शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

ललितपुरमा सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक स्नानघर

शुक्रबार, ०९ कात्तिक २०८१, २२ : ४८
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । चीनको युन्नान प्रान्तले नेपालको ललितपुर महानगरपालिकालाई सार्वजनिक कल्याणकारी परियोजना हस्तान्तरण गरेको छ । यसमा सङ्घीय राजधानीमा पहिलो ‘युनिक्सोलार शावर स्टेसन’ नामक सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक स्नानघर र छत फोटोभोल्टाइक परियोजना समावेश छ ।

आज ललितपुरमा आयोजित एक कार्यक्रममा चीनको युन्नान प्रान्तीय व्यापारिक प्रतिनिधिमण्डलले महानगरपालिकाको वडा नं ३ लाई परियोजनाहरू हस्तान्तरण गरेको हो ।

युनिक्सोलार शावर स्टेसनमा सौर्य ऊर्जाबाट उत्पादित चार हजार लिटर तातो पानीको सुविधासहित निर्मित महिला र पुरुषका लागि तीन÷तीन गरी छवटा स्नान कक्ष रहेका छन् । यो सामुदायिक स्नानघरले दैनिक कम्तीमा ८० देखि एक सय जनालाई स्नान गर्ने सुविधा प्रदान गर्ने दाबी गरिएको छ ।

यसका साथै, ‘रुफ फोटोभोल्टाइक’ परियोजनामा ३६ किलोवाट क्षमताको सोलार जडान गरिएको छ जसले वार्षिक लगभग ६० हजार किलोवाट घण्टा बिजुली उत्पादन गर्ने र समुदायलाई लामो समयसम्म हरित तथा निःशुल्क ऊर्जा प्रदान गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई सहयोग गरेकामा चिनियाँ पक्षप्रति आभार व्यक्त गरे । उनले परियोजनालाई उत्कृष्ट अत्याधुनिक सुविधा भनेर वर्णन गर्नुहुँदै यसले स्थानीय बासिन्दालाई ठूलो फाइदा पुर्याउने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले चिनियाँ विकास मोडेलमा आधारित यो परियोजना नेपाली जनताका लागि ठूलो महत्वको हुने बताए । उनले चिनियाँ पक्ष नेपालका दुर्गम क्षेत्रहरूमा कृषि, सौर्य ऊर्जा, विद्यालय सहयोग कार्यक्रमलगायत विभिन्न परियोजनाहरूमा सङ्लग्न रहेको उल्लेख गरे ।

काठमाडौँस्थित युन्नान प्रान्तीय व्यापारिक प्रतिनिधिमण्डलका निर्देशक याङ चेनफेङले यसअघि नेपालमा नौवटा जीविकोपार्जन परियोजनाहरू कार्यान्वयन गरिसकेको जानकारी दिए । उनले यी दुई परियोजनाहरूले स्थानीय बासिन्दाहरूको जीवनस्तर सुधार गर्ने र सहरको गुणस्तरमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महानगरको वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनले यस परियोजनाले चिनियाँ विकासलाई प्रतिविम्बित गर्ने र अन्य स्थानहरूमा यस्तै अभ्यासहरू लागू गर्न नेपालका लागि ठूलो सिकाइ हुनसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप