मित्रलाल पंज्ञानीका तीन कविता
१) सङ्कीर्णताले युग हाँकिदैन
हिजो भएको दिन छैन आज
कहाँ गयो त्यो किन छैन आज ?
छन् सिर्जनाका गतिविम्ब धेर
संसार थोत्रो रीतमा नहेर !
अस्तित्वमा जो चिनिँदैन आज
जन्मन्छ हुर्कन्छ नयाँ समाज
फेरिन्छ जिम्दो गतिमा गएर
फर्की पुरानै पथमा नहेर !
नयाँ–नयाँ मूल फुटिरहेछन्
नयाँ–नयाँ प्रश्न उठिरहेछन्
त्यो खोँचको दर्शन दूर छैन
सङ्कीर्णताले युग हाँकिँदैन
जताततै अस्थिरता छ आज
ढोंगीहरू छन् पदमा विराज
विश्राम यो होइन सभ्यताको
दृष्टान्त यो होइन भव्यताको
हैरान छन् मानिस दुष्टताले
अन्यायको चोट कडा हुनाले
भयो प्रथा यो अतिसार बोझी
नवीनताको गरिँदै छ खोजी ।
२) सबै चोर हैनन् !
‘आफ्नै स्वार्थ मिलाउँछन् सबजना, मान्छे सबै चोर हुन्
कैल्यै क्यै पनि हुन्न यो मुलुकमा, जम्मै घुसैखोर हुन्’
सिङ्गो मानव जातिमाथि नमिठो यत्रो अविश्वास यो
गर्ने काम कदापि हैन गतिलो, यो घोर अन्याय हो !
कैयन् सज्जन वीर छन् मुलुकमा कल्याणकारी गुणी
हुन्नन् चोर सबै, नबोल यसरी हालेहुलेमा उडी
मान्छ्यैभित्र छ लोभ, पाशविकता; सन्त्रासका चीज छन्
मान्छ्यैभित्र विवेक, साहस बडा निर्लोभका बीज छन्
मान्छे माक्र्स नि हो, सशक्त बलले संसार घुम्ने नि हो
सक्छन् साम्य समाज गर्न रचना, संज्ञानले हुन्छ यो
खोजे खुल्दछ, भित्र छन् नपतिँदा धर्ती बदल्ने बल
पस्तै जाऊँ डुबुल्किँदै रस लिँदै, गैरो छ अन्तस्तल
‘मान्छेको छवि खण्ड जागृति गरी जा’ भन्छ मेरो कवि
‘रच्तै उर्बर चेतना सुलयले गा’ भन्छ मेरो कवि
मान्छेको मनको प्रकाश फिँजिए लोकै उजेलिन्छ यो
जागे शक्ति, विवेकले उठिगए, संसार सुल्टिन्छ यो ।
३) जहाँ गोप्य कुरा हुन्छ !
आँखा छल्न सकेँ आज दुनियाँ झुक्कियो अब
‘पालो सम्पूर्ण मेरै हो’ भन्ने मदान्ध मानव
यो महाभूल हो कैल्यै पनि यस्तो नसम्झिए
टिकेनन् झुटले धेरै, तिमीजस्ता सयौँ थिए
जहाँ गोप्य कुरा हुन्छ, त्यहीँ टुप्लुक्क आउँछ
सत्यले चुप्प लागेर कुनाबाट चियाउँछ
सत्यताले नदेखेको कुनै ठाउँ हुँदैन हो ।
तिमी अन्धो हुँदैमा के आँखा फुट्छ र सत्यको !
असत्यसितको युद्ध एकैछिन हार्न सक्तछ
तर ऊ मर्न सक्तैन, मरेझैँ पार्न सक्तछ
डाकी वसन्तको पालो चराले पनि गाउँछ
सत्य फर्लक्क फर्कन्छ, फेरि पन्पेर आउँछ ।
कसैको हुन्नथ्यो जन्म, सृष्टि रोकिन थाल्दथ्यो
यी सारा फूलका रङ्ग नाश आई पखाल्दथ्यो
आगो निभ्थ्यो सधैँनिम्ति हावा चल्दैनथ्यो कतै
सत्य मथ्र्यो भने सारा गति मथ्र्यो जताततै
चाहे बाँध लडाएर, चाहे कुट निरन्तर
अजरामर हो सत्य, मर्दै मर्दैन जे गर !
मदले मत्त भै आँखा चिम्लिँदा चेतना थुन्यौ
कहाँ सत्य मर्यो मूर्ख ! कहाँ देख्यौ कहाँ सुन्यौ !