शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

‘प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन असफल’

शनिबार, १० कात्तिक २०८१, १६ : ४४
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री ओली नेतृत्वको सरकार अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउनमा असफल रहेको बताएका छन् । आजपाको ललितपुर जिल्ला कमिटीले शनिवार आयोजना गरेको जिल्ला भेला एवं दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन र भारतसँग पनि प्रधानमन्त्री ओलीले नेपालसँग सम्बन्ध बिगारेको दाबी गरेका हुन् ।

उनले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्धमा केपी ओली बेपत्ता हुनुभयो, गुमनाम हुनुभयो । भारत र चीनले भ्यालु नै दिएनन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले न सम्मान दिनुभएको छ र भ्रमणको निम्तो, चीनले पनि बेवास्ता गरेको छ ।’

नेपाली जनताबाट बहिष्कृत भइसकेको प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई विदेशी शक्तिको पनि साथ र समर्थन नदिएको उनले दाबी गरे ।

यो सरकारले देशलाई आर्थिक सङ्कटमा लगिसकेको बताउँदै उनले राष्ट्र र जनतालाई ऋणको भारी बोकाउने, देशलाई पछि धकेल्ने काम मात्रै गरेको दाबी गर्दै अध्यक्ष साहले शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्नु ‘नाजीवादी’ सोच भएको टिप्पणी गरे ।

न्यायको माग गर्दै सडकमा प्रदर्शन गर्ने जनतालाई राजाको शाही शासन जस्तो दमन गर्न खोज्नु भनेको पतनको बाटो रोज्नु भएको टिप्पणी गर्दै उनले मदन भण्डारीलाई अपमान गर्न मदनगरमा पार्टी कार्यालय नबनाएर विवादित व्यवसायीसँग अरबौँ रुपैयाँमा जग्गा दान लिने र भवन बनाउन तम्सिनु पनि अपराध भएको दाबी गरे ।

सबै हिसाबले एमाले र यसको नेतृत्व सरकार पतनको बाटोमा रहेको दाबी गर्दै उनले भ्रष्टहरूसँगको साँठगाँठले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एमाले) दुवै गन्हाइसकेको टिप्पणी गरे ।

आफूले गरेको कुकर्मका कारण जनता सडकमा उर्लिएर प्रधानमन्त्री ओलीलाई हटाउने पक्का भएको आभास भएपछि सडकबाट विकल्प खोजिए ठिक हुँदैन भनेर धम्क्याउने कार्य गरेको अध्यक्ष साहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप