कैलाश मानसरोवरको १३ दिने यात्रा
हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर ताल पश्चिम तिब्बतको हिमालय पर्वत मालामा अवस्थित छ ।
हिन्दु धर्ममा कैलाश र मानसरोवर भगवान् शिवजीको वासस्थानका रूपमा पारिचित एकदमै अद्भुत आध्यात्मिक स्थल हो । आराध्य देव महादेव र माता पार्वतीको वासस्थान कैलाश पर्वत कमलको फूलझैँ ६ वटा हिमशृंखलाका बिचमा अवस्थित छ ।
विष्णु पुराणका अनुसार रुबी, नीलम, स्फटिक र स्वर्ण चार मुख भएको पर्वत पनि कैलाश हो । यस पवित्र भूमिमा सदियौँदेखि देवगण, राक्षसगण, ऋषिमुनि हुँदै ओमकार परिवारका अनगिन्ती तपस्वीले अलौकिक शक्ति र मोक्ष प्राप्त गरेका छन् । जुन कुराको उल्लेख महाभारत, रामायण र विष्णु पुराणजस्ता धार्मिक ग्रन्थमा समेत पाइन्छ ।
कैलाश पर्वत एसियाकै सबैभन्दा शक्तिशाली र विशिष्टताले भरिएको हिमालय पर्वत हो । विशेषतः एसिया प्रायद्वीपमा मानव सभ्यताको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिइरहेका प्रसिद्ध नदीहरू (पूर्वतर्फ ब्रह्मपुत्र, पश्चिमतर्फ सतलज, उत्तरतर्फ सिन्धु र दक्षिणतर्फ कर्णाली)को उद्गमस्थल समेत हो, कैलाश पर्वत । यस पर्वतनजिकै रहेको मानसरोवर तालबाट निस्किएको ब्रह्मपुत्र नदीभारतको अरुणाञ्चल हुँदै बंगालको खाडीमा मिसिन्छ ।
कैलाश पर्वत राक्षस ताल हुँदै बग्ने अर्को नदी हो, सतलज । सतलज नदी नेपाल–अङ्ग्रेज युद्ध हुनु अघिसम्म पश्चिमी नेपालको सिमानाजस्तै थियो । सुगौलीसन्धिमार्फत इस्ट इन्डिया कम्पनी सरकारलाई स्वामित्व हस्तान्तरण गरेपछि यो नदीले नेपाल नछोई भारत पाकिस्तान हुँदै अरब सागरमा गएर मिसिन्छ । कैलाश पर्वतलाई कमलको फूलझैँ घेरेका ६ वटा हिमशृंखलामध्येको ‘माप्चोचोङ्गो’ नामको होँचो हिमालबाट निस्केर मानसरोवर ताललाई रक्षा गर्न बनेको रक्षक ताल (जसलाई राक्षस ताल पनि भनिन्छ)सँगै रहेको मयुरको मुखबाट कर्णाली नदीको उत्पत्ति भएको पाइन्छ । नेपालको मुगु, बाजुरा, हुम्ला, कालीकोट, दैलेख, अछाम, सुर्खेत, कैलाली हुँदै भारत पस्ने नदी रारातालको पनि उद्गम नदी हो । कर्णाली नदीलाई भारतमा घाँघरा नदी भनिन्छ । सिन्धु नदीको उत्पत्ति कैलाश पर्वत हिमशृंखलासँगै रहेको मानसरोवर तालको सिन्क–बारा पानीको धारालाई मानिन्छ । एसियाको लामो र पाकिस्तानको राष्ट्रिय नदी सिन्धु तिब्बत जम्मु कस्मिर हुँदै अरब सागरमा गएर मिसिन्छ ।
अतिरिक्त सुविधा लिने हो भने पूर्वसूचना दिएर यमद्वार–दिरापुक गाडी, दिरापुक–डोमाला घोडा र ओरालो पैदल झरिसकेपछिको स्थानबाट जुतुलपुक होटलसम्म गाडीको व्यवस्था पनि गर्न सकिन्छ ।
समुद्र सतहदेखि ६,६३८ मिटरको उचाइ र ५२ किमि परिधिमा फैलिएको कैलाश पर्वत आकाश र धर्तीबिचको सम्बन्ध बिन्दु र पृथ्वीको केन्द्रबिन्दु रहेको मान्यता छ । कैलाश मानसरोवर क्षेत्र जहाँबाट ओमकार ध्वनि प्रादुर्भाव भई विश्व आध्यात्मिक जगत्लाई निर्देशित गर्दछ भन्ने मान्यता छ । शास्त्रीय कथन अनुसार ॐ ध्वनि भगवान् शिवजीको मुखबाट निस्किएको र विज्ञानले पनि कैलाश मानसरोवरमा प्रकाश तरङ्गको र ध्वनि तरङ्गको संगम भई ओमकार ध्वनिको प्रादुर्भाव भएको कुरा स्वीकार गरेको छ । जुन कैलाश मानसरोवर क्षेत्रमा अहिले पनि सूक्ष्म श्रवण गर्न सकिने हुनाले कैलाश पर्वतलाई ओमकारको उद्गमस्थल पनि मान्न सकिने प्रशस्त आधार छन् ।
कैलाश पर्वतलाई १२ पटक प्रदक्षिणा गर्दा पछिल्लो जन्मसहितको पाप समेत नाश हुने र १०८ पटक प्रदक्षिणा गर्दा मानव जीवनबाटै मोक्ष (निर्वाण) प्राप्त हुनेछ भन्ने पौराणिक मान्यता रहेको छ । कैलाश पर्वत हिन्दुहरूको मात्र पवित्र धार्मिक स्थल नभई बौद्ध, जैन र सिख लगायत ओमकार परिवारको पवित्र तपोभूमि रहँदै आएको छ । कैलाश पर्वतलाई बौद्ध धर्मावलम्बी खाङरिन्पोछे र जैन धर्मावलम्बीहरू मेरु पर्वतका नामले पुकार्ने गर्छन्, जैन धर्मका पहिला तीर्थकर र सिख धर्मका गुरु नानकले पनि यही भूमिबाट कठिन तपस्या गरी मोक्ष प्राप्त गरेका थिए । आज पनि डोमाला क्षेत्रका ओडारबाट धेरै तपस्वीले गुञ्जायमान गराएको ओमकार ध्वनि सुन्न सकिन्छ ।
समय रह्यो भने घुम्नका लागि कैलाश मानसरोवर तालनजिकै रहेको राक्षस ताल, भष्मेश्वर लगायत महत्त्वपूर्ण स्थान पनि छन् । कैलाश परिक्रमाको हकमा अझै नजिक पुग्नका लागि भित्री कोरा (तिब्बती भाषामा परिक्रमालाई कोरा भनिन्छ)र नन्दी दर्शन गर्न हिउँको बाटोबाट क्लाइम्बिङ गर्दै जाने व्यवस्था पनि रहेछ । ११औँ शताब्दीका बौद्ध धर्मगुरु मेलारोपाले तान्त्रिक शक्तिमार्फत प्रकाश रूप भई कैलाश पर्वतमा पुगेका थिए, त्यहाँबाट फर्किएपछि पनि उनले त्यहाँको रहस्यका बारेमा केही नबोली बिदा भए भन्ने कथनबाहेक अहिलेसम्म कैलाश पर्वतको आरोहण कसैले गर्न सकेको छैन ।
कैलाश पर्वतको काखमा रहेको मानसरोवरमा विशेष गरेर जनैपूर्णिमाको मेला भर्ने समयमा बढी भिड हुनेरहेछ । विशाल तिब्बती पठार र कैलाश हिमशृंखलाका बिचमा अवस्थित पवित्र एवं मनमोहक यो सरोवर १२० किलोमिटर परिधिमा फैलिएको छ, जसको परिक्रमा गाडीबाटै गर्नुपर्ने हुन्छ ।
आर्थिक हिसाबले खान–बस्न र यातायातका लागि एक लाख ४० हजार रुपैयाँ ट्राभललाई बुझाएर मानसरोवर आउन सकिन्छ । तर हिमाली यात्रामा आवश्यक पर्ने लत्ताकपडा र भइपरी आउने खर्चका लागि साट्नुपर्ने चाइनिज पैसाले गर्दा झन्डै दुई लाख रुपैयाँको जोहो गर्नुपर्ने रहेछ ।
यातायातको सुविधा नहुँदा काठमाडौँदेखि तीन–चार महिना पैदलयात्रा गरेर कैलाश मानसरोवर परिक्रमा गरेका थुप्रै अग्रजहरू यो संसारबाट बिदा भइसकेका छन्, आज अवस्था फेरिएको छ । सामान्यतया काठमाडौँबाट रसुवागढीको बाटो कैलाश मानसरोवर पुगेर आउन १० रात ११ दिनको समय भए पुग्ने रहेछ । आर्थिक हिसाबले खान–बस्न र यातायातका लागि एक लाख ४० हजार रुपैयाँ ट्राभललाई बुझाएर मानसरोवर आउन सकिन्छ । तर हिमाली यात्रामा आवश्यक पर्ने लत्ताकपडा र भइपरी आउने खर्चका लागि साट्नुपर्ने चाइनिज पैसाले गर्दा झन्डै दुई लाख रुपैयाँको जोहो गर्नुपर्ने रहेछ ।
हामीले ट्राभल एजेन्सीसँग एक लाख ४० हजारमा खरिद गरेको प्याकेजमा भिसा पर्मिट, यातायात, खानपान र वासस्थानको राम्रो व्यवस्थापन गरिएको थियो । हाई अल्टिच्युटबाट बचाउनका लागि जानेबेला हरेक बिहान–बेलुकी आधा चक्की औषधी दिइएको थियो । साना–ठुला तीनवटा झोला, रेनकोट, ज्याकेट र टोपी उपलब्ध गराइएको थियो, साथै दुर्घटनामा घाइते वा बिरामी भएमा एक लाख र मृत्यु भएमा १० लाख रुपैयाँको बिमा सुविधा पनि व्यवस्था गरिएको रहेछ । योसँगै यात्रुलाई आपतकालीन उद्धार, प्रकृति प्रकोपका कारण आकस्मिक बसाइमा बढ्न गएको दिनको खर्च, तोकिएको बाहेकका सुविधा (जस्तै ः ट्याक्सी, घोडा, भरिया) लगायत खर्च यात्रु स्वयंले अतिरिक्त बेहोर्नुपर्ने रहेछ । जुन नेपाली रुपैयाँको हिसाबले निकै महँगो भने पर्न जान्छ ।
यात्रालाई सहज बनाउन दिइने एलोपेथिक औषधिबाहेक यात्रुहरूको अभ्यासले प्रतिपादन गरेका लसुन, कपुर, टिमुर, बिरेनुन जस्ता सामग्री पनि थोरै मात्रामा बोकेर जाँदा राम्रो हुन्छ । हल्का तर न्यानो ज्याकेट, स्वेटर, टोपी, थर्मकोट, रेनकोट पानी नछिर्ने ट्रेकिङ जुत्ता, लठ्ठी, गगल्स, सन् क्रिम र आफूले नियमित सेवन गर्ने औषधि लैजान भुल्नु हुँदैन । योसँगै भुटे–कुटेको ड्राई फुड, सानो थर्मस, सानो अक्सिजन (२० युआनमा उतै किन्न पाइन्छ) साना–ठुला झोलाहरू (कतिपय सामग्री प्याकेजको खरिदमा आउँछ)को बन्दोबस्त गर्नुपर्ने हुन्छ ।
कैलाश मानसरोवरको यात्रा गर्न असारदेखि असोजसम्मको समय उपयुक्त मानिन्छ । उक्त समयमा थुप्रै ट्राभल एजेन्सीले सामाजिक सञ्जालमा विज्ञापन पनि गरिरहेका हुन्छन् ।
काठमाडौँ, त्रिशुली, धुन्चे हुँदै स्याफ्रु बेँसीमा बास बसेर हामी भोलिपल्ट चीनको केरुङमा बास बस्न पुग्यौँ भयो । काठमाडौँबाट गएको गाडी सायद चीन छिर्न पाउँदैन होला, त्यसैले बोर्डरपारि हामीलाई चाइनिज बसहरूले कुरिरहेका थिए ।
रसुवागढी नाका छिचोल्नेबित्तिकै खोलाको किनारैकिनार दुई लेन मात्र भएको पिच बाटो आउँछ । बाटोको दायाँ–बायाँ अग्लो भिर र भिरमा भएका जंगल, हाम्रोभन्दा ठिकविपरीत दिशाबाट गुडेका चाइनिज नम्बर प्लेटका गाडीहरूले हामीलाई सुरुमै नौलो अनुभूति गराए ।
केरुङबाट अगाडि बढेपछि भने छुइगोम्पा (मानसरोवरको किनार) र दिरापुक (कैलाश पर्वतको फेदी) बाहेक नयाँ केरुङ, सागा, दार्चेनजस्ता नवनिर्मित सहरमा हाम्रो बसाइँ हुने रहेछ । १,३०० मिटर उचाइ भएको काठमाडौँबाट ६०० उचाइ भएको त्रिशुली हुँदै ५,३०० मिटर उचाइसम्मको यात्रा गाडीमै गरिन्छ भन्दा अचम्म लाग्न सक्छ । ४,८९० मिटर उचाइमा रहेको दार्चेनमा सुविधासम्पन्न होटल छन् । गाडीहरूमा अस्पतालका बिरामीलाई जस्तै अक्सिजन साथै बेड र वाल हिटरको प्रबन्ध गरिएको हुँदोरहेछ ।
पहिलो र बाह्रौँ रात स्याफ्रुबेँसीमा; दोस्रो, तेस्रो, दसौँ र एघारौँ रात केरुङमा; चौथो र नवौँ रात सागामा; पाँचौँ रात मानसरोवरमा; छैटौँ र आठौँ रात दार्चेनमा र सातौँ रात दिरापुकमा बास बसेर तेह्रौँ दिनमा हाम्रो यात्रासम्पन्न भएको थियो ।
दुरीका हिसाबले काठमाडौँ–स्याफ्रुबेँसी १४९ किलोमिटर, स्याफ्रुबेँसी–रसुवागढी २०, रसुवागढी–केरुङ ३६, केरुङ–सागा २५०, सागा–मानसरोवर ४४५, मानसरोवर–दार्चेन ५०, दार्चेन–यमद्वार आठ गरी एकतर्फी गाडीको यात्रा जम्मा ९५५ किलोमिटर हुनेरहेछ । त्यसैगरी यमद्वार–दिरापुक १२ किमि र दिरापुक जुतुलपुक २२ किमि पैदलयात्रा गर्नुपर्छ । कैलाश पर्वतलाई दाहिने पारेर गरिने परिक्रमाको उच्च बिन्दु ५,६३० मिटर उचाइमा रहेको डोमाला पास उकालो पार गरेर ४,७९० मिटर उचाइमा रहेको जुतुलपुक ओरालो झर्नुपर्ने भएकाले यात्राको सबैभन्दा कठिन समय यही दुईदिने पैदलयात्रा हो । यद्यपि अतिरिक्त सुविधा लिने हो भने पूर्वसूचना दिएर यमद्वार–दिरापुक गाडी, दिरापुक–डोमाला घोडा र ओरालो पैदल झरिसकेपछिको स्थानबाट जुतुलपुक होटलसम्म गाडीको व्यवस्था पनि गर्न सकिन्छ ।
पहिलो र बाह्रौँ रात स्याफ्रुबेँसीमा; दोस्रो, तेस्रो, दसौँ र एघारौँ रात केरुङमा; चौथो र नवौँ रात सागामा; पाँचौँ रात मानसरोवरमा; छैटौँ र आठौँ रात दार्चेनमा र सातौँ रात दिरापुकमा बास बसेर तेह्रौँ दिनमा हाम्रो यात्रासम्पन्न भएको थियो ।
बाटोमा आक्कल–झुक्कल देखिने अंग्रेजी अक्षरबाहेक ९९.९९ प्रतिशत अक्षरहरू चिनियाँ र तिब्बती दुई भाषा मात्र देख्न पाइन्छ । पर्यटकीय सहरहरूमा रहेका होटल हुन् या औषधि पसल— सबैतिर अंग्रेजी भाषा प्रतिबन्धजस्तै छ ।
साइकलदेखि बुल्डोजरसम्म ल्यापटपदेखि लिफ्टसम्म, चकलेटदेखि चाउचाउसम्म— सबै उसैका उत्पादन खानुपर्छ । खाद्य सामग्री लत्ताकपडा झनै बाहिरी देशको हुने कुरै भएन । चर्को घाम होस् या पानी, कुनै पनि बेला यात्राका दौरानमा कहीँकतै दुईजना उभिएर गफ गरेको देख्न पाइएन । यसरी हेर्दा चिनियाँ अर्थतन्त्रले अन्तर्राष्ट्रिय जगतसँग प्रतिस्पर्धा गर्न कडा नीति लिएको देखिन्छ ।
हामी सिगात्से त पुगेनौँ, तर नजिकैबाट देख्यौँ । ल्हासाबाट सिगात्सेसम्म रेल आउँदो रहेछ । त्यही रेललाई लुम्बिनी–पोखरा–कुश्मा हुँदै बेनीसम्म पुर्याएर राजनीतिक दलका नेताले भोट खाइसके तर अधिकांश समय हिउँ पर्ने र कठिन भूगोललाई पार गरेर सिगात्सेबाट केरुङ हुँदै काठमाडौँसम्मको ६८५ किलोमिटर दुरीमा रेलमार्ग बनाउनका लागि चीनले ठुलै फाइदाबिना झन्डै ३ खर्ब लगानी गर्लाजस्तो लाग्दैन ।
केरुङबाट ३१ किलोमिटर वर करिब १ किलोमिटर जति बाटो बाढीले क्षतिग्रस्त बनाएका कारण हामीले थप एक दिन केरुङ र एक दिन स्याफ्रुबेँसीमा बास बस्नुपरेको थियो । त्यहाँ नजिकै ढुंगैढुंगाको पहाडी भूगोल भए पनि ३१ किलोमिटर टाढाबाट ढुंगा ल्याएर तटबन्ध निर्माण गरिएको छ । यसले यो प्रस्ट पार्छ कि उनीहरूको प्रकृतिलाई हेर्ने दृष्टिकोण नै भिन्न छ ।
समग्रमा उत्तरी छिमेकी चीन स्वशासित क्षेत्र तिब्बतमा रहेको ओमकार परिवारको आस्थाको धरोहर कैलाश मानसरोवर आध्यात्मिक हिसाबले महत्त्वपूर्ण स्थान हो नै, यसका अलावा तिब्बती वेशभूषा, रहनसहन र प्राकृतिक सौन्दर्यताको आनन्द प्राप्त गर्ने सुवर्ण अवसर पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला मुद्दा ?
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा
-
अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
-
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार
-
भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान
-
करिब १७ प्रतिशतले राजस्व वृद्धि