शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

‘नेपाल जलवायुका असरबाट बढी जोखिममा’

शुक्रबार, ०९ कात्तिक २०८१, २२ : ४३
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । वातावरण क्षेत्रका विज्ञहरुले नेपाल जलवायु परिवर्तनको असरबाट बढी जोखिममा रहेको उल्लेख गर्दै यसबाट जनताको सुरक्षा गर्नु आजको प्रमुख विषय भएको बताएका छन् ।

संरक्षण समूह नेपाल (कन्जरभेशन अलाइन्स नेपाल) द्वारा आज यहाँ आयोजित एक समारोहमा उनीहरुले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि यसका असरबाट बढी पीडित हुनुपरेको उल्लेख गरे ।

कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालको भूगोल जोखिमयुक्त रहेको र पछिल्लो समय जलवायुका असरबाट सिर्जित विपद् व्यहोर्नुपरेको उल्लेख गर्दै यस्ता विषय अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राथमिकताका साथ उठाउने बताइन् ।

साथै उनले आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अजरबैजानको बाकुमा हुने जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालले जलवायुको न्याय र क्षतिपूर्तिका लागि उठाउनुपर्ने विषयको तयारी भइरहेको जानकारी गराइन् ।

प्रधान सेनापति अशोकराज सिग्देलले वातावरण र जलवायु परिवर्तन आजको महत्वपूर्ण र संवेदनशील विषय हुनुका साथै सबैको सरोकारकोे विषय भएको बताए । उनले नेपाली सेनाका आठ हजार भन्दा बढी जनशक्तिले मुलुकभरका राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रको संरक्षण गर्दै आएको, ‘एक सिपाही एक बिरुवा’ अभियान सञ्चालन गरी वातावरण संरक्षणमा सेनाले महत्वपूर्ण योगदान गर्दै आएको जानकारी गराए ।

कार्यक्रममा संरक्षण समूह नेपालका अध्यक्ष तथा पूर्व प्रधानसेनापति गौरवशम्शेर जबराले सुरक्षाको परम्परागत परिभाषाअन्तर्गत जिउधनको मात्र सुरक्षा पर्ने भएपनि आजको आधुनिक परिभाषामा जलवायु परिवर्तनका असरबाट जनताको सुरक्षा गर्नु पनि उक्त परिभाषामा समेटिएको बताए ।

साथै उनले जलवायु परिर्वतनमा न्यून योगदान भएपनि हिमाली मुुलुक नेपाल पछिल्लो समय जलवायुका असरबाट बढी प्रभावित भएकाले यो विषयलाई अन्तराष्ट्रिय मञ्चमा प्रभावकारी रुपमा उठाउनुपर्ने र यसमा सबैले चासो दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरुले ‘नेपालमा जलवायु परिर्वतन र राष्ट्रिय सुरक्षा’ विषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा वन वातावरण, जलवायु परिवर्तन, जैविक विविधतालगायत विषयका विज्ञका साथै सुरक्षा निकायका अवकाश प्राप्त उच्च अधिकारीहरुको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप