शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
अर्थ

व्यापार घाटाले बन्द हुँदैछन् साना उद्योग

शनिबार, १० कात्तिक २०८१, ०१ : ००
शनिबार, १० कात्तिक २०८१

दाङ । घोराहीको गौतम पोल्ट्रीफार्म केही वर्ष राम्रो चल्यो । तर जब कोरोनाका कारण बन्दाबन्दी भयो, त्यसपछि अन्ततः बन्द हुने अवस्थामा पुग्यो ।

फार्ममा करिब डेढ करोड लगानी लागेको थियो । तर, कोरोनाले गर्दा त्यो लगानी नउठेपछि अहिले बन्दै गर्नुपर्ने अवस्था आएको सञ्चालक लीलाधर पाठक बताउँछन् ।

'तीन/चार वर्ष राम्रै चल्यो,' उनले भने, 'जब कोराना सुरु भयो त्यसपछि घाटाको घाटा भएपछि अहिले बन्दै गर्नुपर्ने अवस्थामा पुग्यो ।' 

त्यस्तै, पाल्पाका श्याम घर्तीले पनि तीन/चार वर्षजति चलाएको रेष्टुरेन्ट बन्द गरे । रैनादेवी छहरा–३ मा रेष्टुरेन्ट सञ्चालन गरेका उनले रेष्टुरेन्टबाट घाटा भएपछि त्यो बेचेर किराना पसल मात्रै चलाएका छन् ।

'यसमा पनि पहिले जस्तो व्यापार छैन,' उनले भने। उनले पनि रेष्टुरेन्टमा गरेको लगानी समेत उठाउन सकेनन् । रेष्टुरेन्टमा झण्डै सात लाख रुपैयाँ लगानी भएको थियो ।  

त्यस्तै, दाङ घोराहीकै गीता थापाले स्थानीय जातका कुखुरापालन र तरकारी खेती गरेकी थिइन्। चार वर्षअघि घरेलु कार्यालयमा दर्ता गरेर व्यावसायिक रुपमा सुरू गरेको व्यवसाय पछिल्लो समय कर तिर्ने पैसासमेत नभएपछि फाम बन्द गर्न बाध्य भइन ।

कर कार्यालयमा सात हजार पाँच सय र वडा कार्यालयमा दुई हजार दुई सय रुपैँयासम्म तिर्न सक्ने अवस्था नभएपछि आफूले फाम बन्द गरेको उनको भनाइ छ । फाम बन्द गरेको भए पनि घरायसी प्रयोजनका लागि कुखुरापालन र तरकारी खेती गरिरहेकी छन् । 

यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय ब्यापार घाटा भएको भन्दै घरेलु तथा साना उद्योगहरु बन्द हुने क्रम बढिरहेको छ । लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार उद्योग बन्द भएका छन् । 

लुम्बिनी प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९/८० मा लुम्बिनी प्रदेशका चार हजार ५२ उद्योग बन्द भएका छन् ।

यसमा वाणिज्यतर्फ एक हजार नौ सय ३३ र उद्योगतर्फ दुई हजार एकसय १९ घरेलु तथा साना उद्योग बन्द भएको निमित्त निर्देशक ईश्वरचन्द्र अर्यालले बताए ।

सबैभन्दा बढी दाङका आठ सय ७६ उद्योग बन्द भएका छन् भने सबैभन्दा कम रुकुम पूर्व र अर्घाखाँचीका ५२/५२ उद्योग बन्द भएका छन् ।  

दर्ता घट्न थाले, बन्द हुने बढे

पछिल्लो समय लुम्बिनीमा दर्ता हुनेभन्दा बढी बन्द हुने उद्योगहरु बढ्न थालेका छन् । विगतमा बन्द हुने अत्यन्तै न्यून हुने गरेको भए पनि गत आवदेखि बन्द हुने बढी र दर्ता हुने न्यून हुँदै गएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले बताए।  

कोरोनापछि ब्यापार व्यवसाय धरापमै रहेकाले साना उद्योगहरु बन्द हुने क्रम बढेको उनको भनाइ छ । 'कोरोनापछि मुलुकमा आर्थिक मन्दी छ, ब्यापार घाटा छ,' उनले भने, 'त्यसले गर्दा पनि उद्योगहरु बन्द भइरहेको अवस्था छ ।'  

उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योगहरु बन्द भइरहेको उनको भनाइ छ । उत्पादनमूलक उद्योगमा कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्ध प्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरी मालबस्तु उत्पादन गर्ने उद्योगहरु छन् ।

त्यस्तै, कृषि तथा वन पैदावार उद्योगमा कृषि वा वन पैदावारमा आधारित कच्चा पदार्थबाट कुनै वस्तु उत्पादन गर्ने वा कृषि वा बन पैदावारमा आधारित उद्योगहरु तथा  ऊर्जा उत्पादन गर्ने व्यवसायमा संलग्न ऊर्जामूलक उद्योगहरु पनि बन्द भइरहेका छन् । 

ढुङ्गा, गिटी, बालुवासम्बन्धी काम गर्ने उद्योगहरु, पर्यटन सेवासँग सम्बन्धित उद्योगहरु तथा  सूचना सङ्कलन प्रशोधन र प्रसारणका लागि प्रविधि प्रयोग गरी सूचना, सञ्चार वा सूचना प्रविधिको सेवा उपलब्ध गराउने उद्योगहरु बन्द भइरहेका छन् ।

व्यवसाय नचलेको भन्दै यसरी बन्द गर्न आउने गरेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी मनोज घिमिरेले बताए। 'बन्द गर्न आउँदा धेरैलाई हामी कारण सोध्छौँ,' उनले भने, 'ती सबैले व्यापार घाटा भएकाले बन्द गरेको जवाफ दिन्छन् ।' अधिकांश युवा विदेश पलायन हुने तथा आर्थिक मन्दीले गर्दा त्यसको मार व्यापार, व्यवसायमा पर्ने गरेको उनको भनाइ छ । 

रुकुमपूर्वमा समेत उद्योग बन्द गर्न भन्दै दैनिक दुई/तीन जना आउने गरेको घरेलु तथा साना उद्योग कार्यालय रुकुमपूर्वका सूचना अधिकारी सन्तोष मल्ल बताउँछन् । उनका अनुसार केहीले कार्यालयमै आएर उद्योग बन्द गर्ने गरेको भएपनि केहीले भने उद्योग बन्द मात्रै गरेका छन् । उत्पादनले मूल्य नपाउने, बिक्रीसमेत नहुनेजस्ता कुराले पहाडी क्षेत्रको व्यवसायमा असर गरेको उनको भनाइ छ ।  

उद्योग बन्दसँगै रोजगारी पनि गुम्दै 

उद्योग बन्द हुँदा रोजगारी पनि गुम्दै जाने गरेको छ । त्यसले थप बेरोजगारी बढाउने गरेको लुम्बिनी प्रदेश उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय निमित्त निर्देशक अर्यालले बताए । उनका अनुसार करिब १२ हजार बढीको रोजगारी गुमेको छ ।

लुम्बिनीमा गएको वर्ष मात्रै पाँच हजार तीन सय ६१ नयाँ उद्योग थपिएका थिए । यसबाट १५ हजार दुई सय चार जनाले रोजगारी पाएका छन् । यही अनुपातलाई हेर्दा बन्द भएका उद्योगबाट प्रदेशमा १२ हजार बढीको रोजगारी गुमेको छ ।

'उद्योग बन्द हुँदा प्रत्यक्ष रुपमा रोजगारमा पनि असर गर्छ,' उनले भने, 'उद्योग बन्द हुँदा बेरोजगारको संख्या पनि थपिँदै जाने गर्दछ ।' 

गत वर्ष उद्योग/व्यवसायबाट आठ करोड ८० लाख ३९ हजार आठ सय ६६ रुपैयाँ राजश्व सङ्कलन भएको थियो । नयाँ उद्योग, दर्ता, बन्द, संशोधनलगायतबाट उद्योगतर्फ चार करोड २३ लाख १२ हजार छ सय ६६ रुपैयाँ र वाणिज्यतर्फ चार करोड ५७ लाख २७ हजार दुई सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा उद्योग व्यवसायमा १५ अर्ब ११ करोड ५५ लाख ५४ हजार ७४ रुपैयाँ लगानी थपिएको छ । 

तीनै तहका सरकारबाट साना व्यवसायीलाई प्रोत्साहन गर्ने नीति नल्याएसम्म नयाँ उद्योग दर्ता हुने र पुरानाले नियमित सञ्चालन गर्ने वातावरण निर्माण नहुने घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले बताउँछन्। 'झन्झटिलो कर प्रणाली, आयातित वस्तुले स्थानीय उत्पादनलाई विस्थापित गर्नु जस्ता कारणले पनि साना उद्योगहरु चल्न सकेका छैनन्,' उनले भने । 

‘ठूला उद्योग पनि मारमै छन्’ 

साना उद्योग मात्रै होइन, ठूला उद्योगहरुको अवस्था पनि त्यस्तै, छ ।  तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष रामप्रसाद चालिसेले ठूला व्यवसायीहरु पनि मारमा परेको बताए । उनले चार/पाँच वर्षअघि जुन ब्यापार हुन्थ्यो, त्यस्तो व्यापार अहिले नहुने गरेको बताए ।

'सबै व्यवसायी मारमा छन्, खासगरी कोरोनापछि यो समस्या देखिएको छ,' उनले भने, 'व्यवसाय नहुँदा यसरी बन्द हुने क्रम बढेको हो ।' 

पछिल्लो समय व्यवसायीहरु भाडासमेत तिर्नसक्ने अवस्थामा नभएको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने उनले बताए। धेरै व्यवसायीहरु पलायन भइरहेको र यही अवस्था केही समय रहेमा पलायन हुनको संख्या अझै बढ्नसक्ने उनले बताए ।

व्यवसाय बन्द हुनु भनेको आर्थिक गतिविधि कम हुनुभएको भन्दै आर्थिक रुपमा सबल बनाउनका लागि साना उद्योगहरु चलाउनुपर्ने उनको भनाइ छ । उनले सरकारले उत्पादित वस्तुलाई बजारीकरण गर्ने, व्यवसायीको सुरक्षाको प्रत्याभूति गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप