शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

बेलबारी गोल्डकपको उपाधि झापा ११ को पोल्टामा

शनिबार, १० कात्तिक २०८१, १९ : ३०
शनिबार, १० कात्तिक २०८१

बेलबारी  । आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । शनिवार मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा सलहेस फुटबल क्लब सिराहालाई टाई ब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै झापाले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै झापा ११ ले ८ लाख नगद सहित अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफि जितेको छ । यस्तै उप विजेता सलहेस फुटबल क्लब सिराहाले चार लाख नगद सहित ट्रफि प्राप्त गरेको छ ।

पाँच पाँच खेलाडीले टाइब्रेकर प्रहार गर्दा झापा ११ का पाँचै खेलाडीले गोल गरेका थिए ।  दिनेश उराव,अभिषेक गुरुङ, सौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले झापाको जितको लागि गोल गरे ।

सलहेश फुटबल क्लव सिराहाका  राम थापा ,आदित्य शाक्य र विप्लव गुरुङले गोल गर्दा समीर तामाङको प्रहार झापाका गोल रक्षक सन्दीप लिम्बूले बचाए । समीरको प्रहार सन्दीपले बचाएपछि सलहेश एउटा प्रहार नगर्दै पराजित भयो । 

यसअघि गोल रहित बराबरीमा मध्यान्तर अघिको ४५ मिनेट सकिएको थियो । ५० औँ मिनेटमा सलहेश फुटवल क्लब सिराहाका अजयी मार्टिनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । 

७१ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकी जवाफी गोल गर्दै खेल बराबरीमा पुरयाएका थिए ।  १–१ गोलको बराबरी पछि हेर्न लायक भएको फाइनल प्रतिस्पर्धा निर्धारित ९० मिनेटमा थप कुनै गोल नभइ टुङ्गियो । त्यसपछि खेलको अन्तिम निर्णय सिधै टाई ब्रेकरबाट गरिएको हो ।    

फाइनल खेलको म्यान अफ द म्याच  अभिषेक गुरुङ घोषित भए । उनले नगद ५ हजार सहित ट्रफि प्राप्त गरे ।  यस्तै झापाका सन्दीप लिम्बू उत्कृष्ट गोल रक्षक,उत्सव राई उत्कृष्ट मीड फिल्डर,सन्तोष गुरुङ उत्कृष्ट कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी  घोषित भए ।  तामाङले १० हजार नगद सहित ट्रफि र अरु खेलाडीले जनही ७ हजार नगद र ट्रफि प्राप्त गरे । 

यस्तै सलहेश फुटवल क्लवका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिमा पाँच गोल गरेका थिए । सलहेशका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै ७ हजार नगद र ट्रफि प्राप्त गरे ।

विजयी टिमका खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुबेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राई लगायतले  ट्रफि,प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिता एलएक्ससिटी फुटवल क्लब बेलबारी–११ ले कात्तिक २ गते देखि आयोजना गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप