डोटीमा किबीखेती विस्तार गरिँदै
डोटी । जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ । दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार थालिएको हो ।
किबीका बोटबाट २५ वर्षभन्दा लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यहाँका किसानलाई यसतर्फ आकर्षित गर्न ‘किबी क्षेत्र’ र ‘हिउँदे फलफूल क्षेत्र’ विस्तार कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए ।
दिपायल सिलगढी नगरपालिका–६ का हेमबहादुर मल्लले नौ वर्ष पहिले नौ वटा किबीका बोट लगाएका थिए । तत्कालीन समयमा हालको कृषि ज्ञान केन्द्रको सहयोगमा किबीखेतीको सुरुआत गरेको उनले बताए । दुई रोपनी क्षेत्रफलमा नौ बोट लगाएर खेती सुरु गरेको बताउँदै उनले अहिले खेती विस्तार गरी ४० बोट पुर्याएको जानकारी दिए ।
सुरुका चार वर्ष किबी हुर्काउन समय लागेको भन्दै मल्लले त्यसपछि उत्पदान दिन सुरु भएको बताए । हाल किबी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुन थालेको उनले जानकारी दिए ।
सुरुमा लगाएका प्रतिबोटमा वार्षिक रु ३० देखि ४० हजारको किबी फल्ने गरेको मल्लले बताए । “जिल्लामा पहिलो पटक किबीखेती गरेकोले बजारको समस्या थियो । बिक्री गर्नु पहिले एक/दुई दाना चखाएपछि मात्र खरिद गर्नुहुन्थ्यो”, उनले भने, “अहिले भने माग बाहिरी जिल्लाबाट पनि आउने गरेको छ । उपभोक्ताले घरमै आएर खरिद गर्ने भएकाले बजारको समस्या छैन ।”
किबीखेती गर्दा काँटछाँट र मलजलमा बढी ध्यान दिनुपर्ने मल्लले उल्लेख गरे । काँटछाँटसम्बन्धी ज्ञान नभएमा उत्पादनमा कमी आउने भन्दै ज्ञान केन्द्रले यससम्बन्धी तालिम दिनुका साथै आवश्यक समन्वय गरिरहेकाले किसानलाई खेती गर्न सहज भएको उनको बुझाइ छ । आगामी दिनमा एक सय बोट थप गर्ने योजना रहेको उनले जानकारी दिए ।
जोरायल गाउँपालिका–१ गैराका भास्कर भट्टले पाँच सयबढी बोट लगाएर किबीखेती गरिरहेका छन् । सात वर्ष पहिले सामाजिक सञ्जाल युट्युबमा भिडियो हेरेर किबीखेतीप्रति आकर्षित भएको बताउँदै उनले ६५ बोटबाट खेती सुरु गरेको जानकारी दिए ।
तत्कालीन समयमा कृषि ज्ञान केन्द्रको सहयोगमा ५५ बोट र बाँकी आफ्नो लगानीमा खेती गर्न थालेको भट्टले अनुभव सुनाए । यस वर्षदेखि किबी बिक्री हुने उनले बताए । उले भने, “बारीमा चार क्विन्टल किबी छ, बिक्रीका लागि धनगढीस्थित भाटभटेनीसँग समन्वय भएको छ । यहाँबाट पनि १०/१५ किलोका दरमा माग भइरहेकाले बिक्रीमा समस्या नहुने विश्वास लिएको छु ।”
अर्को वर्षदेखि ५०/६० क्विन्टल किबी फल्ने भट्टले बताए । उनले किबीखेती गरिएको क्षेत्रभित्र विभिन्न किसिमका तरकारी पनि फलाएका छन् । मल्ल र भट्ट जस्तै डोटीमा किबीखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा एक हजारभन्दा बढी किबीका बोट रहेका भन्दै चारवटा फार्म सञ्चालन भइरहेका केन्द्रका प्रमुख अवस्थीले जानकारी दिए ।
जिल्लामा उत्पादित किबीका लागि बजारको समस्या नभएको बताउँदै भण्डारण गर्नुपर्ने अवस्था आएमा डडेल्धुरामा रहेको चिस्यान केन्द्रमा राखिने उनले उल्लेख गरे । केन्द्रले किसानलाई बिरुवा काँटछाँटसम्बन्धी तालिम दिने, औजार उपलब्ध गराउने, बजारीकरणमा समन्वयनलगायत सहयोग गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसुन’जीको १०१औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
अमेरिकी डलरको भाउ स्थिर, युरो, साउदी रियाल, कुवेती दिनारको मूल्य बढ्यो, कसको कति ?
-
आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल