शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

शनिबार, १० कात्तिक २०८१, १८ : १७
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

  • सिराहा, लहान नगरपालिका-११ पडरिया चोकस्थित सडकमा स.९ प ८८१० नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको मोटरसाइकलले शुक्रबार दिउँसो ठक्कर दिँदा स.९ प ८८१० नम्बरको मोटरसाइकल चालक बरियारपट्टी गाउँपालिका-२ बस्ने ४० वर्षीय प्रितमलाल साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ठक्करमा संलग्न हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ । 
  • दाङ, लमही नगरपालिका-७ नयाँबस्तीस्थित सडकमा लु.३१ प ४१५४ नम्बरको मोटरसाइकल भे.१ त ४१५६ नम्बरको ट्याक्टरसँग ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ भैसकुमरा बस्ने ३१ वर्षीय हेमन्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडकमा रा.१ ज ८२२ नम्बरको डवल क्याप जिप सडकबाट करिब ३ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक दंगिशरण गाउँपालिका-४ बैबाङ बस्ने २२ वर्षीय हिरामणी बुढामगर र जिपमा सवार सल्यान कपुरकोट गाउँपालिका-६ बस्ने १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि नर्सिङ होम नेपालगन्ज रिफर गरिएको छ । 
  • कास्की, पोखरा महानगरपालिका-८ नागढुङ्गास्थित सडकमा लु.८० प २९७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । 
  • कपिलवस्तु, बाणगंगा नगरपालिका-७ बनगाइस्थित सडकमा रा.१ क ७०१ नम्बरको क्रेनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ८० वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको युनाइटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप