साहित्य निजी विचार प्रकट गर्ने साधन हो वा सामाजिक मुद्दा बोक्ने ?
साहित्यकारले लेख्ने विषय आफैैँले चयन गर्ने हो । साहित्यको विषय यो यो मात्रै हुन्छ, यो हुँदैन भन्ने कुनै आधारपत्र अरूले बनाउँदैन । निर्धारित विषयलाई शिक्षण सामग्रीका रूपमा विकास गर्ने प्रयोजनका निम्ति चाहिँ निर्दिष्ट गरिएको हुन्छ । त्यसबाहेक स्वतन्त्र रूपमा सिर्जना गरिने साहित्यको सामग्री साहित्यकार स्वयं नै चयनधारी बनेको हुन्छ । स्रष्टाको अनुभूति र रचनागर्भको उत्प्रेरणाका आधारमा साहित्य रचिन्छ । यो लेखकीय रुचि क्षेत्र र प्रतिभाको स्तरले सिर्जना गर्ने विषय हो । यद्यपि विश्वकै सन्दर्भमा साहित्यको उत्पत्तिदेखि आजसम्म विषय के बनाउने र कसरी प्रस्तुत गर्ने भन्ने बहस प्रत्यक्ष–अप्रत्यक्ष रूपमा चलिरहेको छ ।
नेपाली साहित्यमा भने यसले मूर्तरूप लिएको छैन । साहित्यिक बहसका निर्धारक तत्त्वहरू सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्र नै हुन् । यिनले प्रभाव पारेका आधारमा र साहित्यकारको मनस्थितिजन्य उत्प्रेरणाको प्रभावका आधारमा साहित्यको विषय छानिएको पाइन्छ । साहित्य कस्तो लेख्ने ? के लेख्ने ? कुन विषयगत साहित्यको औचित्य र सान्दर्भिकता रहेको छ ? साहित्यलाई हेर्ने दृष्टिकोण र चयन गर्ने विषयका बारेमा के कसरी बहस गर्ने भन्ने सवालमा पनि पर्याप्त बहस भएको पाइन्न । के यो विषयमा विचार विमर्श तथा छलफल गर्नु आवश्यक छैन र ?
नेपाली साहित्यको सन्दर्भमा कताकति साहित्य रचिएको भनिएको समयमा राजा–महाराजाको हुकुम, आदेश, बिर्ता बाँडफाँड आदेश, सन्दर्भमा बोलिएका वाणी (महावाणी), प्रशासनिक फरफारकजन्य सूचनालाई नै निकटस्थ व्यक्तिहरूले समेटेर लेख्नुपर्ने, शासकीय विचार र मनोविज्ञानभन्दा बाहिर गएर लेख्न नहुने, त्यसरी लेखिएका सामग्रीलाई तिनै शासकको नाममा वा बेनामी बनाएर प्रसारण गर्नुपर्ने प्रचलन थियो । पछि राजनीतिले लिएका मोडहरू जता जान्छ, त्यसैअनुसार साहित्य लेख्ने बहस हुन थाल्यो । त्यसकारण बहसको एउटा केन्द्र राजनीति रहेछ । राजनीति सपार्ने साहित्यको बहस भने हाम्रो परिवेशमा बढी आवश्यक देखिन्छ । त्यो तहमा बहस गर्न सके, हुन सके साहित्यले पनि सही विचारको मागदर्शन बोध गर्दै अघि बढ्छ भने राजनीतिमा देखिएका विकृतिका बारेमा आम मानिसमा सूचना, ज्ञान र विश्लेषण गर्ने चेतना आउँछ ।
साहित्य निजी विचार प्रकट गर्ने साधन हो वा यसले सामाजिक मुद्दाहरू बोक्छ भन्ने विषयमा पक्ष र प्रतिपक्ष नै भएर बहस चलिरहेको छ । साहित्य सामाजिक विषय हो, तर व्यक्तिमा जागृत भएको उत्प्रेरणा र रुचिका आधारमा सिर्जना हुन्छ ।
पृथ्वीनारायण शाहको राज्य विस्तार, एकीकरण र केन्द्रीकरण जे हो, त्यो कार्यावधिमा साहित्य वीररस प्रधान भएर बहस चल्थ्यो भन्ने अध्ययन गर्न पाइन्छ । वीरताले विदेशी आक्रमणबाट बचाउन मनोविज्ञान निर्माण गरेको थियो । त्यसले साहित्यकारमा देशभक्तिको भावना र राष्ट्रप्रेम सम्बन्धी विचारको जागरण पलाएको पाइन्छ, तर त्यो लामो समय टिकेन । राज्य विस्तार अभियान पनि विवादमा पर्यो र अवस्थाले नयाँ मोड लिन थाल्यो । अनुवाद प्रधान साहित्य लेखिएको माध्यमिक युगमा अनुवाद रचनाको विषय, अनुवाद कला, संस्कृत, हिन्दी, फारसी, उर्दु र अङ्ग्रेजी भाषाबाट अनुवाद गर्ने होड, कसको अनुवाद राम्रो छ ? कस्तो अनुवादले अनुवादमा इमानदारी र मौलिकता कायम गरेको छ भन्ने बहस चलायो । पश्चिमी साहित्यमा यसबारे वस्तुगत बहस भएको पाइन्छ । क्रोचेले अनुवादबाट सही साहित्य बन्दैन भन्ने धारणा राखेका थिए । पछि अनुवाद नै साहित्यको बहसको विषय बन्यो । यो बहस पाश्चात्य साहित्यमा विधाकेन्द्रित हुँदै चल्यो र विश्वव्यापी भएर विस्तार भयो । कविताको अनुवाद गर्न सकिन्न भन्ने विचार आयो । शब्दानुवाद मात्रै गर्ने हो भावानुवाद हुन सक्दैन भन्ने बहस चल्यो । आख्यान विधाको अनुवाद सहज हुन्छ भन्ने बहसले बढी मूर्त रूप लियो र आख्यान विधामा बढी अनुवादहरू भए ।
साहित्यमा विषयको बहस बारम्बार चलिरहेको छ । साहित्य निजी विचार प्रकट गर्ने साधन हो वा यसले सामाजिक मुद्दाहरू बोक्छ भन्ने विषयमा पक्ष र प्रतिपक्ष नै भएर बहस चलिरहेको छ । साहित्य सामाजिक विषय हो, तर व्यक्तिमा जागृत भएको उत्प्रेरणा र रुचिका आधारमा सिर्जना हुन्छ । यो सामान्य कुरा मान्न नसकेर केही बहसकर्ताहरू साहित्यलाई व्यक्तिको निजी सुखको निम्ति लेखिने विषय हो भनेर बारबार भनिरहेका छन् । यही विषयले लिएको अर्को बहस हो ः साहित्यमा प्रगतिशीलता । यसले नेपाली साहित्यलाई पनि गरम बहसमा तानेको छ । साहित्य जति सबै प्रगतिशील हुन्छन् भन्ने विचार राख्ने साहित्यकार, विद्वान् भनिएका केही बहसकर्ताहरू मानिसले खान नपाएर रोइरोई मरेका घटनालाई कथा, उपन्यासको विषय बनाउन छाडेर पुराणमा काग र कोइली स्वर्ग जान मीत लगाएको विषयलाई बढी चाखपूर्ण र चलाखीपूर्ण बनाएर कथा हालिरहेका हुन्छन् । काग र कोइलीका कथा नै प्रगतिशील देख्ने र यता छिमेकीले खान नपाएर, बस्न नपाएर, पढ्न नपाएर विदेश गएको र उतै मृत्युवरण गर्न बाध्य भएको कुरालाई भने भाग्यवादको पगरीले सम्बोधन गर्न भ्याएका हुन्छन् ।
यो सामान्य कुरा मान्न नसकेर केही बहसकर्ताहरू साहित्यलाई व्यक्तिको निजी सुखको निम्ति लेखिने विषय हो भनेर बारबार भनिरहेका छन् ।
सबै साहित्य प्रगतिशील हुन्छन् । कुनै नामधारी सिद्धान्तमा प्रगतिशील साहित्य भन्नैपर्दैन भन्ने विद्वान्सँग लामो बहस गर्न मन लागेको छ । धारामा पानी छोएको निहुँमा कुटिएका बालबालिकाको विषयलाई लिएर साहित्य लेख्यो भने समाज भँडुवा, राजनीतिको नारा लेख्ने, समाचार लेखेजस्तो गर्ने, छिमेकीको बच्चाको साहित्य लेखेर पुरस्कार थाप्ने पनि प्रगतिशील छन् भन्ने खिउरी गाउने महोदयहरूसित मलाई उहाँहरूको प्रगतिशील साहित्यमा एकादेशमा जन्मेका ढुङ्गाको बालक अघिल्लो जुनीको तपस्याको फलले सुनको बालक बनेको र पखेटा हाल्दै विश्वभ्रमण गरेको कथामा प्रगतिको परिभाषा खोज्नुछैन । हुन त उहाँहरू त्यसलाई प्रतीकात्मक साहित्य हो भन्दै त्यही नै प्रगतिशील हो भन्न पछि पर्नुहुन्न । आफ्ना नजिकका बालबालिका विद्यालय जान नपाएर भौँतारिएर हिँडेको विषयलाई हेय, भाग्य र बिचराको विषय मानेर दन्त्यकथाको बालमैत्री साहित्य पटकपटक धर्मकथा भन्दै सुनाउन तयार हुनुहुन्छ । हो यस्तै सन्दर्भले साहित्य कस्तो हुने र कस्तो लेख्ने भन्ने विषयमा बहस आवश्यक छ भन्ने स्पष्ट पार्दछ ।
नेपाली साहित्यमा जोसमनी सन्त परम्परामा ‘मानिसलाई ज्ञान वितरण गर्नु र ज्ञानका माध्यमबाट धन होइन चेतना सही हुनुपर्छ भन्ने सन्देश दिनु नै साहित्यको प्रयोजन भएको’ विषय बहसमा आयो । यसले प्रगतिशील साहित्यको जागरणमा केही कदम थप्न सहयोग गरेको पाइन्छ । सामाजिक, आर्थिक, सांस्कृतिक चरित्रको तीव्र प्रतिकूलताले यो धारा प्रगतिशील पाइलामा अगाडि बढ्न सकेन । पछि नारीवादको बहस आयो । हाम्रो सन्दर्भमा नारीवादी साहित्यको बहस पनि राजनीतिक पार्टीको पोल्टामा मात्रै सीमित भयो । यसले समग्र नारीका समस्या र नारीको भूमिकालाई साहित्यमा के कसरी प्रस्तुत गर्ने भन्ने बहस गर्न सकेको छैन । नारीले लेखेको जति सबै नारीवादी हुनेजस्ता अतार्किक तर्क आउन थाल्यो र नारीवादी साहित्य पनि लुलो बन्यो । पश्चिमी जगत्मा साहित्यले उठाएको विषय यहाँ आइपुग्न केही समय लाग्छ । यहाँ आइसक्दा त्यसलाई हामीले हाम्रो मनोविज्ञानमा बोध गर्न समय लाग्छ । त्यसको सही प्रयोग नहुँदै पश्चिमा विषय भनेर विवाद सुरु हुन्छ । त्यसको सकारात्मक र नकारात्मक पक्षको खुलेर बहस नै हुन पाउँदैन । हामीकहाँ संवाद गर्नुपहिले नै आँधीहुरीजस्तै गरेर विवादले छोप्ने बानी छ ।
जतिसुकै राम्रो विषयमा साहित्य लेखिए पनि त्यो साहित्यकार कुन विचार, सम्प्रदाय र वर्गको हो वा पार्टीको हो भनेर हेर्ने डरलाग्दो रोग समेत आएको छ । यसले स्वच्छ बहसलाई सानो कोठरीमा परिणत गर्ने सम्भावना बढेको छ । यसै सन्दर्भमा दलित चेतनाको साहित्यले उत्तरवर्ती चरणमा बहसको विषय लिन थाल्यो । यसमा एकथरी मानिस बोल्यो कि आफैँ दलित भएको जस्तो लघुताभासले थिचेको मनोदशामा पुग्छन् । अझै दलित ? दलित भनुन्जेल दलित हट्दैन । यो शब्दै नै छाड्नुपर्छ भनेर बोल्छन् । त्यसो भए दलित शब्द प्रयोग गर्न छाडिदिऊँ, यो समस्या फुमन्तरजस्तै भाग्छ । गरिब शब्द पनि छाडिदिऊँ गरिबी पनि फुमन्तर हुन्छ होला । भेदभाव शब्द पनि छाडौँ । महँगी शब्द छाडौँ अनि सामानको भाउ सस्तो हुन्छ होला । के शब्द प्रयोगले समस्या ल्याएको हो र ? दलित शब्द त दलितहरूको आन्दोलनको एकाग्र सम्बोधनको माहोलबाट जन्मेको सम्बोधनयुक्त शब्द हो नि भनेर बुझाउन खोजियो भने यो बहस गर्ने विषय नै होइन भन्ने विद्वान् भनिएकाहरू भेटिन्छन् ।
दलित साहित्यको बहस गर्नुभन्दा भाग्यवादका कारण दलित भएको, हेपिएको, थिचिएको, पछि परेको भन्न सजिलो भएको छ केही मानिसलाई । त्यही बानी परेको छ, सजिलो बाटो हिँड्न । समाजका जटिल समस्या के–कसरी पन्छाउने र यसमा साहित्यले के कसरी विषयहरू अँगाल्ने अनि साहित्यमा विषयगत प्रवेशको बहसलाई के कसरी अगि बढाउने भन्ने सवालमा लामो चर्चा गर्नु आवश्यक देखिन्छ ।
नेपाली साहित्यमा जोसमनी सन्त परम्परामा ‘मानिसलाई ज्ञान वितरण गर्नु र ज्ञानका माध्यमबाट धन होइन चेतना सही हुनुपर्छ भन्ने सन्देश दिनु नै साहित्यको प्रयोजन भएको’ विषय बहसमा आयो । यसले प्रगतिशील साहित्यको जागरणमा केही कदम थप्न सहयोग गरेको पाइन्छ ।
अर्को साहित्यको बहसको विषय हो, गुणात्मक र सङ्ख्यात्मक लेखनको हो । कुनै साहित्यकारले धेरै लेख्दैमा गुणात्मक नहुने र थोरै लेख्दैमा गाुणात्मक हुने होइन । त्यो पनि हुन्छ र त्यो हुँदैन पनि । मूल कुरा के लेख्यो भन्ने हो । सङ्ख्याको कुरा गर्दा अहिले दिनको करिब सयभन्दा बढी साहित्यका कृति प्रकाशन भएका छन्, तिनमा के लेखिएका छन् ? तिनले नेपाली समाजलाई कसरी विश्लेषण गरेका छन् ? ती साहित्यमा कस्ता विश्व दृष्टिकोण आएका छन् ? ती दृष्टिकोण हाम्रो समाजको सन्दर्भमा के कस्ता छन् ? तिनका विषयगत, वैचारिक र सन्देशात्मक पक्षहरू कति ग्रहणीय छन् ? साहित्यको श्रीवृद्धिमा तिनको योगदान कहाँनिर उपस्थित छ ? टीएस इलियटले भनेझँै परम्परा र व्यक्ति प्रतिभाको सन्दर्भमा तिनले परम्परागत अध्ययन कति गरेका छन् ? र व्यक्तिगत प्रतिभाको के कस्तो प्रस्फुटन आएको छ ? यसमाथि बहस भएको पाइन्न ।
पाठ्यक्रममा समावेश गर्नुपूर्व पनि साहित्यका रचनाहरूमाथि सामूहिक छलफल गरिएको पाइन्न । राज्यमा कस्तो जनशक्तिको आवश्यकता छ ? राज्यलाई बलियो बनाउन कस्तो साहित्य लेखिनु र पढाइनुपर्छ भन्ने बहस भएको पाइन्न । राज्यको वर्तमान समस्या पहिल्याउने चेतना दिन सक्ने साहित्य कस्तो हुनुपर्छ भनेर बहस भएको छैन । इतिहासलाई हेर्ने दृष्टिकोण निर्माण गर्ने साहित्यमाथि बहस हुनु आवश्यक छ ।
आजको विज्ञान र प्रविधिको युगमा एकाथरी मानिसहरू अझै कपोलपल्पित विषय साहित्य हो भनेर, साहित्यले यही बोक्नुपर्छ भनेर दौडेको पाइन्छ । आहुतिको बहसलाई लिने हो भने आजको मानिसले त प्रविधिको ज्ञान, सीप र व्यवसायको कुशलता लिने हो । तर लक्ष्मीको फोटोमा माला लगाएर धन कमाउन सकिन्छ भन्ने विद्या घोकाइएको छ । लक्ष्मीको फोटोको समाजशास्त्र के हो ? त्यो पढाइ हुँदैन । त्यसमाथि बहस गर्न थालियो भने लक्ष्मीबारे पनि केको बहस ? यो त देवीको फोटो हो । देवीमाथि आशङ्का गर्ने पनि काम हो ? भनेर छोपिन्छ । यसमा पलाएका मनोविज्ञानका समस्या खुट्ट्याउने गरिएका विवाद मात्रै सुरु हुन्छ, बहस हुन्न । बरु लक्ष्मीका बारेमा लेखिएको साहित्य, लक्ष्मीको फोटो वा चित्र साहित्यका बारेमा इतिहासकार, मानवशास्त्री, समाजशास्त्री, पुरातत्तवविद्, मूर्तिकार, वैज्ञानिक, दार्शनिक, भाषाशास्त्री, मिथकमा ज्ञान राख्ने व्यक्ति, खोजकर्ता भएर अन्वेषण गरिनुपर्ने हो । ताकि त्यसको उत्पत्ति, भौगोलिक परिवेशअनुसार प्रयोग, अध्यात्म क्षेत्रको महत्त्व, वैज्ञानिक ज्ञान, समाजशास्त्रीय प्रमाण र रूप रङको प्रयोग यसरी यसरी हुँदै आज यो अवस्थामा आइपुगेको हो भन्ने ठोस सूचना प्राप्त हुँदो हो ।
लक्ष्मीलाई लिएर बहस गर्न हुने र नहुने बहसमै हाम्रो बहस सीमित हुन्छ । त्यसले ठोस प्रमाण पत्ता लगाउनुभन्दा पहिला नै बहस समापन गरिन्छ । आफ्ना आग्रह र पूर्वाग्रह अनि अल्पज्ञानहरूको अभिव्यक्तिमै बहस सकिन्छ । सायद यो पङ्क्तिकार पनि अल्पज्ञानी र उठाउनै नहुने विषय पनि कहाँ साहित्यमा बहस भनेर उठाएको भन्ने आरोपमा परिसकेको अवस्था आइदिन्छ । यसले हाम्रो बहस विस्तार हुन सक्दैन । आएका विषयलाई खुला भएर बहस गर्ने, आवश्यकता पहिचान गर्ने, समस्या पहिचान गर्ने र समाधान दिने गरी बहसलाई निरन्तरतामा राख्ने हो भने एकातिर बहस चलिरहन्छ भने अर्कातिर बहसबाट खारिएर साहित्यले शुद्ध, साकार, मूर्त रूप लिन्छ । त्यसले समाजका समस्या तेस्र्याउने मात्रै नभई समाधान गर्ने चेतना प्रदान गर्दछ । माक्र्सवादको बहसमा साहित्य कस्तो लेख्ने भन्ने बहस चलेको थियो । आज त्यो पनि मत्थर छ ।
विश्व साहित्यकै सन्दर्भमा बहस गर्ने हो भने आदिम कालमा मानिस समाजभन्दा पूर्वको अवस्थामा थियो । त्यो वेला आजको जस्तो सूचना, ज्ञान र व्यवहारको अवस्था थिएन । त्यति बेला पनि केही मानिस प्रतिभाशाली र केही मानिस कम प्रतिभाशाली अवश्य थिए । त्यति बेलादेखि नै मानिसले कल्पना शक्ति, स्मरण शक्ति र वैचारिक शक्तिको अनेकानेक प्रयोग गर्न थाले । भाषा वा लिपिपूर्व मौखिक रूपमा मानिसहरू संसारका बारेमा कल्पना गर्दै मतहरू जम्मा गर्न थाले । त्यो मत शृङ्खलाबद्ध रूपमा विस्तार हुँदै गयो ।
मौखिक परम्परामा परिणत भएको उक्त मतमाथि मत थप्दै, कल्पना गर्दै र अरु कल्पनाका आयाम थप्दै गर्दा ज्ञान परम्पराको धारा बन्यो । भाषाको विकास युगमा आएर त्यसलाई लिपिबद्ध गरियो । तिनका कालक्रमिक प्रमाण नभएकाले अनुमान गरेरै विभिन्न युगका कालजयी साहित्य मानियो । तिनलाई लिएर अरु साहित्य लेख्न थालियो, तर लेखन युगमा आउँदा साहित्य लेखनबारे स्वतन्त्र रूपमा बहस हुन थाले । व्यवस्थित रूपमा भएनन् ।
यस सवालमा पूर्व र पश्चिम दुवै क्षेत्रमा लोकसाहित्यको विषयलाई उपजीव्य मानेर लिखित साहित्य लेखियो । लोकसाहित्यका विम्ब र प्रतीकहरूले तत्कालीन युग सापेक्षतामा जे कुराको सन्देश र सङ्केत अनि शिक्षा दिन्थ्यो, आज त्यही शिक्षा दिन सक्छ वा सक्दैन ? पौराणिक, आदिमकालीन साहित्यलाई समाजशास्त्रीय आधारमा ती साहित्य त्यसरी किन रचिए ? भनेर अध्ययन गर्ने हो हामी वस्तुगत ज्ञानको चरणमा प्रवेश गर्छौं । तिनलाई नभत्काईकन तिनमाथि बहस गर्ने हो भने र पछिल्लो सूचना तथा प्रविधिको युगमा लेखिएका साहित्यको बहस गर्ने हो भने साहित्यको विकास, विस्तार यसले बोकेको अनेक प्रतीकात्मक अर्थहरू केलाउन सक्षम भइन्छ । जबसम्म विश्व साहित्यको खुलेर समाजशास्त्रीय दृष्टिकोणका आधारमा बहस गरिन्न, तबसम्म साहित्यको चौतर्फी अर्थ बोध हुन सक्दैन । समाजले सही सन्देश पाउन सक्दैन र उही व्यक्तिको निजी सन्तुष्टिका लागि मात्रै गरिने काम हुन जान्छ ।
साहित्यमा बहस गर्नुपर्ने धेरै विषय रहेका छन् । नेपाली साहित्यमा श्यामप्रसादले बहसलाई मिहीन तरिकाले लगेको पाइन्छ । उहाँले साहित्य जनसाहित्य हुनुपर्छ भन्ने बहस चलाउनुभएको हो । जनसाहित्य भनेको आम मानिसले बुझ्ने र पहुँच राख्ने साहित्य हो । त्यसको अर्थ साहित्य विषयगत रूपमा सस्तो कुरा लेख्ने होइन, मनगढन्ते कुरा लेख्ने होइन तर प्रकाशन र वितरण सस्तो हुनुपर्छ भन्ने हो । त्यो अभियानमा श्यामप्रसाद सफल हुनुभयो, तर यो विषय बहसमा आएन । प्रलेसका संस्थापक भएर पनि श्यामप्रसादकै बहस र अभियानलाई प्रलेसले पनि आज बहसको विषय बनाउन सकेको छैन । साहित्यको विषय अहिले कति प्रति बिक्री भयो भनेर मात्रै हुने गरेको छ ।
प्रकाशकले लेखकस्व कति प्रतिशत दिएको छ भनेर मात्रै धेरै बहस भएको छ । साहित्य के लेख्ने ? कस्तो लेख्ने ? उद्देश्य के हुने ? आम पाठकलाई न्याय कसरी हुन्छ ? आदि विषयमा कम बहस भएको छ ? पुरस्कार, मानसम्मान र पदकहरू पाउने र नपाउने विषयमा बहस केन्द्रित भएको छ । यसले साहित्यको गुणात्मक विकास गर्छ र ? साहित्यले भाषा, संस्कृति, समाज र राजनीतिलाई सही दिशाबोध गर्न सक्छ भने साहित्य कस्तो लेख्ने भनेर व्यापक हुनु आवश्यक छ । साहित्यको प्रयोजनमाथि बहस भएपछि मात्रै यसको सही रचनाकारिता निर्माण हुन्छ ।
हजारौँ वर्षपहिले बनेका साहित्यको प्रयोजन आजको समयलाई व्यावहारिक छ त ? त्यो समाज र आजको समाजमा आएको परिवर्तन, मानिसको चेतनामा आएको परिवर्तनलाई सापेक्ष बनाएर साहित्यको बहसलाई अघि बढाउने हो भने नेपाली साहित्यले पनि विश्व साहित्यको प्रतिस्पर्धामा जान सहज हुन्छ । केही नेपाली साहित्यकार विश्वस्तरीय साहित्य सिर्जना गर्न सफल भए पनि हाम्रो बहस गर्ने संस्कृति नभएको र मैले लेखेको साहित्य मात्रै सही छ, भन्ने स्वकेन्द्रित मनोदशाले नेपाली साहित्य आजको अवस्थामा रहेको छ । यसमा पनि व्यापक बहसको खाँचो छ । विनाबहसको साहित्यले केही देला, तर बहससहितको साहित्यले समाजलाई पक्कै केही सन्देश दिन्छ । नयाँ सूचना र शिक्षा दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री