आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
नरेश श्रेष्ठ मेमोरियल यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट

लुम्बिनी प्रदेशको सजिलो जित, कोशी प्रदेशको लगातार दोस्रो हार

आइतबार, ११ कात्तिक २०८१, १५ : ०९
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन आइतबारको खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ७५ रनको फराकिलो अन्तरले हरायो ।

जारी प्रतियोगितामा घरेलु टोली कोशी प्रदेशको यो लगातार दोस्रो हार हो । यसअघि प्रतियोगिताको पहिलो दिन शनिबार खेलिएको खेलमा कोशी प्रदेशको टोली मधेश प्रदेशसँग २२ रनले पराजित भएको थियो । आइतबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशको टोलीले निर्धारित ५० मध्ये ४१.२ ओभरमा अलआउट हुनुअघि एक सय ३५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने २४.२ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो । कोशी प्रदेशका ब्याट्सम्यानहरुले अत्यन्तै निराशाजनक प्रदर्शन गरे । कोशी प्रदेशका माथिल्ला तीन ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । ओपनरद्वय दीपु भुजेल र रविन मण्डल तथा भुपाल दंगाल शून्य रनमै पेभेलियन फर्किएका हुन् ।

सोन अन्सारीले १७, रोसन साहले १३ र आशिष मगरले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशी प्रदेशले अतिरिक्त रुपमा १४ रन पायो । लुम्बिनी प्रदेशका बलर महेश भार, रमेश कुर्मी र सन्तोष यादबले तीन–तीन विकेट लिए । नर सार्कीले एक विकेट हात पारे ।

त्यसअघि, लुम्बिनी प्रदेशका लागि सन्तोष यादबले सर्वाधिक ३६ रनको योगदान गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सन्तोषले ६१ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान दिलसाद अलीले पनि टोलीको खातामा ३२ रन थपेका थिए । उनले ५३ बलमा तीन चौका हिर्काएका थिए ।

कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान आकाश त्रिपाठी ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । यसका अतिरिक्त, सातौँ नम्बरका ब्याट्सम्यान समिर अली मुसलमानले पनि टोलीको खातामा अविजित १२ रन थपेका थिए ।

ओपनर ब्याट्सम्यान सम्राट भुषाल भने चार रनभन्दा अगाडि बढ्न सकेनन् । विजय कोहरले टोलीको खातामा सात रन थपे । अन्य ब्याटसम्याले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि २५ रन पाएको थियो ।

कोशी प्रदेशका बलर प्रतिक पोखरेलले तीन विकेट लिएका थिए । उनले आठ ओभरमा दुई मेडन राख्दै २४ रन खर्चिए । प्रेम कामत, बिपिन महतो र सौजन घिमिरेले पनि दुई–दुई विकेट हात पारेका थिए । रोसन साहले पनि एक विकेट लिएका थिए । 

सातवटै प्रदेशका टोलीको सहभागिता रहेको उक्त प्रतियोगिता कार्तिक २१ गतेसम्म चल्ने । समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल कार्तिक २१ गते खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप