शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
कलाकार

‘१२ गाउँ’ बाट चर्चामा सनिशा

पहिले करियर, त्यसपछि प्रेम र विवाह
शनिबार, १० कात्तिक २०८१, १२ : ००
शनिबार, १० कात्तिक २०८१

काठमाडौँ । फिल्म ‘१२ गाउँ’की अभिनेत्री हुन् सनिशा भट्टराई । करिब दुई दर्जन म्युजिक भिडियोमा अभिनयपछि फिल्ममा होमिएकी उनको ‘१२ गाउँ’ डेब्यु फिल्म हो ।

‘१२ गाउँ’ले बक्सअफिस तताइरहँदा सनिशा पनि चर्चामा छिन् । सबैबाट अभिनयको प्रतिक्रिया राम्रो पाइरहेको उनले बताइन् । ‘भूमिका र अभिनय दुवै मनपरेको प्रतिक्रिया मिलेको छ’, उनले भनिन्, ‘मेरोमात्र नभएर फिल्मको पूरै टिमलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । म एकदमै खुसी छु ।’

फिल्ममा उनले एक सामान्य युवतीको भूमिका निर्वाह गरेकी छन् । हिरोको तुलनामा उनको भूमिका अलि छोटो छ । छोटै भए पनि राम्रो छ । आफ्नो चाहनाले भन्दा पनि फिल्मको कथाले भूमिका निर्धारण गर्ने उनी बताउँछिन् । फिल्ममा उनी बाहेक अन्य दुई अभिनेत्री सोनु चन्द्रपाल र न्यासी खड्का पनि छन् । तर उनीहरूको भन्दा बलियो र बढी भूमिका आफ्नो भएकोमा उनी खुसी छिन् । उनले भनिन्, ‘अन्य फिल्ममा हुने हिरोइनको भूमिकाभन्दा यसमा कम हो । तर, जति भूमिका छ, दमदार छ । त्यसमा खुसी छु ।’

sanisha bhattarai (1)

डेब्यु फिल्मको व्यवसाय राम्रो हुँदा त्यसको प्रभाव अभिनेत्रीको करियरमा पर्नु स्वाभाविक हो । अहिले सनिशाको हातमा एकपछि अर्को फिल्म लगातार परिरहेको छ । एक फिल्म ‘नरसिंहा अवतार’को त उनले छायाङ्कन नै थालिसकेकी छन् । उनका अन्य केही फिल्म लाइनमा छन् ।

सनिशाले म्युजिक भिडियो हुँदै फिल्म यात्रा तय गरेकी हुन् । म्युजिक भिडियोमा होमिँदा फिल्म अभिनय उनको कल्पनामा पनि थिएन । म्युजिक भिडियोमा चर्चा पाउँदै गर्दा फाट्टफुट्ट फिल्मको अफर आउन थाल्यो । सुरुका अफर ‘पछि गरौँला’ भनेर उनले छोड्दै गइन् । जब ‘१२ गाउँ’को अफर आयो, उनी फिल्ममा हामफालिन् ।

‘कथा पनि राम्रो लाग्यो । विराज भट्ट निकै सिनियर कलाकार भएकाले काम गर्न मन लाग्यो,’ उनले ‘१२ गाउँ’ रोज्नुको कारण खोलिन् ।

दुई वर्ष अगाडि हिमाल सागरको गीत ‘ए हो र माया’को म्युजिक भिडियोबाट करियर सुरु गरेकी उनी छोटो समयमै फिल्ममा फट्को मार्न सफल मोडल हुन् ।

अभिनेता विराज भट्टले पनि उनलाई म्युजिक भिडियो हेरेर नै फिल्म ‘१२ गाउँ’का लागि अफर गरेका गरेका थिए । उनले ‘१२ गाउँ’ चलचित्रकै कारण ‘नरसिंहा अवतार’मा पनि अभिनयको मौका पाएकी छन् ।

461376403_1060493732367209_7765629218424459119_n

पोखराकी स्थायी बासिन्दा उनी ‘१२ गाउँ’मा एक्सन स्टार विराज भट्टको साथ देखिएकी छन् । छायाङ्कनरत फिल्म ‘नरसिंहा अवतार’मा उनी राजेश हमालको साथमा देखिँदैछिन् । दीवाकर भट्टराई निर्देशित ‘नरसिंहा अवतार’मार्फत राजेश हमालले ७ वर्षपछि फिल्ममा ‘कमब्याक’ गर्न लागेका छन् ।

फिल्म अभिनयमा एकपछि अर्को गर्दै अहिलेका सबै कलाकारसँग काम गर्ने सनिशाको इच्छा छ । म्युजिक भिडियोबाट फिल्म यात्रा तय गर्ने कलाकारलाई अभिनयमा कुन सजिलो भनेर प्रश्न गर्दा धेरैको जवाफ हुन्छ– ‘म्युजिक भिडियो ।’

‘यी दुवै अभिनयका विधा हुन् । अभिनयका हिसाबले म्युजिक भिडियो सजिलो र थोरै समय दिए पुग्छ । रिजल्ट छिटै आउँछ’, सनिशाले भनिन्, ‘फिल्ममा धेरै समय दिनुपर्छ । रिजल्ट ढिला आउँछ ।’ तर म्युजिक भिडियोको तुलनामा फिल्ममा गरेको अभिनयले सन्तुष्टि बढी दिने उनले बताइन् ।

sanisha bhattarai (3)

कुनै चरित्रमा आफूलाई ढालेर यथार्थपरक रूपमा प्रस्तुत हुनु नै अभिनय भएको धारणा राख्ने सनिशा सफल र भर्सटायल अभिनेत्री बन्ने सपना रहेको सुनाउँछिन् । त्यसकै लागि अभिनयमा निरन्तरता दिइरहेको उनले बताइन् ।

‘मसँग अहिले लगातार काम गर्ने हिसाबले फिल्म हात परिरहेका छन्’, उनले भनिन्, ‘दर्शकले काम कति रुचाउँछन् र आफ्नो भाग्यमा के छ भनेर अहिले नै भन्न सक्दिनँ ।’

ब्याचलरसम्मको  अध्ययन पूरा गरेकी सनिशाको आगामी दिनमा अभिनय र अध्ययन एकसाथ अगाडि बढाउने सोच छ ।

उनी प्रेममा भने छैनन् । ‘अहिलेसम्म प्रेम पनि छैन । त्यतातिर ध्यान दिने बेला पनि भएको छैन,’ उनले भनिन्, ‘अहिले म आफ्नो करियरमा फोकस छु । पहिले करियर बनाउँछु । त्यसपछि प्रेम र विवाहको बारेमा सोच्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप