आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डलाई लोहनीको प्रश्न– क्रान्ति रिसोर्टमा सेकुवा र ह्विस्की पिए जस्तो हो र ?

आइतबार, ११ कात्तिक २०८१, ११ : ५२
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले क्रान्ति सेकुवा र ह्विस्की पिएको जस्तो नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रतिप्रश्न गरेका हुन् । 

‘माओवादी अध्यक्ष तथा भूपू प्रधानमन्त्री माननीय दाहालजीले फेरि एक थान क्रान्तिको नेतृत्व गर्ने आट छ भन्नुभएछ।  के क्रान्ति भनेको कुनै खोला किनारको रिसोर्टमा बेलुका सेकुवा र ह्विस्की पिए जस्तो हो र ? क्रान्तिको लागि सरकारमा  हुँदा   या नहुँदा  कमाएको भ्रष्टाचारको इतिहास बाहेक अब उहाँसँग कुनै सिद्धान्त छ र ?’, उनले प्रश्न तेर्स्याएका छन् । 

शनिबार माओवादीले काठमाडौँमा गरेको खबरदारी सभामा अध्यक्ष प्रचण्डले ७० वर्षको उमेर भएपनि फेरि क्रान्तिको नेतृत्व गर्ने चाहना भएको बताएका थिए । यस्तै लोहनीले प्रचण्डले क्रोनी पुँजीवादलाई सत्ताको हतियार बनाउनु भयो मार्क्सवाद  र माओवादलाई जनता छक्क्याउने हतियारको रूपमा प्रयोग गरेको आरोप लगाए ।  राष्ट्रवादलाई विदेशी मित्र राष्ट्रको लागि सुविधाजनक रूपमा  प्रयोग गर्ने घोषणा गरेकोमा पनि जवाफ फर्काएका छन् । 

‘अब उहाँहरूको लागि न मार्क्सवाद , न पुँजीवाद, न राष्ट्रवाद कुनै पनि  काम न लाग्ने   भएका छन् । सिर्फ सत्ताको आडमा  ‘धनवाद’  मात्र सिद्धान्त भएको छ । यो आलोचना नभएर  यथार्थता हो । त्यसकारण  अब उहाँको नयाँ एक थान क्रान्ति विदेशीको लागी सुविधाजनक हुन सक्ला तर आम जनता को लागि  अपमान मात्र हुनेछ’, लोहनीले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप