शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
कविता

म कवि होइन !

शनिबार, १० कात्तिक २०८१, १० : २०
शनिबार, १० कात्तिक २०८१

म भुईँ मान्छे 
मसँग भुईँको कथा छ
मसँग माटोको कथा छ
मसँग पिडाको अथाह कथा छ
मसँग वियोगान्त विरहको कथा छ
मसँग अनुभूति गर्न नसकिने जन्मको कथा छ
मसँग अनुभव गर्न नमिल्ने मृत्युको पनि कथा छ
मसँग आजसम्म बाँच्दै आएको जिन्दगीको कथा छ 
सबै -सबै कथा हरूलाई
कथा र कविता बनाएर पस्किन सक्दिन
किनभने-
म कवि होइन 
म कथाकार होइन ।

सभ्यता–सौन्दर्य मोहित कविले जसरी
म मेरो मनको कुरा 
भाव हालेर 
अक्षरका मिलेको लस्कर बनाई
छन्द र गद्य  हरफमा मिलाउन सक्दिन
म आलोकाँचो अपरिपक्व
अक्षरलाई सत्य प्रेम गर्ने अनुयायी मात्रै हुँ
जान्ने कुशल कवि भएको भए
लेख्ने थिए कविले जसरी
सौन्दर्यलाई रङ भरेर कविता, पक्कै !
ती कविता हुन्थ्यो होला
हराभरा बन-पाखाको
अटुट बग्ने नदी र झर्नाको 
कहिल्यै ननिदाउने हिमाल र पहाडको 
छुन नसक्ने आकाशको 
पुगेर छुन नसकिने घाम को 
तर, म सक्दिन त्यसरी लेख्न
जसरी लेख्छन् एउटा सिपालु कविले 
किनकि म-
-लेख्न जान्ने कवि होइन ।

जानी-नजानी
बाध्यता पूर्वक लेख्नु परेको पनि होइन
विकृत समयले जन्माएको
विडम्बना र विसंगत कविता
देशको विषम परिस्थितिको 
सौन्दर्य र रसविहीन कविता 
अशान्त वा बीभत्स रसले भरेर 
आँसु र रगतको कविता 
भग्नावशेष देशको आततायी आतङ्कित कविता 
चाणक्य राजनीतिले जन्माएको 
माफिया राजले थिचिएर
घाइते भएको जनताको वियोगान्त कविता 
बस् -
साहित्य अनुरागीको नाताले 
जानी नजानी अक्षर हरूको हुललाई
मनको कसौँडी बाट पस्कन 
गरेको कोसिस मात्रै हो
हो,म कविता लेख्न सक्ने
कवि होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप