आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्रिकेट

पाइलट र सफ्टवेयर इन्जिनियरिङको अध्ययनपछि क्रिकेटर बनेका सिकन्दर राजा !

आइतबार, ११ कात्तिक २०८१, ११ : ३०
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । अहिले जिम्बाब्वेका क्रिकेटर सिकन्दर राजा चर्चाको शिखरमा छन् । बुधबारदेखि विश्वभरका खेलकुद समाचार र सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ । विश्व क्रिकेटका लागि उनी नयाँ नाम भने होइनन् । 

384510

३८ वर्षीय यी अलराउन्डरले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा देशका लागि सात हजारभन्दा बढी रन बनाइसकेका छन् भने करिब दुई सय विकेट पनि लिएका छन् ।

तर, उनले बुधबार केन्याको राजधानी नैरोबीमा सम्पन्न आईसीसी टी–२० विश्वकपको अफ्रिकी क्षेत्रको छनोट प्रतियोगितामा गाम्बियाविरुद्ध कमालको प्रदर्शन गरे । उनकै दर्शनीय ब्याटिङका कारण त्यो खेलमा थुप्रै विश्व कीर्तिमान पनि तोडिए ।

389662

नेपालकै नाममा रहेको तीनवटा विश्व कीर्तिमान समेत उनले तोड्न भ्याए । त्यो खेलमा जिम्बाब्वेले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ४४ रन बनाएको थियो । कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा ठुलो स्कोर हो ।

यसअघि त्यो कीर्तिमान नेपालको नाममा थियो । नेपालले सन् २०२३ मा चीनमा सम्पन्न एसियाली खेलकुदका क्रममा मंगोलियाविरुद्ध निर्धारित ओभरमा केवल तीन विकेट गुमाएर तीन सय १४ रन बनाएका थियो । अहिले त्यही कीर्तिमान जिम्बाब्वेले तोडेको हो । 

यसैगरी, गाम्बियाविरुद्धको खेलमा जिम्बाब्वेले नेपालको नाममा रहेको सर्वाधिक ठुलो अन्तरको जितको कीर्तिमान पनि तोड्यो । यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान नेपालको नाममा थियो । नेपालले मंगोलियालाई दुई सय ७३ रनले हराएको थियो । तर, जिम्बाब्वेले गाम्बियालाई दुई सय ९० रनको विशाल अन्तरले हरायो । 

384823

यसैगरी, सिकन्दर राजाले भारतका स्टार खेलाडी विराट कोहलीको नाममा कीर्तिमान पनि तोडे । त्यो खेलमा सिकन्दर प्लेयर अफ द म्याच घोषित भएका थिए । त्यसपछि उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी प्लेयर अफ द म्याच घोषित हुने खेलाडीको सूचिमा पहिलो स्थानमा उक्लिए । 

उनले प्लेयर अफ द म्याचको पुरस्कार पाएको यो १७औँ पटक हो । यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी प्लेयर अफ द म्याचको पुरस्कार पाउने खेलाडी भारतका विराट कोहली, भारतकै सूर्यकुमार यादव र मलेसियाका विरनदीप सिंह थिए । कोहली, यादव र सिंहले १६–१६ पटक प्लेयर अफ द म्याचको पुरस्कार पाएका छन् । 

यसैगरी, सिकन्दर राजा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पुरा गर्ने जिम्बाब्वेका पहिलो ब्याट्सम्यान पनि बने । उनले अविजित एक सय ३३ रन बनाएका थिए । उनले केवल ४३ बलको सामना गरी १५ छक्का र सात चौका हिर्काएका थिए ।

384796

त्यो खेलमा जिम्बाब्वेले २७ वटा छक्का प्रहार गरेको थियो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा कुनै पनि टोलीले प्रहार गरेको यो सर्वाधिक छक्का पनि हो । यसअघि नेपालले मंगोलियाविरुद्धको खेलमा २६ वटा छक्का प्रहार गरेको थियो । 

आखिर, अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो कमालको प्रदर्शन गर्ने खेलाडी सिकन्दर राजा के हुन् त ? उनको जीवनको कथा पनि निकै रोचक छ । उनको जन्म पाकिस्तानको सियालकोटमा भएको हो । उनले विद्यालयसस्तरको अध्ययन पाकिस्तानकै एयर फोर्स पब्लिक स्कुलबाट पुरा गरेका थिए ।

सुरुमा उनी क्रिकेटर नभई फाइटर प्लेनको पाइलट बन्न चाहन्थे । यसका लागि उनले गतिलो तयारी पनि गरे । उनको परिवार पनि यो निर्णयमा सहमत थियो । त्यसैले उनी एयर फोर्स स्कुलमा भर्ना भएका थिए । एयर फोर्स स्कुलमा भर्ना हुन ६० हजारले आवेदन दिएका थिए । 

384441

त्यसमध्ये केवल ६० जनाले भर्ना पाउने प्रावधान थियो । सिकन्दर राजाको मनमा फाइटर प्लेनको पाइलट बन्ने चाहना यति तीव्र थियो कि उनले यसका लागि दिन–रात नभनी कडा तयारी गरे । अन्ततः उनी ६० जनाभित्र पर्दै एयर फोर्स स्कुलमा अध्ययनका लागि छनोट भए ।

तर, उनको नियतिमा फाइटर प्लेनको पाइलट बन्नु लेखिएको थिएन । त्यसैले आँखाको समस्याका कारण पाइलट बन्ने उनको सपना पुरा हुन सकेन । फाइटर विमानको पाइलट बन्न आवश्यक ‘भिजन टेस्ट’ मा उनी अनुत्तीर्ण भए । त्यसपछि सन् २००२ मा सिकन्दर राजाको परिवार पाकिस्तानबाट जिम्बाब्वे बसाई सर्‍यो । 

384486

तर, सिकन्दर राजा भने अध्ययनका लागि स्कटल्यान्डतर्फ लागे । उनले स्कटल्यान्डको ग्लासगो केलिडोनियन विश्वविद्यालयबाट सफ्टवेयर इन्जिनियरिङको अध्ययन पुरा गरे । स्कटल्यान्डमै रहँदा क्रिकेटसँग उनको गहिरो नाता जोडिन पुग्यो ।

त्यहाँ उनले अध्ययनसँगै क्रिकेटको नियमित अभ्यास गर्थे । अध्ययन पुरा गरेपछि उनी स्कटल्यान्डबाट जिम्बाब्वे फर्किए । कुनै समयको जल्दोबल्दो टेस्ट राष्ट्र जिम्बाब्वेमा क्रिकेटको गजबको वातावरण थियो । त्यसैले जिम्बाब्वेमा उनले क्रिकेटको कलालाई तिखार्ने झनै गतिलो अवसर पाए ।

त्यसपछि सन् २००७ मा उनले प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यू’ गर्न अवसर पाए । प्रथम श्रेणीको क्रिकेटमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै गएपछि उनी सन् २०१०–११ सिजनबाट पूर्णकालीन खेलाडीका रूपमा क्रिकेटमा सक्रिय भए । 

374022

सन् २०११ को एकदिवसीय विश्वकपका लागि जिम्बाब्वेको प्रारम्भिक टोलीमा उनको नाम पनि समावेश गरिएको थियो । तर, उनी विश्वकपका लागि अन्तिम १५ खेलाडीभित्र अटाउन सकेनन् । उनले जिम्बाब्वेका लागि सन् २०१३ मा तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

उनले विश्वका थुप्रै चर्चित फ्रेन्चाइज प्रतियोगिता पनि खेलिसकेका छन् । उनले पञ्जाब किङ्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) पनि खेलिसकेका छन् । अघिल्लो सिजनको आईपीएलमा उनले दुई खेलमा ४३ रन बनाएका थिए ।

आईपीएलका अतिरिक्त उनले क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिगलगायतका फ्रेन्चाइज प्रतियोगिता पनि खेलिसकेका छन् ।  जिम्बाब्वेमा सिकन्दर राजा धनी क्रिकेट खेलाडीमध्ये पर्छन् । उनको कुल सम्पत्ति ५० लाख अमेरिकी डलर रहेको समाचारमा जनाइएको छ । 

376257

फ्रेन्चाइज प्रतियोगिताका अतिरिक्त उनले विज्ञापनबाट पनि मोटो रकम कमाई गर्छन् । उनी स्टेम स्पोर्टस, शेर–ए–स्पोर्टसजस्ता थुप्रै व्यापारिक ब्रान्डसँग आबद्ध छन् । उनी हरेक खेलाडीले खानपिनमा विशेष ध्यान दिनु पर्ने मान्यता राख्छन् ।

निरन्तरको अभ्यास र खानपिन नै आफ्नो सफलताको रहस्य भएको उनी बताउँछन् । हालै एक अन्तर्वर्ताका क्रममा उनले आफू मांसाहारी भए पनि सेतो चामलबाट बनेका परिकारबाट टाढा रहने बताएका थिए । केही समयअघि उनले ट्युमरको शल्यक्रिया गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप