शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सुप्रिम सहकारी पीडित भन्छन्– रवि र छवि पक्राउ परेरमात्रै हुँदैन, हाम्रो पैसा फिर्ता चाहिन्छ

शनिबार, १० कात्तिक २०८१, ०७ : २८
शनिबार, १० कात्तिक २०८१

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने प्रेम घिमिरेले बुटवलको कालिकानगरमा किराना पसल सञ्चालन गरेका छन् । सोही पसलबाट दैनिक बचत हुने रकम उनले बुटवलको सुप्रिम सहकारीमा जम्मा गर्दै आएका थिए ।

२०७५ साल चैत महिनादेखि श्रीमती रञ्जना घिमिरेको नाममा नारी बचत उत्थान खाता शीर्षकमा सुप्रिम सहकारीमा दैनिक व्यापारको अवस्था हेरेर एक सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म बचत गरिएको उनको भनाइ छ ।

व्यापार विस्तार गर्ने सपनासहित दैनिक बचत गरेका घिमिरेले आफ्नो ५ लाख ४३ हजार रुपैयाँ उक्त सहकारीबाट फिर्ता पाउन सकेका छैनन् । उनले रातोपाटीसँग भने, ‘निकै मेहनत गरेर बचत गरेको पैसाले व्यापार बढाउने योजना थियो, तर सहकारीमा जम्मा गरेको पैसा अहिलेसम्म फिर्ता दिएका छैनन् ।’

बुटवल नयाँ गाउँकी चिना थापा पनि व्यवसायी हुन् । उनले आफ्नो व्यापारबाट दैनिक तथा मासिक गरेर ३ वर्षको अवधिमा सुप्रिम सहकारीमा ४५ लाख रुपैयाँ जम्मा गरेकी थिइन् । अहिले त्यो पैसा उठाउन आन्दोलन गर्दै हिँड्नु परेको उनले सुनाइन् ।

थापाले रातोपाटीसँग भनिन्, ‘सहकारी दर्ता थियो । उसले सरकारलाई कर पनि तिरेको थियो । त्यस कारणले हाम्रो पैसाको ग्यारेन्टी राज्यले गर्नुपर्ने हो ।’

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका जीबी राई, सहकारीका व्यवस्थापक सागर केसी लगायत फरार छन् भने पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

बुटवलको ट्राफिक चोकमा व्यवसाय गर्दै आएका कृष्ण न्यौपानेको २ करोड १० लाखभन्दा धेरै रकम सुप्रिम सहकारीमा डुबेको छ । यसरी सुप्रिम सहकारीमा १० हजार ३९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ७८ करोड रकम हिनामिना भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

सोही रकम हिनामिनाको मुद्दामा रुपन्देहीमा मात्रै ४० जना  प्रत्यक्ष मुछिएका छन् । २०८१ वैशाखमा रुपन्देही जिल्ला अदालतमा २८ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता गरिएको छ । प्रहरीले हालै अनुसन्धानका लागि अन्य १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट अनुमतिपत्र पाएको छ ।

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका जीबी राई, सहकारीका व्यवस्थापक सागर केसी लगायत फरार छन् भने पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

के भन्छन् पीडित ?

सुप्रिम सहकारीमा आफूले जम्मा गरेको बचत रकम डुबेपछि सहकारी पीडितहरूले सङ्घर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् ।

समितिले प्रदेश राजधानी दाङमा विरोध प्रदर्शन, सहकारी रजिस्ट्रार कार्यालयमा उजुरीदेखि संसदीय छानबिन समितिमा समेत धाउँदै बचतकर्ताको रकम फिर्ता गराइदिन माग गरेको छ । समितिले बेला–बेलामा ठाउँ–ठाउँमा दबाबमुलक प्रदर्शन गर्दै आएको छ । सुप्रिम सहकारीको पैसा लगेर जीवी राई, छविलाल जोशी, रवि लामिछाने लगायतले गोर्खा मिडिया नेटवर्क चलाएको संसदीय अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ । सुप्रिम सहकारीबाट १४ करोड रकम उक्त मिडिया पुगेको उल्लेख छ ।

53bb069d-98a2-44c6-991c-fe2852f13979

सोही मिडिया अध्यक्ष एवं सुप्रिम सहकारी संस्थापक अध्यक्ष जीबी राई फरार छन् भने कास्की प्रहरीले उक्त नेटवर्कका उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । रवि लामिछाने गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए । उनी पनि अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

पूर्वडीआईजी जोशीलाई कास्कीबाट अनुसन्धानका लागि प्रहरीले भैरहवामा ल्याउँदा गत सोमबार पीडितहरूले आफ्नो बचत रकम फिर्ताको मागसहित प्रदर्शन गरेका थिए । मंगलबार पनि उनको बयान चल्दा पीडितहरूले जिल्ला न्यायाधिवक्ताको कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

सोही प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई पनि प्रहरीले बयानका लागि रुपन्देहीमा ल्याउने तयारी गरिरहेको छ । रविलाई ल्याउँदा पनि आफूहरूले बचत रकम फिर्ताको माग गर्दै प्रदर्शन गर्नेे सुप्रिम सहकारी पीडित सङ्घर्ष समितिका संयोजक विजय नेपालले रातोपाटीलाई बताए ।

Bijaya nepali

उनले रवि र छवि पक्राउ परेसँगै सहकारी पीडितमा बचत फिर्ता हुने केही आस पलाएको बताए । यद्यपि ठगीमा मुख्य भूमिका रहेका जीबी राई, सागर केसी लगायत अझै फरार रहेका कारण आफूहरूले दबाब बढाउनु परेको उनको भनाइ छ ।

संयोजक नेपालले बुटवलमा सहकारी स्थापना गर्दादेखि नै योजनाबद्ध रूपमा सञ्चालकहरू ठगीको उद्देश्यले आएको ठहर गरे । सुप्रिम सहकारीमा बचत गर्नेहरूमा साना व्यापारीदेखि मजदुर, न्यून हैसियत भएका व्यक्तिसम्म छन् ।

दुःख गरेर बचत गरेको रकम हिनामिना भएपछि आफ्नो बिचल्ली भएको बचतकर्ताहरूको गुनासो छ । संयोजक नेपालले समयमै सहकारीको अनुगमन सरकारी स्तरबाट भइदिएको भए यो अवस्था आउने थिएन कि भन्ने तर्कसमेत गरे । सरकारले अझै पनि आफूहरूको बचत फिर्ता हुने वातावरण बनाउन नसकेको उनको गुनासो छ ।

सहकारी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेरमात्रै पीडितहरूको समस्या समाधान नहुने भन्दै पैसा फिर्ता नहुँदासम्म दबाबका कार्यक्रम जारी राख्ने उनले बताए ।

संयोजक नेपालले शान्तिपूर्वक रूपमा अब भैरहवामा आन्दोलन केन्द्रित गर्ने पनि प्रस्ट पारे । उनले पोखरामा सहकारी पीडितमाथि रास्वपाका कार्यकर्ताले आक्रमण गरेको बताउँदै भैरहवामा पनि त्यस्तै हुन सक्ने भएकाले प्रशासन चनाखो रहनुपर्ने पनि बताए ।

आफूहरू कुनै राजनीतिक आग्रह–पूर्वाग्रहका कारण नभइ आफ्नो डुबेको रकम फिर्ता लिन सडकमा उत्रिनु परेको संयोजक नेपालको तर्क छ । उनले सहकारी पीडितको आन्दोलनलाई कुनै दलको पक्ष वा विपक्षमा भनेर नजोड्न पनि आग्रह गरे ।

a

रवि लामिछानेमाथि निष्पक्ष ढंगले छानबिनको वातावरण बनाउनुपर्नेमा संयोजक नेपालले जोड दिए । सरकारी निकायले गरेको छानबिनमा रवि निर्दोष देखिए आफूहरूलाई स्वीकार्य हुने तर कसैले पनि छानबिन प्रभावित पार्न नहुने नेपालको तर्क छ ।

रास्वपाले रविमाथि छानबिन चलिरहँदा आन्दोलन गर्नु ‘राजनीतिक स्टन्ट’ मात्रै भएको संयोजक नेपालले बताए । आफ्नो पार्टी अध्यक्ष पक्राउ परेपछि रास्वपाले आन्दोलन गर्नु स्वाभाविक भएको तर सहकारी पीडितको रकम फिर्ताका बारेमा पार्टीको धारणा के हो भन्ने पनि प्रस्ट हुनुपर्ने उनको भनाइ छ ।

को पक्राउ पर्‍यो वा को परेन भन्ने विषयले भन्दा पनि आफ्नो बचत रकम कहिले फिर्ता हुन्छ भन्नेमा नै आफूहरूको मुख्य चासो रहेको संयोजक नेपालले बताए । भोलि आफूहरूले अदालतबाट मुद्दा जितेको खण्डमा पनि रकम फिर्ता नभए त्यसको खासै अर्थ नहुने उनले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप