शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

युन्नान प्रान्तद्वारा ललितपुर महानगरपालिकालाई सामुदायिक कल्याणकारी परियोजना हस्तान्तरण

शनिबार, १० कात्तिक २०८१, १२ : ०३
शनिबार, १० कात्तिक २०८१

ललितपुर । चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको छ । शुक्रवार ललितपुरमा आयोजित एक विशेष समारोहबिच युन्नान कमर्सियल रिप्रेजेन्टेटिभ अफिस इन नेपालले नगरपालिकाको वडा नम्बर ३ लाई ती योजना हस्तान्तरण गरेको हो ।

जसमा युनिसोलर शावर स्टेसन नामक सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक बाथरुम समावेश छ । उक्त बाथरुममा पुरुष र महिलाहरूको लागि ३–३ स्नान कोठाहरू छन्, जहाँ दैनिक ८०–१०० जनाले नुहाउने सुविधा पाउनेछन् ।  उक्त बाथरुममा चार हजार लिटर तातो पानीको सुविधा छ । उक्त पानी सौर्य ऊर्जाबाट तताउने व्यवस्था गरिएको छ । 

u2

रुफटप फोटोभोल्टिक परियोजनाको क्षमता ३६ किलोवाट छ, जसले वार्षिक लगभग ६० हजार किलोवाट ऊर्जा उत्पादन गर्न सक्छ ।  समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई सहयोग गरेकोमा चिनियाँ पक्षप्रति आभार व्यक्त गरे । यो परियोजनाले स्थानीयलाई फाइदा पुर्‍याउने उनको भनाइ छ। 

उनले निकट भविष्यमा युन्नान प्रान्तसँग थप सहकार्य गर्न नगरपालिकाले प्रयास गरिरहेको जानकारी दिए ।  सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चिनियाँ विकास मोडलमा आधारित यो परियोजनाले नेपाली जनताका लागि ठुलो महत्त्व राख्न सक्ने बताए । 

भाइब्रेन्ट भिलेज परियोजनाअन्तर्गत दुर्गम क्षेत्रमा कृषि, सौर्य ऊर्जा, विद्यालय सहयोग कार्यक्रमलगायत विभिन्न परियोजनामा चिनियाँ पक्ष संलग्न रहेको उनले जानकारी दिए । युन्नान प्रान्तीय सरकारको तर्फबाट नेपालमा युन्नान व्यावसायिक प्रतिनिधि कार्यालय सन् २०१५ मा स्थापना भएको हो ।

u3

कार्यालयका निर्देशक याङ चेनफेङले सन् २०२२ देखि हालसम्म २ वटा मैत्रीपूर्ण पार्क, ३ वटा सौर्य ऊर्जा परियोजना, २ वटा पब्लिक शावर परियोजना र २ वटा स्कुल ब्याग डोनेसन परियोजना गरी ९ वटा जीविकोपार्जन परियोजना सम्पन्न गरेको जानकारी दिए । 

‘यी दुई परियोजनाले स्थानीयको जीवनस्तरमा सुधार ल्याउनेछ र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । साथै सहरको गुणस्तर पनि बढाउनेछ,’ याङले भने ।   परियोजना हस्तान्तरणपछि वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले यो परियोजनाले चिनियाँ विकासलाई प्रतिबिम्बित गर्ने र अन्य ठाउँमा पनि यस्तै अभ्यास लागू गर्न पाठ सिक्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप