शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सम्पन्न

शनिबार, १० कात्तिक २०८१, २० : ३६
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । काठमाडौँमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट (एनपिआइ) त्रिभुवन विश्वविद्यालय, कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस, दिन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय भारत र आईपीडब्लु जर्मनीको आयोजनामा ‘काठमाडौँ सिम्पोजिया अन एडभान्स्ड मटेरियल्स’ को पाँचौँ शृङ्खला सम्पन्न भएको हो ।

कार्तिक ६–८ गतेसम्म बुढानीलकण्ठ काठमाडौँमा आयोजना भएको सम्मेलनको मुख्य उद्देश्य दक्षिण एसियाली मुलुकका पदार्थ विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका पदार्थ वैज्ञानिकहरू र विश्वभरका वैज्ञानिकहरूबिचको वैज्ञानिक सहकार्यलाई स्थापित र सुदृढ गर्नु रहेको बताइएको छ ।

सम्मेलनमा नयाँ र स्मार्ट पदार्थहरू, हरित र दिगो प्रविधिहरू, चक्रीय अर्थतन्त्र, नानो/बायोमा आधारित अति सूक्ष्म पदार्थहरू, टिस्यु इन्जिनियरिङ, कम्प्युटेशन प्राविधिकहरूमा केन्द्रित छलफल भएको छ ।

नेपाल पोलिमोर इन्स्टिच्युटका अध्यक्ष तथा यस सम्मेलन आयोजक समितिका संयोजक प्राडा. रामेश्वर अधिकारीले नानो/बायो, हरित र दिगो प्रविधिहरू लगायतका पछिल्ला अनुसन्धानका क्षेत्रमा नेपालमा भए गरेका अध्ययन अनुसन्धानलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरेको बताए ।

सम्मेलनलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा.केशरजङ्ग बराल र दिनदयाल विश्वविद्यालय गोरखपुरकी उपकुलपति प्राडा पुनम टण्डनले संयुक्त रूपमा उद्घाटन गरेका थिए । सम्मेलनमा नेपाल लगायत फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापान, भारत, अमेरिका, चीन, नर्वे लगायतका देशहरूबाट आएका प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, युवा वैज्ञानिकहरू तथा विद्यार्थीहरू सहभागी भएका नेपाल पोलिमर इन्स्टिच्युटका पूर्व अध्यक्ष डा.राजेश पण्डितले जानकारी दिए ।

सम्मेलनमा युवा वैज्ञानिकलाई लक्षित गरी ‘स्मार्ट र फङ्सनल पदार्थको अनुप्रयोगमा हालको प्रगति ‘नामक एक दिने सर्ट कोर्स’ र नेपाल भारत विशेष सिम्पोजियम समेत आयोजना गरिएको थियो ।

सम्मेलनको अन्तिम दिन युवा विद्यार्थी, युवा अभियानकर्ता, युवा व्यवसायी, विदेशमा लामो समय प्राध्यापन गरेका प्राध्यापक, त्रिभुवन विश्वविद्यालयको नीति नियममा अनुभव हासिल गरेका प्राध्यापकहरूको उपस्थितिमा  ‘समाजका लागि आवश्यक बहु विषयगत अनुसन्धानका लागि युवा वैज्ञानिकहरूको सशक्तीकरण’ नामक विषयमा ‘प्यानल डिस्कसन’ आयोजना गरिएको गरिएको थियो ।

प्यानल डिस्कसनमा आपसी वैज्ञानिक सहकार्य, बहु विधागत अनुसन्धानको आवश्यकता र अनुसन्धानलाई समाजसँग जोड्नको लागि गर्नुपर्ने पहल कदमीका बारेमा छलफल भएको सम्मेलन कन्भेनर डा.केदारनाथ ढकालले बताए ।

सम्मेलनमा नेपाल लगायत विश्वभरका २०८ जना वशिष्ठ वैज्ञानिकहरू, अनुसन्धानकर्ता, युवा वैज्ञानिकहरू तथा सहभागी जिज्ञासुहरू सहभागी थिए । सम्मेलनमा १५१ वटा कार्यपत्र प्रस्तुत भएका थियो  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप