आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको दोस्रो दिन : ऊर्जा, वातावरण र बायोमेडिकलबारे छलफल

शनिबार, १० कात्तिक २०८१, २२ : १४
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । ललितपुरमा शुक्रबारदेखि जारी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको दोस्रो दिन ऊर्जा, वातावरण र बायोमेडिकलबारे भएका पछिल्ला अनुसन्धान,अन्वेषण र उपयोगिताका सम्भावनाबारे छलफल भएको छ। 

नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सह आयोजनामा जारी ‘एड्‌भान्स फङ्‌सनल मटेरियल्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२४’ को दोस्रो दिन सुरुवातमा चीनको साङ्‌घाईस्थित  दोङ्‌वा विश्वविद्यालयका प्रोफेसर बिन दिङले उर्जाका क्षेत्रमा गरिएको आफ्नो अनुसन्धान र विश्वमा पछिल्लो समय भइरहेका अन्वेषणबारे प्रकाश पारेका हुन् ।

प्रा.दिङले नयाँ प्रविधिको प्रयोग गरेर न्यानो फाइबरको उत्पादन र यसको उपयोगिताबारे जानकारी गराएका हुन्। न्यानो फाइबरलाई ऊर्जा भण्डारण, ब्याट्रीहरू बनाउन, मानव स्वास्थ्यका लागि हानिकारक ग्यासहरू सोस्‍नेलगायतका विषयमा उपयोग गर्न सकिने जानकारी गराएका हुन् । उनले न्यानो फाइबरलाई मानव स्वास्थ्यको उपचारका लागि पनि प्रयोग गर्न सकिनेबारे प्रकाश पारेका हुन् । 

त्यसैगरी जापानस्थित नेश्‍नल इन्स्टिच्युट फर मटेरियल्स साइन्स (निम्स) का प्राध्यापक डा. लोककुमार श्रेष्ठले ऊर्जा, वातावरण र नानो मटेरियल्सु सम्बन्धी शीर्षकमा बोल्दै ऊर्जा भण्डारण गर्ने उपकरण कसरी निर्माण गर्न सकिन्छ र यसको कार्यक्षमता के हुन्छ भन्ने विषयमा प्रकाश पारेका हुन् ।

त्यसैगरी हेल्थकेयर, बायोमेडिकल शीर्षकमा बोल्दै त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागका प्राध्यापक प्रा.डा. पारसनाथ यादवले नेपालमा क्यान्सरको उपचारका सम्बन्धमा भए(गरेका अनुसन्धानबारे जानकारी गराएका छन् । सोही शीर्षकमा बोल्दै क्यान्सर रिसर्च सेन्टर अमेरिकाका अनुसन्धान प्राडा. कृष्ण कट्टेलले क्यान्सरको उपचारमा विश्वमा चलिरहेको नयाँ पद्धतिको अनुसन्धान र उपचार विधिको बारेमा प्रकाश पारेका हुन् । 

त्यसैगरी आईआईटी रुर्की भारता प्रा.डा. विमलचन्द्र श्रीवास्तवले उत्सर्जन भएको कार्बनडाइक्साइडलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराएका हुन् । उनले वायुमण्डलमा कार्बन उत्सर्जनलाई कम गर्ने मात्र नभएर उत्सर्जित कार्बनडाइक्साइडबाट अल्कोहल बनाउन सकिने विषयमा प्रकाश पारेका हुन् । 

नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीका प्राध्यापक डा.टिस्टा पर्साई जोशीले पिउने पानीमा देखिने आर्सनिकको मात्रा कसरी घटाउने र त्यो झिकिएको आर्सनिकको बहुउपयोगिता कसरी गर्न सकिन्छ भन्नेबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेकी हुन् । 

सम्मेलनको दोस्रो दिन विभिन्न मुलुकका ३० भन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले ऊर्जा, वातावरण र बायोमेडिकलबारे विभिन्न अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका हुन् । चीन, भारत, मलेसिया, इन्डोनेसिया, कोरिया, जापान, संयुक्त राज्य अमेरिकालगायत १६ वटा देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सहभागी सम्मेलन आइतबारसम्म चल्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप