आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नरेश श्रेष्ठ मेमोरियल यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट

सस्तैमा समेटियो मधेस प्रदेश, गण्डकीलाई ८३ रनको लक्ष्य

आइतबार, ११ कात्तिक २०८१, ११ : ३७
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन आइतबारको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि ८३ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको मधेस प्रदेशले ३५.३ ओभरमै अलआउट हुनुअघि ८२ रनमात्र बनाउन सक्यो । मधेस प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका जितेश मण्डलले सर्वाधिक ३२ रन बनाए । जितेशले ५० बलको सामना गरी चार चौका प्रहार गरे । नीरजकुमार यादवले १८ रन बनाए । ओपनर मयान यादव १३ रनमै पेभेलियन फर्किए । अर्का ओपनर इमरान शेख पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।

सफवान अली दुई, विकेटकिपर ब्याट्सम्यान साहिल पटेल एक, कप्तान अभिषेक तिवारी चार, राजेश यादव दुई र रोहन साह पाँच रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान रञ्जित कुमार र अफरुद्दिन राइनले भने खाता खोल्न सकेनन् ।

गण्डकी प्रदेशका बलर अपराजित पौडेल एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा चार मेडनसहित केवल १७ रन खर्चिए । आश्विन थापाले पनि दुई विकेट हात पारे । सुदीप अर्याल, सिबरिन श्रेष्ठ र किरण भट्टराईले पनि एक–एक विकेट लिए ।

सातवटै प्रदेशका टोलीको सहभागिता रहेको उक्त प्रतियोगिता कार्तिक २१ गतेसम्म चल्ने । समूहगत चरणको खेलपछि अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल कार्तिक २१ गते खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप