जापानमा मैले जे देखेँ
जापानी भाषामा ‘निप्पोन’ वा ‘निहोन’को सांकेतिक अर्थ हुन्छ ‘सूर्य उदाउने भूमि’ । अर्थात् जापानलाई सूर्याेदयको देश भनेर पनि चिनिन्छ ।
पूर्वी एसियामा प्रशान्त महासागरले घेरिएको जापान साना–ठुला १४ हजारभन्दा बढी टापुहरू मिलेर बनेको छ । सबैभन्दा ठुलो टापु ‘होन्सु’ हो, जहाँ राजधानी टोकियोसँगै नागोया, ओसाका, क्योतो, हिरोसिमाजस्ता सहर अवस्थित छन् ।
१२ करोडभन्दा बढी जनसङख्या भएको यो देशमा पछिल्लो समय तीव्र रूपमा जनसङ्ख्या घट्दै गएको छ भने वृद्धवृद्धाको संख्यामा संख्यामा वृद्धि भइरहेको छ ।
राजधानी टोकियो क्षेत्र विश्वको सबैभन्दा बढी जनसंख्या भएको सहर हो, जहाँ करिब तीन करोड ८० लाख मानिसको बसोबास छ । जापानको करिब ७० प्रतिशतभन्दा बढी भूभाग वन तथा पहाडले ढाकिएको छ, बाँकी भू–भागमा मात्र मानिसको बसोबास र खेतीपाती छ ।
दोस्रो विश्वयुद्धको पीडा बेहोरेपछि जुरुक्कै उठेको जापानले निकै छोटो समय अर्थात् १९५० देखि १९८० को दशकमा भौतिक पूर्वाधार र मानव विकासको क्षेत्रमा चामत्कारिक प्रगति गर्यो । सन् २०१० सम्म विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको जापान हाल अमेरिका र चीनपछिको तेस्रो ठुलो अर्थतन्त्र हो ।
जापान विश्वका मुख्य अर्थतन्त्रमध्ये सबैभन्दा बढी ऋण हुने देश पनि हो, जसको कुल ऋण कुल गार्हस्थ्य उत्पादनको २५० प्रतिशतभन्दा बढी छ । यहाँको पासपोर्ट विश्वमै शक्तिशाली पासपोर्टका रूपमा चिनिन्छ, जहाँका नागरिक विनाभिसा वा अनअराइभल भिसा प्रयोग गरेर विश्वका १९० भन्दा बढी देशमा भ्रमण गर्न पाउँछन् ।
हेयान युग (७९४–११८५) का बिचमा अपरिचित व्यक्तिले लेखेको जापानको राष्ट्रिय गान ‘किमिगायो’लाई विश्वकै सबैभन्दा छोटो र पुरानो राष्ट्रिय गान मानिन्छ ।
त्यस्तै, जापानी लेखिका मुरासाकी सिकिबुले ११औँ शताब्दीमा लेखको ‘टेल अफ् गिन्जी’ नामक उन्यासलाई विश्वकै पहिलो उपन्यास मानिन्छ । पूर्व–पश्चिम चारैतिर फैलिएको एकनासको समानुपातिक विकास जापानको विशेषता हो । भूकम्प, सुनामीजस्ता विपत जापानीका लागि दिनचर्या हो । आफ्ना नागरिकको अनुशासन, संस्कार, संस्कृति, खाना तथा आयुका कारण पनि जापान विश्वभर परिचित छ ।
दुई वर्ष उच्च शिक्षा अध्ययन गर्ने क्रममा जापानको इतिहास, भूगोल, संस्कृति, रीतिरिवाज र विकासलाई नजिकबाट बुझ्ने अवसर मिल्यो । जापानको पूर्वदेखि पश्चिमसम्मका विभिन्न सहर तथा ठाउँहरूको भ्रमण गर्दा देखे–भोगेका विषयलाई यहाँ प्रस्तुत गरिएको छ ।
- लाइन र ट्राफिक अनुशासन
ट्रेन स्टेसन, सुपरमार्केट, तरकारी पसल, बैंक वा सरकारी कार्यालयजस्ता निकै भिडभाड हुने ठाउँमा पनि निकै शान्त र धैर्यतापूर्वक लाइनमा बसेर पालो कुर्ने जापानीको चलन निकै मन पर्यो । त्यसैले भनिन्छ— जहाँ जापानी तहाँ लाइन ।
बाटो काट्न ट्राफिकमा उभिँदा समेत उनीहरू लाइनमै लाग्दा रहेछन् । लाइनमा बस्दा समेत जापानीहरू अरुलाई अगाडि र आफूलाई पछाडि राख्न रुचाउँदा रहेछन् ।
पेसाबाट अवकाश वृद्धवृद्धा पनि खाली बस्दैनन् । घरमा केही कामै भएन भने पनि नजिकैको पार्क वा सार्वजनिक सडकमा निस्किएर सरसफाइ गर्ने, खसेका पात टिप्नेजस्ता काम गर्छन् ।
जापानको ट्राफिक अनुशासन पनि अद्वितीय छ । सवारी चालकहरूले जतिसुकै हतार भए पनि लेन मिच्ने, जथाभावी हिँड्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने जस्ता कार्य कहीँ–कतै गरेको देखिएन । आपत–विपतको अवस्थामा एम्बुलेन्स तथा दमकल हिँड्दाबाहेक सडक निकै शान्त देखिन्थ्यो । बिरलै मात्रै ‘हर्न’ बजेको सुन्न पाइन्थ्यो । टोकियोजस्तो व्यस्त ठाउँमा समेत ठुलो ट्राफिक जामको सामना गर्नुनपर्ने गज्जबको ट्राफिक व्यवस्थापनले सबैको ध्यान खिच्दो रहेछ ।
सहरका भित्री बाहिरी सबै सडकहरूमा ‘अटोमेटेड ट्राफिक लाइट’को व्यवस्था गरिएको छ । ठुला गाडीहरूले पैदलयात्री तथा साइकल यात्रीलाई बाटो नकाटुन्जेलसम्म कुरेरै बस्छन् । महत्त्वपूर्ण कुरा त विद्यालय तहको सुरुवाती वर्षहरूमै विद्यार्थीलाई ट्राफिक नियमको पूर्ण ज्ञान दिइन्छ । यहाँको ट्राफिक नियम निकै कडा छ । मदिरा सेवन गरेर साइकल चलाएमा यहाँको कानुनले १० लाख येन जरिवाना (करिब ९ लाख नेपाली रुपैयाँ) र पाँच वर्षसम्म कैदको व्यवस्था गरेको छ ।
- समयको अर्काे नाम जापान
गत वर्ष २०२३ को फेब्रुअरीमा टोकियोबाट ३३५ जना यात्रु बोकेर ‘फुकुओका’ विमानस्थलतर्फ उडेको विमान तोकिएको समयभन्दा १० मिनेट ढिला आएका कारण अवतरण गर्न पाएन र टोकियो नै फर्कनुपर्यो । रातिको १० बजेसम्म अवतरण गर्नुपर्ने उक्त जहाज १० मिनेटपछि अवतरण गर्न खोजेको थियो, तर खास र उपयुक्त कारण बिनै ढिला गरेको जनाउँदै विमानस्थलले टोकियो नै फर्काएको थियो । समय पालनमा जापान कतिसम्म कठोर छ भन्ने यो एउटा उदाहरण मात्र हो ।
मिनेट मात्र होइन, सेकेन्डको हिसाबले चल्दो रहेछ यो देश । भवितव्य परेको वा असामान्य स्थितिबाहेक यहाँका हरेक कामहरू पूर्वनिर्धारित हुन्छन् र पूर्वनिर्धारित समयमै सम्पन्न हुन्छन् ।
बाटोमा हिँड्ने सामान्य नागरिक हुन्, कम्पनीका मालिक, सरकारी कर्मचारी वा नेता नै किन नहुन्— सबै कठोर समयको नियममा बाँधिएका छन् । सार्वजनिक कार्यक्रम हुन् वा औपचारिक बैठक, बुलेट ट्रेनको समयतालिका होस् वा सडकमा गुड्ने सार्वजनिक बसको समय तालिका— सबैलाई समयको सीमामा राखिएको छ । अर्थात् देशको हरेक क्षेत्र समयमा बाँधिएको छ, जसको उल्लंघन वा ढिलाइलाई निकै नराम्रो संस्कारका रूपमा लिइँदो रहेछ । समय उल्लङ्घन गरेको अवस्थामा जापानीले निकै आत्मग्लानि पनि गर्दा रहेछन् ।
- व्यक्तिगत गोपनीयताको उच्च सम्मान
जापानमा व्यक्तिको गोपनीयतालाई निकै सम्मान गरिन्छ । सार्वजनिक स्थानमा समेत एकल व्यक्तिको पहिचान हुने गरी फोटो वा भिडियो खिच्न पाइँदैन, उसको अनुमतिबिना । कुनै कार्यक्रम वा सेमिनारमा सहभागी हुँदा पनि फोटो वा भिडियो खिच्नुपरेमा कार्यक्रमपूर्व नै मौखिक वा लिखित नै अनुमति मागिँदो रहेछ । कुनै व्यक्ति वा संस्था तथा निकायले नागरिकको सूचना संकलन गर्दा व्यक्तिगत गोपनीयताको पूर्ण ज्ञारेन्टी गरिएको विश्वास दिलाउनुपर्दाे रहेछ ।
विद्यालयमा विद्यार्थीको नतिजा समेत स्वयं विद्यार्थी र अभिभावकको अनुमतिविना सार्वजनिक रूपमा प्रकाशन गर्न नपाइँदो रहेछ, ताकि अरुभन्दा म जान्ने वा कमजोर छु भन्ने भावना विद्यार्थीमा नहोस् र उसको व्यक्तित्व वा मानसिकतामा असर नगरोस् ।
जापानमा व्यक्तिगत सूचना संरक्षण ऐनले व्यक्तिको गोपनीयतालाई पूर्ण संरक्षण गरेको छ, त्यसको पूर्ण कार्यान्वयन गरिएको छ ।
- सार्वजनिक पार्क, आधुनिक शौचालय र ‘भेन्डिङ मेसिन’
सहरीकरणको आधारभूत आवश्यकता भनेको तिर्खा लाग्दा पानी, ट्वाइलेट लाग्दा शौचालय र थकाइलाग्दा बस्ने ठाउँ हो । सबैजसो विकसित देशमा यो सुविधा हुन्छ । जापानमा भने यी सुविधा निकै व्यवस्थित गरिएका छन् ।
सहरीकरणको एउटा सौन्दर्यका रूपमा र मानिसलाई सामाजिकीकरण गराउने थलोको रूपमा ठाउँ–ठाउँमा साना–ठुला पार्क बनाइएका छन् । सार्वजनिक पार्कलाई बालबालिका मैत्री, अपाङ्गमैत्री तथा वृद्धवृद्धामैत्री बनाइएको छ ।
जापानका शौचालय विश्वमै आधुनिक र सफाइका हिसाबले उत्कृष्ट मानिन्छन् । व्यस्त ट्रेन स्टेसनदेखि सार्वजनिक ठाउँहरूमा रहेका शौचालयमा लोभलाग्दो सरसफाइ देखिन्छ । सेन्सरबाट चल्ने गरी शौचालयको आधुनिकीकरण गरिएको छ ।
देशभरि लाखौँ संख्यामा भेन्डिङ मेसिन रहेका छन् । जहाँबाट तातोचिसो पानी, चिया तथा कफी, जुस, आइसक्रिम तथा रामेन, स्यान्डविच, वेन्तोबक्स, चक्लेटजस्ता खानेकुरा पैसा तिरेर निकालेर खान सकिन्छ । सहरसँगै देशका कुनाकाप्चामा रहेका यस्ता भेन्डिङ मेसिन २४ सै घन्टा खुला रहन्छन् ।
- साइकल
युरोपका देशबाट भित्रिएको साइकल ( जापानी भाषामा जितेन्सा) संस्कृति जापानी नागरिकको पनि जीवनको अभिन्न अंग बनेको छ ।
सबै उमेर समूहका मानिसले छोटो दुरीका लागि साइकल नै प्रयोग गरिरहेको देखिन्छ । पछाडि बच्चा बोक्न मिल्ने र अगाडि ‘ग्रोसरी’ समान बोक्न मिल्ने गरी बनाइएका ‘मामाचारी’ भनिने साइकल सबैभन्दा बढी प्रचलित छ ।
साइकलमैत्री सडक तथा पूर्वाधार र आधुनिक पार्किङ सुविधाका कारण समेत मानिसहरु साइकल चलाउन मन पराउँछन् । घुम्न जाने पर्यटकले साइकल भाडामा लिएर समेत प्रयोग गर्न पाउने सुविधा छ ।
रुखले हामीलाई हाम्रो जीवनभर अक्सिजन दियो, वातावरण सुन्दर बनायो, पर्यावरण जोगायो, त्यसैले बुढो रुखलाई पनि हामीले जोगाउनुपर्छ । बुढो र कमजोर रुखलाई घामपानी र किराबाट जोगाउनुपर्छ भनेर टेको लगाइदिने तथा कपडाले बेर्ने संस्कार यहाँका मानिसमा छ ।
भूकम्प, सुनामी तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिका बेला अवरुद्ध हुने सडक तथा आवजावतमा साइकल नै प्रयोग गर्न सकिने भएकाले समेत साइकललाई विपत् पूर्वतयारी साधनका रूपमा घरमा राखिँदो रहेछ ।
- बुलेट ट्रेन
जापानको यातायात प्रणाली संसारकै सबैभन्दा सुविधाजनक मध्येको मानिन्छ । यहाँका मुख्य सहरभित्र सुविधासम्पन्न र आधुनिक मेट्रो ट्रेनको सुविधा छ ।
दक्षिणमा नागासाकीदेखि उत्तरको होकाइडो र पूर्वको टोकियोदेखि पश्चिमको निगातासम्म चारैतिरका प्रमुख सहरमा ‘सिन्कान्सेन’ भनिने बुलेट ट्रेनद्वारा जोडिएका छन्, जुन प्रतिघन्टा ३०० किमिभन्दा बढी दौडिन्छन् ।
अन्य रेल प्रणाली समेत छन्, जसले सहर र सहरबाहिरको भाग तथा सिटी र नगरलाई जोड्छन् ।
मुख्य सहरहरू (टोकियो, नागोया, क्योतो, ओसाका, फुकुओका आदि) मा निकै सुविधासम्पन्न र आधुनिक ‘मेट्रो सब–वे’को सञ्जाल छ । बाहिरी सडकमा भन्दा निकै ठुलो चहलपहल र भिडभाड जमिनमुनिका ६–७ तलासम्म फैलिएका ‘सब–वे मेट्रो’हरूमा हुन्छन् । यी सबै मेट्रो सञ्जालको एउटा चाखलाग्दो विशेषता के छ भने भवितव्य परेको अवस्थामा बाहेक कुनै पनि ट्रेनहरू एक मिनेट पनि ढिला नगरी तोकिएकै समयमा स्टेसन वा गन्तव्यमा पुग्छन् । ट्रेन सञ्जालबाहेक सहरका बाहिरी भाग जोड्न तथा सहरभित्रकै ट्राफिक चाप घटाउन अत्याधुनिक सार्वजनिक बस सुविधा छन् ।
मुख्य सहरलाई ट्रेन सञ्जालसँगै राष्ट्रिय राजमार्गले जोडेका छन् । सार्वजनिक यातायातलाई ‘रियल टाइम’मा आधारित कम्प्युटर प्रणालीमा आबद्ध गरिएको छ, जसका माध्यमबाट बस तथा ट्रेनको समय तालिका, भाडादर, गन्तव्यमा पुग्न लाग्ने समय लगायत कुरा मोबाइल एपमा हेर्ने सुविधा छ । जसले नागरिकको यात्रालाई निकै सजिलो बनाएको छ ।
- उत्कृष्ट फोहोर व्यवस्थापन
जापान फोहोर उत्सर्जनका दृष्टिकोणले विश्वमै अगाडि रहेको देश हो, तर व्यवस्थापन भने निकै राम्रो, उदाहरणीय र उत्कृष्ट छ । नगरपालिका वा प्रान्त अनुसार फोहोर व्यवस्थापन गर्ने वा वर्गीकरण गर्ने छुट्टाछुट्टै नियम हुँदो रहेछ । त्यसैले विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीलाई फोहोर वर्गीकरण कसरी गर्ने भनेर सुरुमा अभिमुखीकरण तालिम दिइन्छ । हामीलाई पनि पुरै एक दिन यससम्बन्धी अभिमुखीकरण दिइएको थियो ।
कुहिने र नकुहिने छुट्ट्याएर नकुहिने फोहोरलाई पनि चार–पाँचवटा वर्गमा विभाजन गरी छुट्टाछुट्टै पोका बनाएर तोकिएबमोजिमको झोला (फोहोर फाल्ने झोला सुपरमार्केटमा किन्न पाइन्छ)मा मात्रै फाल्नुपर्छ ।
बच्चाबच्चीलाई विद्यालय भर्ना हुनुभन्दा पहिले प्रि–स्कुल (३–६ वर्षको उमेर) तहमै फोहोर छुट्ट्याउने र व्यवस्थापन गर्ने तरिका सिकाइन्छ । मानिसले आफूले सिर्जना गरेको फोहोर तोकिएको फोहोर फाल्ने ठाउँ नभेटेमा आफ्नै झोलामा बोकेर हिँड्छन् र घरमै लगेर व्यवस्थापन गर्छन् । बाटोमा वा सार्वजनिक स्थलमा कसैले फोहोर नै नगरेपछि सफा गर्नैपरेन । त्यसैले कैयौँ ठाउँमा कैयौँ दिनसम्म बाटोमा सफाइकर्मी देख्न मुस्किल पर्छ ।
कुकुर पाल्नेहरूले कुकुर डुलाउँदा कुकुरसँगै झोला र पानी पनि बोक्छन्, ताकि कुकुरले फोहोर गरिहालेमा टिपेर घरमा लान्छन् भने फोहोर गरेको ठाउँमा पानीले पखाल्छन् । कसैले त कुकुरलाई डाइपर समेत लगाइदिएको देखिन्थ्यो । यस किसिमको उत्कृष्ट फोहोर व्यवस्थापन सरकारको एकल प्रयासबाट मात्रै सम्भव भएको होइन, नागरिकको अनुशासनले यो सम्भव भएको हो ।
- हुलाकदेखि एआईसम्मको प्रयोग
कुनै पनि सेवा प्राप्तिका लागि प्रक्रिया पुर्याउनु, कागजपत्र पेस गर्नु, समय लाग्नु स्वाभाविक हुन्छ तर सार्वजनिक सेवा लिन कार्यालय गएपछि निराश भएर फर्कनुनपर्ने रहेछ जापानमा । किनकि सेवा प्रवाह अनुमानयोग्य छ । कार्यालयबाट प्राप्त हुनुपर्ने कतिपय कागजपत्र तथा चिठीपत्र, सूचनाजस्ता सेवा सबै हुलाकमार्फत घरमै आउँछन् । जापानमा परम्परागत हुलाकलाई आधुनिकीकरण गरेर सेवा प्रवाहसँग जोडिएको छ, जसले प्रत्येक घरघरमा सेवा पुर्याउँछ ।
ठुलो हलमा आवश्यक स्रोतसाधनसहित कर्मचारी बसेका हुन्छन्, जसले गर्दा कर्मचारी खोज्दै छुट्टाछुट्टै कोठामा धाइरहनुपर्दैन । एउटा काम सामान्यतया एउटै डेस्कबाट सम्पन्न हुँदो रहेछ ।
‘सेवामैत्री संस्कार र संस्कारमैत्री कर्मचारी’ जापानी सेवा प्रवाहको विशेषता नै रहेछ । बाहिरबाट आएकामध्ये जुन देशका नागरिक बढी छन्, उनीहरुका लागि उनीहरुको भाषा जान्ने कर्मचारी राखिएको हुन्छ । कतिपय जापानी कम्पनी तथा सरकारी कार्यालय र बेवसाइटले त आजभोलि नेपाली भाषामा पनि सेवा दिन सुरु गरेका रहेछन् । विभिन्न तरिकाद्वारा सकेसम्म सेवा प्रवाहलाई सरल बनाउन खोजिँदो रहेछ ।
पछिल्लो समय सेवा प्रवाहमा आधुनिक प्रविधि तथा एआईको प्रयोग बढ्दै गएको छ । केही सेवा पूर्णरूपमा प्रविधिमैत्री बनाइएको छ । उदाहरणका लागि कुनै पनि नागरिक कर तिर्नका लागि कार्यालयमा धाउनुपर्दैन । मलाई पढाउने एकजना प्राध्यापक भन्दै हुनुहुन्थ्यो— ‘आफ्नो कर तिर्न आफैँ कर कार्यालय जान नपाउनु मेरा लागि दुःखको कुरा हो ।’ यस्ता सुविधा साँच्चै नै अनुकरणीय लाग्छन् ।
जापानका सरकारी निकाय तथा कम्पनीले आफ्नो निर्णय प्रक्रियामा दुईवटा रणनीति अपनाउँदा रहेछन् । जापानी भाषामा यी रणनीतिलाई ‘नेमावासी’ र ‘गोसेचुमाई’ भनिन्छ । कुनै पनि विषयमा निर्णय गर्नुपूर्व अनौपचारिक रूपमा सम्बन्धित पक्ष तथा सरोकारवालासँग निकै गहन छलफल तथा अन्तक्र्रिया गरेर निर्णय वा सहमति गरिन्छ, जसलाई ‘नेमावासी’ भनिन्छ । अनौपचारिक छलफलबाट टुङ्गिएको सहमतिलाई औपचारिक बैठक बसेर सबैको एकमतमा निर्णयको रूप दिइन्छ, जसलाई ‘गोसेचुमाई’ भनिन्छ ।
अनौपचारिक रूपमै गहिरो छलफल गरिने हुँदा औपचारिक निर्णय गर्न समय लाग्दैन । जब नेमावासी र गोसेचुमाईमार्फत निर्णय गरिन्छ, तब निर्णयको पूर्ण पालना गरिन्छ । यो प्रक्रियाका कारण जापानको सेवाप्रवाहमा नागरिकको अपनत्व समेत देखिँदो रहेछ ।
- छैन विपतको डर
भूकम्प, बाढी–पहिरो, सुनामी तथा आगलागीजस्ता प्राकृतिक विपतको उच्च जोखिममा रहेको देश हो जापान । भूकम्पीय हिसाबले त जापान निकै जोखिमयुक्त छ । बर्सेनि हजारौँ संख्यामा साना ठुला भूकम्प गइरहन्छन् । निकै जोखिम हुँदा पनि नागरिकमा ठुलो डर र त्रास भने देखिँदैन । राज्यले पनि भूकम्प तथा अन्य विपत्तिलाई निकै ठुलो चुनौतीका रूपमा लिएको देखिँदैन, किनकि विपतसँग जुध्नका लागि पूर्वतयारी निकै राम्रो छ । यसमा नागरिकको पनि निकै ठुलो साथ देखिन्छ ।
सय वर्षअगाडि सन् १९२३ मा टोकियो नै ध्वस्त बनाउने गरी आएको ‘ग्रेट कान्तो’ भूकम्प होस्, वा २०११ मा गएको भूकम्प, पछि ‘फुकुसिमा न्युकिलियर पावर प्लान्ट’लाई समेत क्षति गर्ने गरी आएको सुनामी होस्, वा १९९५ मा ‘कोबे’ सहरलाई ध्वस्त बनाउने गरी गएको ‘ग्रेट हान्सिन’ भूकम्प होस्— जापानले इतिहासबाट सिक्दै र आफूलाई सुधार गर्दै आएको छ । कोबे भूकम्पपछि त देशभर उद्धार, राहत र पुनस्र्थापनामा स्वतस्फूर्त रूपमा ‘स्वयंसेवक मुभमेन्ट’नै चल्यो ।
सरकारी निकाय मात्रै होइन निजी क्षेत्र, सार्वजनिक सञ्चार–माध्यम र विश्वविद्यालयजस्ता सबै क्षेत्रको सहकार्य राम्रो देखिन्छ । अर्काेतिर विद्यालयको प्रारम्भिक तहमै भूकम्प, आगलागी, बाढी–पहिरोजस्ता विपत्तिबाट कसरी जोगिने र यस्तो अवस्थामा के गर्ने, नगर्ने भन्ने सम्बन्धमा निकै राम्रो प्रशिक्षण प्रदान गरिन्छ । जसका कारण मानिसले पूर्वतयारी गरी विपत् आउँदा नडराईकन सुरक्षित हुन सक्छन् । प्रत्येक नागरिकले पनि विपतका बेला राज्यले दिएका निर्देशनको पूर्ण र अक्षरशः पालना गर्छन् । राज्यले पनि विपतको उद्धार तथा क्षति रोकथामका लागि सक्षम जनशक्ति, यन्त्र–उपकरण र आधुनिक प्रविधिमा निकै ठुलो लगानी गरेको देखिन्छ ।
- एक गाउँ एक उत्पादन
जापानमा सन् १९७९९ देखि ओइता प्रिफेक्चरबाट ‘एक गाउँ एक उत्पादन’ अभियान सुरु भएको थियो । अहिले यो देशभरि फैलिएको छ । अधिकांश सहर तथा ठाउँहरूको कृषिजन्य उत्पादन, खाद्यान्न तथा वस्तुहरूमा कुनै न कुनै आफ्नै परिचय छ र त्यसलाई निकै गजबले बजारीकरण र प्रचार–प्रसार गरिएको छ । विदेशी पर्यटकलाई तिनै स्थानीय उत्पादन प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ ।
जापानी मदिरालाई यहाँको भाषामा ‘साके’ भनिन्छ । यो जापानको स्थानीय उत्पादन हो । जापानमा यो यति धेरै प्रसिद्ध छ कि मदिरा उत्पादनसँग सम्बन्धित ठुल्ठुला विदेशी कम्पनीका ‘ब्रान्डेड’ उत्पादनसँग यहाँको साकेले सजिलै प्रतिस्पर्धा गर्छ, त्यो पनि उच्च मूल्यमा । यसको एउटा कारण के पनि रहेछ भने जापानीहरू आफ्नो देशमा उत्पादन भएको सामग्री प्रयोग गर्न पाउँदा निकै गौरव महसुस गर्र्छन् र केही महँगो मूल्य परे पनि आफ्नै उत्पादन प्रयोग गर्छन् ।
- सक्रिय जीवन : लामो आयुको रहस्य
जापानीहरू संसारभरि नै लामो आयु हुने नागरिकका रूपमा चिनिन्छन् । गुणस्तरीय र सन्तुलित भोजन, नियमित व्यायाम, माछा तथा सामुद्रिक खाना र ताजा तरकारी तथा फलफूलको बढी प्रयोग, ‘ग्रीन–टी’को नियमित सेवन, सुत्नुअगाडि तातोपानीमा बस्ने चलन लगायत कारण जापानीहरू लामो आयु बाँच्छन् । पेसाबाट अवकाश वृद्धवृद्धा पनि खाली बस्दैनन् । घरमा केही कामै भएन भने पनि नजिकैको पार्क वा सार्वजनिक सडकमा निस्किएर सरसफाइ गर्ने, खसेका पात टिप्नेजस्ता काम गर्छन् । ८०–९० वर्षको उमेरमा समेत साइकल चलाएरै घुम्न निस्कने, किनमेल गर्न सुपरमार्केट जाने गर्छन् ।
कतिपय नागरिकले आफ्नो अवकाश समयलाई कृषि पेसामा संलग्न गराई आफूलाई सक्रिय राखेको देखिन्छ । यसै वर्ष अवकाश हुँदै गरेका मेरा प्रोफेसरलाई मैले एकपटक सोधेको थिएँ— अवकाशपछि के गर्ने सोचमा हुनुहुन्छ ?
उनको जवाफ थियो— घर फर्केर कृषि पेसामा संलग्न हुन्छु होला ।’
त्यसैले लामो आयु जापानीको ‘जिन’ होइन रहेछ, यो उनीहरूको सक्रिय जीवनशैलीको रहस्य रहेछ ।
- प्रकृतिसँग रमाऔँ
जापानी भाषामा ‘मनोनोअवारे’ र ‘वाबिसाबी’ भन्ने दुईवटा शब्दले विशेष अर्थ राख्छन् र जापानी ती दुईवटा शब्दलाई जीवनको अभिन्न अंगका रूपमा लिएर अगाडि बढ्छन् ।
जीवनमा कुनै पनि कुरा स्थायी छैन, क्षणभंगुर छ । जे छ त्यसैमा रमाउन सक्नुपर्छ । साथै, जीवनमा कुनै पनि कुरा पूर्ण हुँदैन, तर त्यही अपूर्णताभित्र जीवनको सुन्दरता लुकेको हुन्छ भन्ने अर्थ दिन्छन्, यी शब्दहरूले । त्यसैले जापानीहरू आफ्नो जीवनलाई वसन्तमा ढकमक्क फुल्ने साकुराको जीवनचक्रसँग तुलना गर्छन् । मानिसको जीवन पनि साकुराको फूलजस्तै निकै सुन्दर छ, तर क्षणभङ्गुर छ । जीवनको यही वास्तविकतालाई बुझेर जापानीहरू जीवनका प्रत्येक पल बाँच्ने प्रयास गर्छन् ।
वसन्त ऋतुमा साकुराको बोटमुनि बसेर घर–परिवारका सदस्य तथा साथीभाइहरू भेला भई उमंगपूर्ण उत्सवको रूपमा ‘हानामी’ अर्थात् साकुरा पर्व मनाउने चलन पनि प्रकृतिप्रेमसँगै सम्बन्धित छ । सरकारले वसन्तको उमंगमा रमाउनका लागि एक साता (गोल्डेन विक) बिदा दिन्छ । जसमा हानामीसँगै अन्य राष्ट्रिय बिदा पर्छन् । यस्तै ग्रिनरी डे (मिदोरी नो ही), माउन्टेन डे (यामा नो ही), तथा ओसन डे (उमी नो ही) मा पनि सार्वजनिक बिदा नै दिएर मानिसलाई प्रकृतिप्रति आस्था राख्ने अवसर दिइन्छ वा त्यस्तो माहोल सिर्जना गरिन्छ ।
रुखले हामीलाई हाम्रो जीवनभर अक्सिजन दियो, वातावरण सुन्दर बनायो, पर्यावरण जोगायो, त्यसैले बुढो रुखलाई पनि हामीले जोगाउनुपर्छ । बुढो र कमजोर रुखलाई घामपानी र किराबाट जोगाउनुपर्छ भनेर टेको लगाइदिने तथा कपडाले बेर्ने संस्कार यहाँका मानिसमा छ । जापानीले फूल, रुख, जंगल, बोटबिरुवालाई निकै माया गर्छन् । प्रकृतिसँगै रमाएर आफ्नो जीवन व्यतीत गर्ने संस्कार जापानीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १ अर्ब ५१ करोड बिगो माग दाबी
-
छविलाल जोशीविरुद्ध ७४ करोडभन्दा बढी बिगो माग दाबी
-
रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो माग दाबी
-
भारतका पूर्वक्रिकेटर रोविन उथप्पा भन्छन्– ‘म निर्दोष छु’
-
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन
-
जनकपुर बोल्ट्सका समर्थकमाथि नश्लीय व्यवहार गर्नेलाई कारबाही गर्न थापाको माग