आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
खबरदारी सभा

विरोध सभापछि माओवादी नेता–कार्यकर्ता उत्साहित

आइतबार, ११ कात्तिक २०८१, १४ : ३९
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । सत्ताबाट बाहिरिएपछि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पहिलो पटक सरकारविरुद्ध सडकमा उत्रिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पार गरे पनि देश र जनताका लागि खासै गतिलो काम केही गर्न नसकेको निष्कर्षमा पुगेको माओवादीले शनिबार काठमाडौँको भृकुटीमण्डपमा खबरदारी सभा गर्‍यो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा भएको सभामा भाग लिन उपत्यका आसपासका जिल्लाबाट ठुलो संख्यामा नेता तथा कार्यकर्ता काठमाडौँ आएका थिए । सुनधारास्थित धरहरा अगाडि जम्मा भएर बाजागाजासहित रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार दिनको तयारीमा विशाल जनसहभागिता भएकोमा आफूलाई गर्व लागेको बताए ।

उनले खबरदारी सभाको सन्देशलाई सरकारले गम्भीरतापूर्वक नलिए भोलिको दिन कस्तो हुन्छ भन्ने सन्देश यस सभाले दिएको बताएका थिए ।  

‘चार दिनको तयारीमा विशाल सहभागी भएकोमा मलाई गर्व लागेको छ । त्यसका लागि सबैलाई आभार व्यक्त गर्न चाहन्छु । भनिन्छ, बिहानले बेलुकाको सङ्केत गर्छ’, उत्साहित हुँदै उनले भने, ‘यस सभाको सन्देशलाई सरकारले गम्भीर रूपमा लिएन भने भोलिको दिन कस्तो हुन्छ, खबरदारी सभाले सन्देश दिएको छ ।’

प्रचण्डमात्र होइन, मञ्चमा सम्बोधन गरेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, बागमती प्रदेशका इन्चार्ज तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटा, सचिव हितमान शाक्य लगायत नेताहरूले उत्साहित हुँदै ओली सरकारविरुद्ध कटाक्ष गरेका थिए ।

खबरदारी सभामा सहभागी देखेर मञ्चमा रहेका नेताहरू मात्र होइन, सडकमा सहभागी नेता तथा कार्यकर्ताहरू समेत निकै उत्साहित देखिन्थे ।

केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्माले ‘भ्रष्ट ओली सरकारविरुद्ध खबरदारी सभामा उत्साहजनक सहभागी भएको’ भन्दै खुसी व्यक्त गरे । ओली सरकारले अघिल्लो पटक प्रचण्ड नेतृत्वको सरकारले अगाडि बढाएको सुशासनको अभियानलाई समाप्त पार्ने, भ्रष्टाचारीलाई जोगाउने, जनविरोधी गतिविधि गर्ने काममा ओली सरकार रहेकाले त्यसको विरोधमा खबरदारी गर्नुपरेको उनको भनाइ थियो ।

‘प्रचण्ड सरकारले अगाडि बढाएको सुशासनको अभियानलाई समाप्त पारी भ्रष्टाचारीलाई जोगाउन ओली सरकार बनेको हो । पूर्वसूचना हुँदासमेत विपद् व्यवस्थानका लागि सरकार गम्भीर देखिएन । यो प्रारम्भिक खबरदारी सभामात्र हो । अब देशभर अभियानकै रूपमा खबरदारी गर्नेछौँ’, शर्माले भने ।

कार्यक्रममा सहभागी अखिल क्रान्तिकारी बानेश्वर क्याम्पसकी सहसचिव स्मृति कार्कीले ओली सरकारको प्रतिगमनविरुद्ध माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने दाबी गरिन् ।

‘ओली सरकारको प्रतिगमनविरुद्ध हामी सडकमा आएका हौँ । यो सभामा सहभागी देखेर निकै उत्साहित भएका छौँ । माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति सम्भव छ, हुन्छ’, उनले भनिन् ।

सिन्धुपाल्चोक जिल्लाबाट आन्दोलनमा सहभागी हुन आएका एक ज्येष्ठ नागरिकले माओवादी आन्दोलनको क्रममा हजारौँ व्यक्तिले बलिदान गरेको भन्दै फेरि समाजवादी आन्दोलनको नेतृत्व गर्न पार्टी तयार हुनुपर्ने बताए । ‘आन्दोलनलाई थप हौसला दिनका लागि म खबरदारी सभामा आएको हुँ’, उनले भने ।

आन्दोलनमा सहभागी अखिल क्रान्तिकारीका सदस्यहरूले उपस्थित भिडबाट उत्साहित हुँदै ओली सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

खबरदारी सभामा करिब १० देखि १५ हजार मानिस सहभागी भएको माओवादी नेताहरूको दाबी छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृहको बिच सडकमा मञ्च राखेर खबरदारी सभा गरिएको थियो । ल क्याम्पससम्म सहभागीको भिड थियो । भित्र प्रदर्शनीस्थलसम्म माओवादीका कार्यकर्ताहरू देखिन्थे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप