शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

पोखरीहरुमा छठपर्वको तयारी सुरु

शुक्रबार, ०९ कात्तिक २०८१, २१ : १६
शुक्रबार, ०९ कात्तिक २०८१

धनुषा । जनकपुरधामका गोरधोइ पोखरीहरुमा छठपर्वको तयारी थालिएको छ । पोखरीका सहरका रूपमा प्रसिद्ध जनकपुरधामका पोखरीमा छठपूजाका लागि यहाँका स्थानीय समिति, छठपूजा समिति र स्थानीय युवा क्लबहरुले त्रिपाल र पण्डाल लगाउन सुरु गरेको राम युवा कमिटीका अध्यक्ष सरोज साहले जानकारी दिए । 

तराई–मधेसका महिलाले आफ्नो परिवार र  सन्तानको सुख समृद्धिको कामना गर्दै छठपूजा गर्ने गर्छन् । यसवर्ष छठपर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भइ षष्ठीको दिनसम्म मनाउने गरिन्छ । 

जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सागर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्ड, दूधमति, जलाइद, रत्नसागरलाई स्थानीय युवा क्लबले सजाउन थालेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष जीतेन्द्रकुमार महासेठले छठका अवसरमा जनकपुरधाममा सरसफाइ अभियान सुरु गरिएको बताए । उनले यस अवसरमा व्यापारिक चलहपहलसमेत बढेको बताए । गङ्गासागर पोखरीमा परापूर्वकालदेखि छठपूजा हुँदै आएको संस्कृतिका जानकार डा राजेन्द्र विमलले बताए ।

दर्शनार्थीलाई सहजरुपमा छठ पूजा गर्न मिलोस् भनेर व्यवस्थापन गर्न लागिएको स्थानीय महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए । विगतका तुलनामा  यसवर्ष आकर्षक बत्ती र पण्डाल राखिने छठपूजा समितिले जनाएको छ । अध्यक्ष गुप्ताले भने,‘‘छठपूजाको मुख्य आकर्षण पण्डाल हो । पण्डाल जति आर्कषक बनाउन सकियो  त्यति सुन्दर र भव्य देखिन्छ ।”

छठपर्वका लागि आवश्यक खर्च व्यवस्थापन गर्न ऐच्छिक रुपमा रु पाँच सयको टिकट बिक्री गर्ने तयारी गरिएको छ ।  विगतमाझैँ यो वर्ष पनि जनकपुरधामका विभिन्न पोखरीको चारैतर्फ झिलिमिली बत्ती, पण्डाल र रङ्गीचङ्गी फूलहरुले सजावट गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप