आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

लज्जास्पद हारसँगै बार्सिलोनाको रेकर्ड बराबरी गर्न सकेन रियलले

आइतबार, ११ कात्तिक २०८१, ०९ : ३८
आइतबार, ११ कात्तिक २०८१

मड्रिड । रोबर्ट लेवान्डास्कीले तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि बार्सिलोनाले रियल मड्रिडलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति भएको एल क्लासिकोमा ४–० को जित निकाल्दै बार्साले ला लिगाको अङ्क तालिकामा ६ अङ्कको अग्रता बनाउन सफल भएको हो ।

रियल बार्सिलोनाले बनाएको ४३ खेलको अपराजित यात्रा बराबरी गर्ने ध्येयको साथ मैदानमा उत्रेको थियो । बार्साले सन् २०१७ को अप्रिल र सन् २०१८ को २०१८ को बिचमा यो रेकर्ड बनाएको थियो ।

तर, दोस्रो हाफमा शानदार प्रदर्शन गर्दै बार्सिलोनाले रियलको सपना चकनाचुर बनायो । ‘खेल हरेपछि यो निकै कठिन समय हो, अझ जब तपाईँ यति धेरै खेलमा अपराजित रहनुभएको थियो,’ खेलपछि रियलका म्यानेजर कार्लो एन्चेलोटीले भने ।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि लेवान्डोस्कीले ५४ औँ मिनेटमा बार्सालाई खेलमा अग्रता दिलाएका थिए । तीन मिनेटपछि अलेहान्द्रो बाल्डेको क्रसमा गोल गर्दै पोल्याण्डका स्ट्राइकरले घरेलु टोलीलाई स्तब्ध बनाए ।

लेवान्डोस्कीले आफ्नो ह्याट्रिक पुरा गर्ने दुईवटा अवसर पाएका थिए तर उनको पहिलो प्रहार पोस्टमा लागेको थियो भने अर्को उनले लक्ष्यमा प्रहार गर्न सकेनन् ।

स्पेनिस युवा खेलाडी १७ वर्षीय लामिन यामालले बार्साको तेस्रो गोल गरे । उनी एल क्लासिकोमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बने । खेलको अन्त्यतिर राफिन्हाले टोलीका लागि चौथो गोल थपे ।

यता, किलयान एम्बाप्पेले भने पहिलो एल क्लासिकोमा नमिठो हार बेहोर्नुपरेको छ । फ्रान्सका स्ट्राइकरले गरेका दुईवटा गोल अफसाइड करार गर्दै रद्द गरिएको थियो भने बार्साका गोलकिपर इनाकी पेनाले उनको प्रहार बचाऊ गरेका थिए ।

गत सिजन बार्सिलोना ला लिगामा रियलभन्दा १० अंकले पछि परेको थियो । नयाँ म्यानेजर ह्यान्सी फ्लीकको नेतृत्वमा यो सिजन भने बार्साले १० खेलमा जित र एकमा मात्र हारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप