री ओलीले असोज ११ गते चीनका विदेशमन्त्री वाङ यीसँग साइडलाइन भेटघाट गरेका थिए । त्यो भेटघाटमा चीन भ्रमणको बारेमा चर्चासमेत नभएको परराष्ट्रका ती अधिकारीले बताए ।

‘भारतले नबोलाएपछि प्रधानमन्त्री ओलीले चीनतिर रुचि देखाउन थालेको थाहा पाएर चिनियाँहरूले चासो दिन थालेका छन्,’ उनले भने ।

चीनबाट नेपाल भ्रमणमा आउने नेताहरूले पनि प्रधानमन्त्री ओलीलाई भ्रमणमा आउन आग्रह गरिरहेका छन् । तर चीन सरकारको तर्फबाट त्यसलाई औपचारिकता दिन बाँकी रहेको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप