शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
खेलकुद

विश्वकप लिग–२ : आज नेपाल र अमेरिकाबिच प्रतिस्पर्धा

आइतबार, ११ कात्तिक २०८१, ०६ : ५०
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । अमेरिका जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेट शृङ्खलामा आज नेपालले आफ्नो पहिलो खेलमा  अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ ।  खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुने छ । यो शृङ्खलामा नेपाल र अमेरिकासँगै स्कटल्याण्डको पनि सहभागिता रहेको छ ।

शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले हिजो कप्तान रोहित पौडेलको कप्तानमा नेपाली टोलीको घोषणा गरेको थियो । टोलीका अन्य सदस्यहरुमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी रहेका छन् ।

त्यस्तै, अर्जुन साउद, सोमपाल कामी, करन केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । देव खनाल र सागर ढकाल रिजर्भमा समावेश गरिएका छन् ।

यो शृङ्खलामा सहभागी तीनवटै राष्ट्रले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । लिग–२ एकदिवसीय ढाँचाको प्रतियोगिता हो । आगामी बिहीबार नेपालले स्कटल्यान्डसँग आफ्नो तेस्रो खेल खेल्नेछ । शृङ्खलामा अक्टोबर ३१ तारिखमा स्कटल्यान्ड र अमेरिकाबिच खेल हुनेछ ।

यसैगरी, नोभेम्बर २ तारिखमा नेपालले अमेरिकासँग आफ्नो तेस्रो खेल खेल्नेछ । नोभेम्बर ४ तारिखमा नेपालले स्कटल्यान्डको सामना गर्नेछ । नेपाल र स्कटल्यान्डबिचको उक्त खेलसँगै लिग–२ को यो शृङ्खला पनि सकिने छ । 

लिग–२ शृङ्खला सकिएपछि यी तीन राष्ट्रबिच त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला सुरु हुनेछ । तर, टी–२० शृङ्खला भने लिग–२ प्रतियोगिताको अंग होइन् । लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खला सकिएसँगै सहभागी टोलीहरुबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा रहेको छ । 

लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणमा नेपालले खेल्न लागेको भने यो तेस्रो शृङ्खला हो । यसअघिको आफ्नो दुबै शृङ्खलामा नेपालको प्रदर्शन निकै निराशाजनक देखिएको छ । नेपालले आफ्नो पहिलो शृङ्खला गत फेब्रुअरीमा घरेलु मैदानमै खेलेको थियो ।

लिग–२ शृंखलाको अंक तालिकामा नेपालको अवस्था दयनीय देखिन्छ । हालसम्म १२ खेल खेलेको क्यानडा १६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । क्यानडाले आठ जित र चार हारको नतिजा निकालेको छ ।

आठ खेल खेलेको नेपाल तीन अंकसहित सातौँ स्थानमा छ । नेपालले हालसम्म एक जितमात्र हात पार्न सकेको छ ।

नेपाली टोली ६ खेलमा पराजित भएको छ । नेपालको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । सात खेल खेलेको संयुक्त अरब इमिरेट्स (यूएई) दुई अंकसहित आठौँ स्थानमा छ । यूएईले एक जित र ६ हारको नतिजा निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप