गण्डकी प्रदेशले सजिलै हरायो मधेश प्रदेशलाई
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन आइतबारको खेलमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई नौ विकेटको फराकिलो अन्तरले हरायो ।
जारी प्रतियोगितामा पहिलो खेल खेलेको गण्डकी प्रदेशको यो पहिलो जित हो । दुई खेल खेलेको मधेश प्रदेशको भने यो पहिलो हार हो । यसअघि प्रतियोगिताको पहिलो दिन शनिबार खेलिएको आफ्नो पहिलो खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २२ रनले हराएको थियो ।
आइतबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मधेश प्रदेशले ३५.३ ओभरमै अलआउट हुनुअघि ८२ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने १८.२ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
गण्डकीको जितमा ओपनर ब्याट्सम्यान सोहेल कुँवरले अविजित ३४ रनको योगदान गरे । सोहेलले ५१ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काए । कप्तानसमेत रहेका अर्का ओपनर अर्जुन कुमालले पनि २४ रन बनाए । उनले ४५ बलमा तीन चौका प्रहार गरे ।
करण पंगेनी नौ रनमा अविजित रहे । उनले १४ बलमा एक चौका प्रहार गरे । मधेश प्रदेशका बलर जितेश मण्डलले एक विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् । गण्डकी प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो ।
त्यसअघि, मधेश प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । मधेश प्रदेशका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका जितेश मण्डलले सर्वाधिक ३२ रन बनाए ।
जितेशले ५० बलको सामना गरी चार चौका प्रहार गरेका थिए । निरजकुमार यादबले १८ रन बनाएका थिए । ओपनर मयान यादब १३ रनमै पेभेलियन फर्किएका थिए । अर्का ओपनर इमरान शेख पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।
सफवान अली दुई, विकेटकिपर ब्याट्सम्यान साहिल पटेल एक, कप्तान अभिषेक तिवारी चार, राजेश यादब दुई र रोहन साह पाँच रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान रंजित कुमार र अफरुद्दिन राइनले भने खाता खोल्न सकेनन् ।
गण्डकी प्रदेशका बलर अपराजित पौडेल एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा चार मेडनसहित केवल १७ रन खर्चिए । आश्विन थापाले पनि दुई विकेट हात पारे । सुदीप अर्याल, सिबरिन श्रेष्ठ र किरण भट्टराईले पनि एक–एक विकेट लिए ।
सातवटै प्रदेशका टोलीको सहभागिता रहेको उक्त प्रतियोगिता कार्तिक २१ गतेसम्म चल्ने । समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल कार्तिक २१ गते खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा