आरोग्य र आध्यात्मिक शक्तिका लागि कार्तिक स्नान
जलस्नान मानिसको एक स्वाभाविक दैनिक कर्म हो । यो स्नानको विषयसँग पनि उत्सव, पर्व, पूजा, आराधना, उपासना, अभ्यास, साधना, योग, ज्ञान आदि जोडिएका छन् । मकर संक्रान्तिको स्नान र पुसी पूर्णिमा (पौष शुक्ल पूर्णिमा)को स्नान निकै प्रसिद्ध छन् ।
गंगास्नान जीवनकै एक अभीष्टका रूपमा रहेको हुन्छ । विभिन्न अवसरमा विशेष स्नानको महत्त्व छ । यस्तै दुई मासिक स्नान अर्थात् कार्तिक स्नान र माघी स्नान, जसमा यी दुई महिनाको दुवै चन्द्र पक्ष (कृष्ण र शुक्ल)को अवधिभर दैनिक ब्रह्म मुहूर्तमा स्नान गरी भगवान् नारायणको उपासना गरिन्छ ।
वर्ष २०८१ को कार्तिक मासको आरम्भसँगै कार्तिक स्नान प्रारम्भ भइसकेको छ । यो स्नान उपासना प्रायः प्रौढ र वृद्धवृद्धा गर्छन् ।
शास्त्र–पुराणमा यस कार्तिक मासमा भगवान् विष्णु नारायण रूपमा जलमा निवास गर्नुहुन्छ भन्ने मान्यता छ । यस्तो मानिन्छ कि भगवान् विष्णु क्षीरसागर (ब्रह्माण्डीय सागर)मा निद्रा योगमा जानुहुन्छ । यस कारणले कार्तिक कृष्ण प्रतिपदादेखि कार्तिक पूर्णिमासम्म नियमित सूर्योदयभन्दा पहिले नदी वा जलाशयमा गएर स्नान गर्नु पुण्य प्रदायी मानिन्छ ।
कार्तिक मास चतुर्मासको अन्तिम महिना हो । चतुर्मास भनेको चार महिनाको एक पवित्र अवधि हो । यो अवधि हरिशयनी वा देवशयनी एकादशीदेखि प्रबोधिनी एकादशीसम्मलाई मानिन्छ । देवशयनी एकादशीको दिनबाट देवताहरु विश्राममा जाने विश्वास गरिन्छ ।
कार्तिक महिनाको महत्त्व यस कारणले पनि छ कि यसै महिनामा कुमार कार्तिकेयले तारकासुरको वध गरेका थिए । कुमार कार्तिकेयको पराक्रमको सम्मान दिनका लागि नै यस महिनाको नाम कार्तिक राखिएको छ ।
शरीर सफा गर्नु व्यक्तिगत विषय हो, तर यो केही धार्मिक अनुष्ठानको आध्यात्मिक भाग पनि हो । हिन्दु धर्ममा कार्तिकको विशेष महत्त्व छ । कात्तिकमा पूर्व प्रभात कालमा स्नान गरी भगवान् विष्णु र माता लक्ष्मीको पूजा गर्नाले मानिसको जीवनमा सुख र समृद्धि आउने जनविश्वास रहेको छ ।
कार्तिक स्नान भनेको समुदाय र धर्मस्थल वा तीर्थस्थलनजिकै नदी, पोखरी आदि प्राकृतिक पवित्र जलाशयमा गरिने प्रातः स्नान हो । कार्तिक स्नान गर्नाले आरोग्यता र आध्यात्मिक शक्ति प्राप्त हुन्छ । यस स्नानले यस शरीर र मनबाट हुन गएका पापको प्रायश्चित हुन्छ । कार्तिक स्नानले इच्छा अनुसारको फल र मोक्षको प्राप्ति हुन्छ ।
कार्तिक मासको महात्म्यमा भनिएको छ कि एक गणिकाले एक दिन एक ऋषिलाई भेटेर आफ्नो मुक्तिको उपाय सोधिन् । ऋषिले गणिकालाई कार्तिक स्नानको महत्त्व बताए । प्रत्येक दिन गणिकाले सूर्योदयअघि नदीमा नुहाएर नदी किनारमा दियो बाल्दै भगवान् विष्णु र सूर्यदेवको पूजा गर्न थालिन् । यस पुण्यको प्रभावले बिना कुनै पीडा आफ्नो शरीर छाडेर उनी दिव्य विमानमा बैकुण्ठ गइन् ।
कार्तिकको महिमा वर्णन गर्ने देवी रुक्मिणीको कथा पनि छ । पद्म पुराणका अनुसार अघिल्लो जन्ममा रुक्मिणी गंगाको किनारमा बस्ने विधवा ब्राह्मणी थिइन् । उनी नियमित रूपमा गंगा स्नान, तुलसीको पूजा र भगवान् विष्णुको ध्यान गर्थिन् । कार्तिक महिनाको चिसोमा एक दिन नुहाएर पूजा गर्दा उनको आत्मा शरीरबाट मुक्त भयो । उनको आत्मामा पुण्यको यति धेरै धन थियो कि उनले देवी लक्ष्मी बराबरको पद पाइन् । यही गुणको प्रभावले उनी भगवान् श्रीकृष्णकी रानी बनिन् ।
कार्तिक महात्म्यको वर्णन गर्दै भगवान् श्रीकृष्णले सत्यभामालाई आफ्नो पूर्वजन्ममा भगवान् विष्णुको पूजा गरेको बताएका थिए । सत्यभामाले कार्तिकमा सूर्योदयअघि नुहाएर जीवनभर तुलसीमा दीप प्रज्ज्वलन गरिन् । यही गुणका कारण सत्यभामा श्रीकृष्णकी पत्नी भइन् । भगवान् श्रीकृष्णले आफूलाई सबै महिनामध्ये कार्तिक सबैभन्दा प्रिय रहेको बताएका छन् । यस महिनामा खाना र दियो दान गर्ने वा कुबेरको पूजा गर्ने जो–कोहीलाई कुबेरले आशीर्वाद दिने विश्वास गरिन्छ ।
एक कथा यस्तो छ कि शंखासुर नामक राक्षस ब्रह्माजीबाट वेद चोरेर भागिरहेको थियो । वेद उसको हातबाट समुद्रमा खस्यो । देवताको प्रार्थनाबाट प्रशन्न भई भगवान् विष्णुले भने कि म माछाको रूप लिन्छु र अब वेद ल्याउँछु । अबदेखि कार्तिकमा म आफैँ पनि सबै वेदसहित जलमा रहनेछु ।
शरद ऋतु ६ ऋतुमध्ये एक हो । वर्षा ऋतु समाप्त भएपछि शरद ऋतु सुरु हुन्छ । शरद ऋतुले चिसो मौसमको सुरुवात र गर्मीको अन्त्य हुने भएकाले यस परिवर्तित मौसममा सामञ्जस्य कायम राख्न कार्तिक स्नानको महत्त्व छ । यस्तै, आवधिक वर्षा सकेर फिजिन लागेको चिसोको मौसमसँग मेल खान कार्तिक स्नानको महत्त्व छ । नुहाउनु भनेको शरीरलाई पूर्ण वा आंशिक रूपमा पानीमा डुबाउनु हो । शरीर सफा गर्नु व्यक्तिगत विषय हो, तर यो केही धार्मिक अनुष्ठानको आध्यात्मिक भाग पनि हो ।
यो स्नान पर्वमा सूर्योदयअघि उठेर पवित्र नदीमा नुहाउने चलन छ । यो सम्भव छैन भने पानीमा गंगाजल मिसाएर स्नान गर्न सकिन्छ । यस महिनामा के खाने र के नखाने भन्ने पनि मान्यता छन् । खासगरी गाईको दूध, केरा, खजुर, नरिवल, अम्बा आदि खाँदा स्वास्थ्यलाई राम्रो हुने भनिन्छ ।
हिन्दु धर्ममा कार्तिकको विशेष महत्त्व छ । कात्तिकमा पूर्व प्रभात कालमा स्नान गरी भगवान् विष्णु र माता लक्ष्मीको पूजा गर्नाले मानिसको जीवनमा सुख र समृद्धि आउने जनविश्वास रहेको छ । साथै यस महिनामा गंगास्नानको विशेष महत्त्व रहेको छ ।
हिन्दु धर्ममा मानिसको सद्गत् दाहसंस्कार विधिबाट गरिन्छ, तर दाहसंस्कारको तीन दिनपछि मृतकको भष्मबाट फूला (हाडको अवशेष) झिकेर गंगा नदीमा प्रवाह गरिन्छ । फूला जलसमाधि एक तरहले मानिसको जीवन यात्राको अन्तिम स्नान हो ।
कार्तिक मासमा अनेक पर्व पर्छन्— धनतेरश, नरक निवारण चतुर्दशी, दीपावली, काली पूजा, लक्ष्मी पूजा, गोवद्र्धन पूजा, भ्रातृद्वितीया, यम पञ्चकको रूपमा गाईतिहार, कुकुरतिहार, छठ महापर्व, कार्तिका एकादशी, कार्तिक पूर्णिमा, सामा–चकेवा आदि ।
यो स्नान पर्वमा सूर्योदयअघि उठेर पवित्र नदीमा नुहाउने चलन छ । यो सम्भव छैन भने पानीमा गंगाजल मिसाएर स्नान गर्न सकिन्छ । यस महिनामा के खाने र के नखाने भन्ने पनि मान्यता छन् । खासगरी गाईको दूध, केरा, खजुर, नरिवल, अम्बा आदि खाँदा स्वास्थ्यलाई राम्रो हुने भनिन्छ ।
कार्तिक महिनामा दीपदान, तुलसी पूजा, भुइँमा सुत्ने गर्दा राम्रो हुने मान्यता छ । कार्तिकमा तुलसीको पूजा गरी दीप प्रज्ज्वलन गर्दा भगवान् विष्णु प्रशन्न हुन्छन् । यस महिनामा भगवान् विष्णुको नाम जप तथा भगवद्गीता, रामायण र विष्णु सहस्रनामको पाठ गर्नु उपयुक्त हुन्छ । यस्तै, तुलसीको बिरुवाको छेउमा दियो बाल्नु धेरै शुभ मानिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म स्नान गरी घरघरमा विशेष रूपमा विधिविधानका साथ तुलसीपूजा गरिन्छ । कार्तिक स्नानको सुरुवात भएसँगै हरेक दिन सूर्योदयअघि नै तुलसीको पूजा गरिसक्नुपर्ने मान्यता छ ।
कार्तिक शुक्ल पूर्णिमाको दिन कार्तिक स्नान समापन गरिने चलन छ । कार्तिक पूर्णिमाको दिन उपवासमा रहनुपर्छ । यस दिन मिथिलाञ्चलको लोकप्रिय पर्व सामा–चकेवा मनाउने परम्परा छ । सामा–चकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन, आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्षोल्लास र लोकाचारका साथमा मनाउने गरिन्छ । सामा–चकेवा पर्व कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइन्छ । यो पर्व पूर्वी नेपालका थारु जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्र्छन् ।
कार्तिक स्नानको समापन उद्यान गरी गरिन्छ । कार्तिक महात्म्यको आठौँ अध्यायमा नारदजीले फल प्राप्ति र विष्णु भगवानको प्रशन्नताका लागि कार्तिक शुक्ल चतुर्दशीमा व्रतको उद्यापन गर्ने विधि बताएका छन् ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई भाडा अनुगमन गर्न कार्यदल गठन, ११ एयरलाइन्सले बुझाए भाडादर सूची
-
टेनिस टोली बहराइन जाने
-
मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु
-
एनआरएन अस्ट्रेलियाको ‘नेपाल महोत्सव’ तयारी अन्तिम चरणमा
-
दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान
-
युरोपियन फुटबलमा जातीय दुर्व्यवहारका उदेकलाग्दा घटना !