शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

बालेन रहस्यमय पात्रजस्तो देखिन्छन्, खतरनाक हुन सक्छन् : बाबुराम भट्टराई

प्रचण्ड धेरै पर पुगिसके, एमाले र कांग्रेसको शक्ति घट्ने विश्लेषण
शनिबार, १० कात्तिक २०८१, १९ : २१
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबारे सन्देहपूर्ण धारणा राखेका छन् । बालेनले आगामी २०८४ सालको निर्वाचन अगाडि पार्टी खोल्न सक्ने टीकाटिप्पणी हुने गरे पनि बालेनको लोकप्रियताका बिच आफूले उनको वास्तविकता बुझ्न नसकेको भट्टराईको धारणा छ । 

‘बालेन के हुन् भन्ने मैले बुझेको छैन । एकखालको रहस्यमय पात्र जस्तो देखिन्छ’, शनिबार राजधानीमा आयोजित प्रमुख सञ्चारमाध्यमका सम्पादकका साथै पत्रकारहरूसँगको छलफलमा भट्टराईले भने, ‘उनी हेर्दा पलपुर पनि देखिन्छन् । ट्रकहरूमा पनि बालेनको फोटो  देखिन्छ । सामाजिक सञ्जाल हेर्दा पनि लोकप्रियता देखिन्छ । तर, उनको वास्तविकता स्पष्ट नभएको यस्तो पृष्ठभूमिमा हाम्रो जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्छन् ।’

यद्यपि देशका लागि अग्रगामी सोचसहितको वैकल्पिक शक्तिचाहिँ चाहिने उनको भनाइ छ । अग्रगामी सोच राख्ने शक्तिहरूसँग विगतदेखि नै आफू सकारात्मक रहेको उल्लेख गर्दै भट्टराईले आफ्नो चाहना अबको चुनावमा त्यस्ता शक्तिहरूसँग तालमेल वा मोर्चाबन्दी गर्ने रहेको बताए ।  

जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त कतिपय उपलब्धि अझै पनि संस्थागत हुन नसकेको उल्लेख गर्दै भट्टराईले त्यसलाई जोगाउनका लागि पनि आफ्नो चाहना अग्रगामी शक्तिहरूसँग मिलौँ भन्ने रहेको उनको भनाइ छ ।  यद्यपि आगामी निर्वाचनमा जस्तोसुकै वैकल्पिक शक्ति निर्माण भए पनि एउटैको चाहिँ बहुमत आउन सक्ने आफूलाई नलागेको उनको भनाइ थियो । ‘तर, एलाइन्स वा गठबन्धन बनाएर हुन्छ कि भन्ने मेरो सोच त्यस्तो छ’, उनले भने, ‘एजेन्डा सेट  गरेर वैकल्पिक राजनीति स्थापित गर्ने र त्यसका वरिपरि गठबन्धन गर्न सकिन्छ कि भन्ने हो ।’

  • एमाले र कांग्रेसको शक्ति घट्ने विश्लेषण

भट्टराईले ०८४ पछि  एमाले र कांग्रेसको निर्णायक बन्ने हैसियत घट्ने पनि विश्लेषण गरे । उनीहरूलाई चुनौती वैकल्पिक शक्तिले नै दिने उनको जिकिर थियो ।  तर, वैकल्पिक शक्ति अहिले नै यो हुनसक्छ भनेर भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै भट्टराईले भने, ‘यो स्पेस अहिले खाली नै छ । ‘अन्नोन’ कुनै पात्र आउन पनि सक्छ ।’

भट्टराईले माओवादी छाडेर आफूले वैकल्पिक शक्ति बनाउँदा आफ्नै टिमका साथीहरूले धैर्य गर्न नसक्दा त्यति बेला सफलता हासिल हुन नसकेको पनि स्मरण गरे । यसबाहेक तत्कालीन सरकारकै असहयोगमा चुनाव चिह्न नपाएको देखि अनेक समस्याको सामना गर्नुपरेको उनले स्मरण गरे । ‘प्रचण्डले पनि सहयोग गरेनन्, उनको सरकारले चुनाव चिह्न दिएन । यस्तै चुनावको मुखमा साथीहरूको भागाभाग हुन भयो’, उनले भने । विगतका कमजोरीबाट पाठ सिक्दै अब फेरि पार्टीलाई रि-ब्राण्डिङ गरेर वैकल्पिक राजनीतिकका लागि पैरवी गर्न लागिपरेको उनको भनाइ थियो । तर वैकल्पिक शक्ति बन्ने भन्दैमा राजावादी भने कुनै हालतमा नहुने उनले स्पष्ट पारे । 

‘राजावादी त पटक्कै हुँदै नहुने । गणतन्त्रभित्रै रहेर  वैकल्पिक शक्ति बनाउन प्रयास गर्नुपर्छ’, उनले भने । यस्तै भट्टराईले वैकल्पिक शक्तिको अगाडि कांग्रेस, एमाले र माओवादी सोलोडोलो विशाल रहन नसक्ने दाबी गर्दै एउटा लिबरल धार र अर्के कम्युनिस्टहरूको धार भने रहिरहने तर्क गरे । यस्तै आफूले सबैलाई समेट्न प्रगतिशील प्रजातान्त्रिक विचारधारा वरिपरिको शक्ति चाहेको बताए । 

प्रचण्ड धेरै पर पुगिसके

उनले आगामी दिनमा माओवादीसँग एकता हुन कठिन रहेको समेत बताए। ‘प्रचण्ड धेरै पर पुगिसक्नु भयो’, उनको भनाइ थियो, ‘मुद्दामा मिलेर जान सकिएला ।’

यस्तै भट्टराईले भ्रष्टाचार अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि लोकपाल वा बलियो अरू कुनै आयोग निर्माण गर्नुपर्ने बताए । तर, त्यस्ता आयोगमा भ्रष्ट प्रवृत्तिकै मान्छे आएमा समस्याको समाधान नहुने उनको भनाइ थियो । 

यस्तै भट्टराईले अहिलेको प्रणालीबाट कसैको पनि बहुमत आउन नसक्ने उल्लेख गर्दै प्रत्यक्ष कार्यकारीको पक्षमा समेत वकालत गरे । 

भट्टराईले पूर्वराजा ज्ञानेन्द्रको गतिविधिसमेत शङ्कास्पद देखिएको उल्लेख गरे । उनको भुटान भ्रमणसमेत शङ्कास्पद रहेको उनको भनाइ थियो ।  यस्तै अहिलेका दलकै कतिपय नेताहरू समेत परिचालित पात्र रहेको भन्दै कटाक्ष गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप