बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

गणतन्त्र र एमालेलाई गिज्याइरहेको दान

शनिबार, १० कात्तिक २०८१, १२ : ११
शनिबार, १० कात्तिक २०८१

‘यदि कुनै देशमा भ्रष्टाचार मुक्त र सुन्दर मस्तिष्कले काम गर्न पाउने हो भने समाजका तीन सदस्यले नै राज्यमा कायापलट ल्याउन सक्छन् । ती हुन– बुवा, आमा र गुरु !’ 

यी वाक्य हुन्– भारतका पूर्व राष्ट्रपति तथा प्रसिद्ध वैज्ञानिक एपीजे अब्दुल कलामका । आफ्नो सादगीपूर्ण जीवनमा विज्ञान र राजनीति दुबैलाई नजिकबाट नियालेका कलामका शब्दले नेपाल र नेपालीसँग मिल्दोजुल्दो दक्षिण एसियाली समाजमा व्याप्त भ्रष्टाचारको आहतबिच सुन्दर कल्पना प्रस्तुत गरेका हुन् ।

सत्ताधारी पार्टी नेकपा (एमाले) ले व्यापारी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय निर्माणका लागि जग्गा दानमा लिने भएपछि चौतर्फी त्यसको आलोचना हुन थालेको छ । कतिसम्म भने उनकै पार्टीका नेताहरूले विवादित व्यापारीको जग्गाले पार्टीका कार्यकर्ता तथा एमालेलाई मत दिने मतदाताको अपमान भएको बताएका छन् । 

तर, एमाले अध्यक्ष तथा देशकै प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचनालाई सम्बोधन गर्नुको सट्टा एमाले पङ्क्तिबाट  आलोचना गर्नेलाई स्पष्टीकरण सोधेका छन् भने पार्टी बाहिरबाट आलोचना गर्नेलाई एमालेको चिन्ता नगर्न सुझाव दिई पठाएका छन् । 

के एमाले अध्यक्ष तथा देशकै प्रधानमन्त्रीले गरेको यो काम सामान्य हो ? ध्यानै दिनै नपर्ने खालको हो ? वा यो विषय चर्चा योग्य पनि छैन ? २१औँ शताब्दीको तेस्रो दशकमा समेत हामी शासकका यस्तै निकृष्ट कृत्यबाट शासित छौँ । 

उनी ती प्रधानमन्त्री हुन, जसले कोभिडको बेलामा आम नागरिक ज्यान जोगाउन सङ्घर्ष गरिरहँदा उनी आफू निकटका व्यापारिक घरानालाई पोस्न भ्रष्टाचारलाई संस्थागत बनाउँदै थिए । त्यसलाई नेपाली जनताले ओम्नी काण्डका रूपमा चिन्छन् । ललिता निवास जग्गा काण्डमा मुछिएका आफ्नै पार्टीका महासचिवलाई जोगाउमा हरघडी प्रयत्नरत रहे । उनी गिरीबन्धु टि–स्टेट भ्रष्टाचारमा प्रत्यक्ष जोडिए । उनी ती प्रधानमन्त्री हुन, जसले दोस्रो पटक प्रधानमन्त्री बनेपछि २६ अर्ब राज्यलाई बक्यौता तिर्नु पर्ने व्यापारीलाई बालुवाटार बोलाएर तिर्नु नपर्ने आश्वासन दिएर पठाए । 

आउनुस् देशभरबाट सत्तापक्षले गर्दै गरेको संस्थागत भ्रष्टाचारका विरुद्ध सँग–सँगै आवाज उठाऊँ । भ्रष्टाचार मुक्त समाज र राजनीतिको परिकल्पना गरौँ ।

यति नै बेला जब उनी पार्टी कार्यालयका लागि लिएको जग्गा विवादमा तानिएका छन् । यति नै बेला पनि काठमाडौँसहित देशभरका जनता बाढीबाट पीडित बनेर आकाशलाई छानो मानेर नेभारेको पात टाउकोमाथि राखेर निदाउने प्रयत्न गर्दै थिए । एमाले पार्टी कार्यालयबाट झन्डै पाँच किलोमिटर पर टिनको छानोमाथि उभिएर देशका नागरिक ज्यान जोगाउन हारगुहार गर्दै थिए देशका प्रधानमन्त्री राहत तथा उद्धारमा ध्यान दिनुको सट्टा बालुवाटारमा भ्रष्टाचारको अभियोगमा जेल यात्रा गरेर आई सकेका मीनबहादुरसँग बालुवाटारमा आफ्नो नाममा आउने जग्गाबारे छलफल गरिरहेका थिए । जति बेला मनोहरा र थापाथली वरपरका जनता बाढीले त्राहिमाम् बनेर आफ्नो ज्यान जोगाई दिन प्रधानमन्त्रीतर्फ आशापूर्ण नजरले हेर्दा थिए उनी आफ्नो पार्टी कार्यालयलाई बाढीले कति क्षति पुर्‍यायो भनेर जायजा दिन च्यासल पुगेका थिए ।

के केपी शर्मा ओली एमाले र मीनबहादुर गुरुङका मात्रै प्रधानमन्त्री हुन ? के देशैभरि बाढी पहिरोले ज्यान गुमाउँदै गरेका नागरिकको भन्दा उनको पार्टी कार्यालयको क्षतिको मूल्य बढी हो ? पक्कै पनि होइन । तर, जण्ड, अहङ्कारी र स्वाँठ मान्छे राज्यको जतिसुकै ठुलो र जिम्मेवार पदमा पुगे पनि उ आफ्नो वास्तविक चरित्र कहिल्यै परित्याग गर्न सक्दैन । दुःखद त्यस्तै व्यक्ति देशका प्रधानमन्त्री बन्न पुगेको छ । र, हामीले यस विरुद्ध आफ्नो आवाजलाई थप सशक्त र दरिलो बनाउनु परेको छ । 

यस्ता व्यक्ति जतिन्जेलसम्म राज्यसत्ताको कुर्सीमा विराजमान हुन्छन्, उनले त्यति नै राज्यको संस्थागत दोहन गरिरहन्छन् । त्यसैले नेकपा (माओवादी केन्द्र) ले आज भ्रष्टाचारको मियोलाई नै प्रहार गर्न, भ्रष्टाचारलाई संस्थागत बनाउने कृत्यका विरुद्ध खबरदारी सभा आयोजना गरेको छ । देशैभर रहनु भएका आम नेपाली जनतालाई भ्रष्टाचार विरुद्धको नेपाल बनाउने खबरदारी सभामा जोडिन आह्वान गर्न चाहन्छौँ ।  

 ००७, ०४६, जनयुद्ध र ०६२/०६३ सालको आन्दोलनसम्म धेरै नेपाली वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएर देशलाई गणतन्त्रसम्म ल्याई पुर्‍याएका हुन् । गणतन्त्र र एमालेलाई नै गिज्याई रहेको मीनबहादुरको जग्गा दान कुनै दान नभएर देशको सबै भन्दा भ्रष्ट व्यक्तिले राज्यलाई तिर्न बाँकी रहेको डेढ अर्ब बराबरको करको रकमबाट जोगिनका लागि एमालेलाई खरिद गरिएको दृष्टान्त हो । अब भावी दिनमा एमाले अध्यक्ष मात्रै होइन सिङ्गो एमाले पङ्क्तिले नै मीनबहादुरको भ्रष्टाचारको रक्षा, बचाउ र समर्थन गर्नुपर्ने हुन्छ । 

अब भावी दिनमा एमाले अध्यक्ष मात्रै होइन सिङ्गो एमाले पङ्क्तिले नै मीनबहादुरको भ्रष्टाचारको रक्षा, बचाउ र समर्थन गर्नुपर्ने हुन्छ ।

कवि प्रोल्लास सिन्धुलियको कवितामा उल्लेख गरेजस्तै ‘गाउँको वृद्धालय’ मा उदास र निराश छन् वृद्ध आमाबुबा । गुरुहरू विद्यार्थी विहीन विद्यालयका ढोकामा उभिएर सूर्यास्तको प्रतीक्षा गरिरहेका छन् । र, नानीहरू नागरिकता बनाउने उमेर पुग्नासाथ पासपोर्ट बोकेर मरुभूमिमा हरियाली उमार्न लाइन लाग्न थालेका छन् । हरेक पुस्ताको त्याग र समर्पणले बोकी ल्याएको परिवर्तनप्रति आकर्षण पैदा हुन छोडेको छ । अखबारका पानाहरू सत्तारुढ दलले दिनदहाडै खुल्लमखुल्ला भ्रष्टाचार गरेका खबरले भरिएका छन् । यी सबैका पछाडि एमालेले हुर्काएको भ्रष्टाचारको विष वृक्ष नामक दुष्कर रोग छ ।

मुलुकको कुल ऋण २४ खर्बभन्दा माथि पुगेको छ । राजस्वले चालु खर्च धान्न नसकेर ऋणमार्फत तलब खुवाउनुपर्ने अवस्था आएको दुई वर्ष पुगी सक्यो । बजेटको आकार प्रत्येक वर्ष बढे जस्तो देखिएता पनि पुँजीगत खर्च घटिरहेको छ । पुँजीगत खर्चलाई वित्तीय व्यवस्थापनको खर्चले यसै वर्षको बजेटले जितिसकेको छ । निर्माणाधीन परियोजनाका ठेकेदारले भुक्तानी नपाएर आन्दोलनरत छन् । यी सबैलाई नियन्त्रण गर्नुपर्ने राजनीतिलाई सत्तारुढ दलहरूले नै झनै फैलाउनका लागि मलजल गरिरहेका छन् । 

मानौँ सत्ता भनेको भ्रष्टाचार गर्नैका लागि सृजना भएको हो । त्यसैले पछिल्ला केही वर्षहरूमा भन्दा पछिल्ला केही महिनामै नेपाली राजनीतिको कुरूप तस्बिर सबैले झनै स्पष्ट हुने गरी देखिरहेका छन् । आम नागरिकका आकाङ्क्षामाथि भद्दा मजाक गरिरहेको छ सत्तापक्ष । त्यसैका लागि पनि सचेत नागरिकको तर्फबाट खबरदारी सभा गर्नु अपरिहार्य बन्दै गएको छ । 

आउनुस् देशभरबाट सत्तापक्षले गर्दै गरेको संस्थागत भ्रष्टाचारको विरुद्धमा सँग–सँगै आवाज उठाऊँ । भ्रष्टाचार मुक्त समाज र राजनीतिको परिकल्पना गरौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विशाल खड्का
विशाल खड्का
लेखकबाट थप