आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रा ३२ खेल पुग्यो

आइतबार, ११ कात्तिक २०८१, ०९ : ५४
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबल तालिकाको पहिलो स्थानमा फर्किएको छ । प्रिमियर लिगको शनिबार राति खेलिएको आफ्नो पछिल्लो खेलमा म्यानचेस्टर सिटीले साउथएम्पटनलाई १–० गोलले हरायो ।

घरेलु मैदनमा खेलिएको उक्त खेलको प्रारम्भमै गरेको गोल नै म्यानचेस्टर सिटीको जितका लागि पर्याप्त बन्यो । म्यानचेस्टर सिटीका लागि एर्लिङ हालान्डले निर्णायक गोल गरे । त्यसपछि दुवै टोलीले खेलमा थप गोल गर्न सकेनन् ।

उनले जारी सिजनको लिगमा म्यानचेस्टर सिटीका लागि गरेको यो ११औँ गोल हो । जारी सिजनको लिगमा म्यानचेस्टर सिटी हालसम्म अपराजित छ । म्यानचेस्टर सिटीले आफूले खेलेको नौमध्ये सात खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ ।

म्यानचेस्टर सिटीले २३ अंक बटुलेको छ । म्यानचेस्टर सिटीको जितपछि लिभरपुल तालिकाको दोस्रो स्थानमा खस्किएको छ । लिभरपुलले आठ खेलबाट २१ अंक हात पारेको छ । लिभरपुलले सात खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

साउथएम्पटन भने तालिकामा सबैभन्दा तल छ । हालसम्म नौ खेल खेलेको साउथएम्पटनले एक बराबरी र आठ हारबाट एक अंकमात्र जोड्न सकेको छ । शनिबार रातिको जितसँगै प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रा ३२ खेल पुर्‍याएको छ ।

म्यानचेस्टर सिटी पछिल्लो पटक गत डिसेम्बर ६ तारिखमा एस्टन भिल्लासँग पराजित भएको थियो । अब ६ सातापछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा हार नभोगेको एक वर्ष पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप