शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : 'सत्तापक्ष र विपक्षी आमने-सामने'देखि 'भुसझैँ सल्किँदै डेंगुको संक्रमण'सम्म

शनिबार, १० कात्तिक २०८१, ०० : ००
शनिबार, १० कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

१. सत्तापक्ष र विपक्ष आमने-सामने

विपक्षी दलहरूले सरकारविरुद्ध मोर्चावन्दीसहित आन्दोलन चर्काउने तयारी गरेपछि सत्तापक्षले पनि आफ्नो रणनीति अघि सारेको छ । सत्तापक्षको रणनीति उनीहरूलाई सडकमै आउन नदिने रहेको छ । 

शुक्रबार सत्तापक्षीय सात राजनीतिक दलको बैठकले विपक्षी दलहरूले सुरु गरेको आन्दोलनलाई लक्षित गर्दै सडकबाट सरकार र व्यवस्थाको विकल्प नखोज्न चेतावनी दिँदै यस्तो रणनीति बनाएको हो ।

सत्तापक्षले लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र हुने भन्दै सरकारको विकल्प खोज्ने बाटो संसद् र नयाँ जनादेश मात्र हुनसक्ने भन्दै विपक्षीहरूलाई सडकमा जानबाट रोक्ने प्रयास गरेको हो ।

२. रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

शुक्रबार नै रास्वपाले आफ्नो सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा राजधानीमा प्रदर्शन गरेको थियो ।

नेकपा माओवादी केन्द्रले भृकुटीमण्डमा शनिबार गर्न लागेको खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण  तरिकाले गर्ने दाबी गरेको छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो ।

३. मूल्यवृद्धि कागजमा घट्यो, ब्यवहारमा बढ्यो
बैंकको तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा मूल्य वृद्धिदर घटेको देखिन्छ । तर बजारको तालमेल भने सोआधारमा मिलेको देखिँदैन । 

४. राजेन्द्र महतोका पार्टी दर्ता

१७३ सदस्यीय केन्द्रीय समितिसहित राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार महतोले आयोगमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दल दर्ता गराएका हुन् ।

पार्टी केन्द्रीय कार्यसमिति १७३ सदस्यीय रहेको छ । पार्टीको अध्यक्षमा राजेन्द्र महतो रहेका छन् भने अरु सबै जना सदस्य रहेका छन् ।

५. घुस लिएको आरोप

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन थालेको छ ।  उनलाई मन्त्रालय तानेर छानबिन थालिएको मन्त्रालय स्रोतले बताएको छ । डेर्नमाकको अवैतनिक श्रम दूत बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रुपैयाँ लिएको उजुरी परेपछि मन्त्रालयले छानबिन थालेको हो ।

६. भुसको आगोझैँ सल्किँदै डेंगी

देशभर डेंगुको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय २२ हजार ८२ जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ । यो वर्ष सरकारले डेंगुबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिएर काम गरिरहेको छ । तर यो लक्ष्य प्राप्त हुन सकेको छैन ।

सरकारले डेंगु नियन्त्रणका लागि केन्द्रदेखि स्थानीय तहसम्म २५ करोड रुपैयाँ खर्च गरिसकेको छ । सरकारले ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’, स्वास्थ्यकर्मीलाई डेंगु सम्बन्धि तालिम, सचेतनात्मक सूचना लगायत कार्यका लागि २५ करोड रुपैयाँ खर्च गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


७. मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । शुक्रबार सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबारको बैठकले गरेका १२ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णयअनुसार केही मन्त्रीको विदेश भ्रमण स्वीकृत भएको छ भने केही मनोनयन र बढुवालगायतका निर्णय पनि भएका छन् ।

८. कुलमानको अडान

उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएसम्म नेपाल विद्युत् प्राधिकरणले लाइन नजोड्ने भएको छ ।

प्राधिकरणले उद्योगहरूको लाइन काट्नुअघि महसुल बुझाउन ९० दिनको समयसीमा दिएको थियो । उक्त समयसीमा बिहीबार सकिएपछि प्राधिकरणले महसुल नतिर्ने सबै उद्योगको लाइन काटेको हो ।

९. निष्क्रिय कर्जा बढ्यो

आर्थिक वर्षको पहिलो त्रैमासमा १७ बैंकको निष्क्रिय कर्जा बढेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यो अवधिमा सञ्चालमा रहेका २० वाणिज्य बैंकमध्ये ती बैंकहरुको निष्क्रिय कर्जा बढेका हुन् ।

१०. रकम अपचलनमा संलग्न अर्का व्यक्ति पक्राउ

सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका– ८, बगालेफाँटका ४८ वर्षीय राम बहादुर खनाल रहेका छन् । 

सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनुसन्धानका लागि थुनामा छन् भने अन्य सहकारीका विषयमा पनि प्रश्न उठिरहेको छ । यही समयमा सिभिल सहकारी ठगी आरोपमा थुनामा रहेका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङ धरौटीमा रिहा हुनुपर्ने माग गर्दै करिब एक वर्षदेखि सर्वोच्चमा पेसी धाइरहेका छन् ।

११.  श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त
 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले थप चार देशमा श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ । साउदी अरेबिया र यूएईका लागि श्रम काउन्सिलर नियुक्त गरेको मन्त्रालयले थप चार देशका श्रम काउन्सिलर नियुक्त गरेको हो ।

१२. उपनिर्वाचन खर्चको सीमा

निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचनमा गर्न पाइने खर्चको सीमा निर्धारण गरेको छ ।  स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारका लागि आयोगले कात्तिक ७ गतेको बैठकबाट खर्चको हद निर्धारण गरेको हो ।

 

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप