शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

दोलखामा खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको स्थापना

शनिबार, १० कात्तिक २०८१, २१ : ०४
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । दोलखामा खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गत सो कार्यालय दोलखामा पनि स्थापना गरिएको हो । 

कार्यालयको उद्घाटन गर्दै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सङ्घीयताको कार्यान्वयनपछि जनताको घर आँगनबाटै सेवा प्रवाह गर्ने भनिएता पनि जनताले विगतमा भन्दा झन् बढी सास्ती पाएकोले जिल्लामै कार्यालय स्थापना गरिएको बताए ।

मन्त्री काफ्लेले खानेपानीको स्थायित्व हुने गरी विकास गर्नुपर्ने बताउँदै जनताले गुनासो नगर्ने गरी काम गर्न कार्यालयलाई निर्देशन दिए । सङ्घीयतापछि दोलखामा नभएका प्रदेश सरकारका कार्यालय दोलखामा नै फिर्ता ल्याउने प्रक्रियाअनुसार पूर्वाधार विकास कार्यालयपछि खानेपानी कार्यालय दोलखामा स्थापना गरिएको उनले बताए ।

प्रदेश सरकारको उद्देश्य भनेको जनतालाई सहज रूपमा सेवा प्रदान गर्नु रहेको बताउँदै काफ्लेले जनता खुसी भए मात्र सरकार सफल हुने मन्त्री काफ्लेले बताए । प्रदेश सरकारका कार्यालय नहुँदा सेवा लिन अरू जिल्ला जानुपर्ने गुनासो आएको र अनावश्यक दुःख बेहोर्नुपर्ने भएकाले जिल्लामा अरू प्रदेश सरकारका कार्यालय पनि स्थापना गर्ने योजना रहेको मन्त्री काफ्लेले बताए ।

कार्यालय प्रमुखमा विजयकुमार यादव तोकिएका छन् । कार्यालय प्रमुख तोकिएका यादव बिहीबार कार्यालयमा हाजिर भएका छन् । कार्यालय स्थापना  भएसँगै विकास निर्माणसँग सम्बन्धित कामका लागि सेवाग्राहीले एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने दोलखावासीको बाध्यता अन्त्य भएको हो ।

आफ्नै जिल्लामा कार्यालय नभएपछि खानेपानी ढल व्यवस्थापन, सरसफाइ  सम्बन्धित कामका लागि सेवाग्राही अर्को जिल्लामा जानुपर्ने अवस्था रहेको थियो । रामेछाप जिल्लाको मन्थलीमा रहेको कार्यालयले रामेछाप र दोलखा गरी गरी दुई जिल्ला हेर्ने गर्दथ्यो ।

नयाँ आर्थिक वर्षबाट सेवाग्राही सेवा लिनका लागि एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने गरी खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका कार्यालयको व्यवस्थापन गरिएको हो । खानेपानी तथा सरसफाइसम्बन्धी सेवा लिनका लागि अब भने सहज हुने कार्यालय प्रमुख यादवले बताए ।

कार्यालयमा नौ जनाको दरबन्दी कायम गरिएको छ । कर्मचारी आउने क्रम जारी छ कार्यालयलाई व्यवस्थापन गरेर छिट्टै नै खानेपानी निर्माणका काम अगाडि बढाउने उनले बताए ।

यादवले भने, ‘दोलखामा जिल्लामा सञ्चालित विकास योजनाका फाइलहरू रामेछापबाट ल्याउने प्रक्रिया सुरु भइसकेको छ । चालु आर्थिक वर्षका सम्पूर्ण कार्यक्रम कार्यान्वयन दोलखा बाट नै हुन्छ । क्रमागत योजनाका फाइल  पनि ल्याएर त्यसको अनुगमन सुरु गर्छौँ ।’  बजेट भाषणबाट पारित भएका कार्यक्रमहरू सबै जिल्ला ल्याउने प्रक्रिया सुरु भएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप