शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उपनिर्वाचनका लागि आयोगले माग्यो २० करोड रकम

शुक्रबार, ०९ कात्तिक २०८१, २० : २६
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । स्थानीय तहका रिक्त पदहरूका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा खर्च गर्न निर्वाचन आयोगले सरकारसँग २० करोड रुपैयाँ मागेको छ । उपनिर्वाचनका लागि सरकारले १२ करोड रुपैयाँ आयोगलाई दिइसके पनि अपुग हुने अनुमानित थप ८ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरिएको निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

सरकारले उपनिर्वाचनका लागि छुट्ट्याएको बजेट अपुग भएको आयुक्त भण्डारीले बताए । उनले भने, ‘निर्वाचनका लागि झण्डै २० करोड खर्च हुने अनुमान भए पनि सरकारले १२ करोडमात्र दिएको छ । आयोगले ८ करोड बजेट थप गर्न आग्रह गरेको छ । अपुग भएको बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयलाई आग्रह गरेका छौँ ।’

निर्वाचनमा कर्मचारी खटाउन, आवश्यक केही सामग्री किन्न, मतगणना लगायतका काममा मुख्य निर्वाचनकै जसरी खर्च हुने आयुक्त भण्डारीको भनाइ छ । 

नगरप्रमुख, गाउँपालिका अध्यक्षदेखि वडाध्यक्षसम्म रिक्त रहेका ४३ पदका लागि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्नेछ । यसका लागि निर्वाचन व्यवस्थापनको काम गरिरहेको निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए ।

उनले भने, ‘निर्वाचन समाग्रीहरूको तयारी गर्ने, मतदाता नामावलीको विषयवस्तु हेर्नेदेखि लिएर निर्देशिका बनाउने लगायतका काम भइरहेको छ । उम्मेदवारको मनोनयन पत्र दर्ता भएपछि अलि बढी काम हुन्छ । अहिले उपनिर्वाचनका लागि विभिन्न तयारीका काम भइरहेको छ । निर्वाचनको निर्देशिका तयार गर्ने काम पनि भइरहेको छ ।’

यसअघिको चुनावमा प्रयोग भएको अधिकांश निर्वाचन सामग्री आयोगमा रहेकाले नयाँ किन्न आवश्यक नभएको आयुक्त भण्डारीले बताए ।

आयोगले कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्नुका साथै मतदान स्थल निर्धारण गर्नेछ । सो दिनसम्म रिक्त भएका स्थानीय तहमा उपनिर्वाचन गर्ने आयोगले जनाएको छ । यस्तै कार्तिक ३० गते आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछ । त्यसका लागि स्थल चयन भइसकेको जनाइएको छ ।

आगामी मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने र १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ । यस्तै आयोगले उपनिर्वाचन हुने स्थानीय तहका लागि निर्वाचन अधिकृतको कार्यालयसमेत तोकेको छ ।

स्थानीय तहमा नगरप्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, गाउँपालिका उपाध्यक्ष ४,  वडाध्यक्ष ३३ र जिल्ला समन्वय समिति प्रमुख २ पद रिक्त छन् । रिक्त ती पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल आयोगमा दर्ता भएका छन् ।

आयोगले तोक्यो उम्मेदवारको खर्चको सीमा

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने सीमासमेत तोकेको छ । शुक्रबार बसेको आयोगको बैठकले कानुनमा व्यवस्था भए बमोजिम उम्मेदवारको खर्चको सीमा निर्धारण गरेको हो ।

उम्मेदवारको मनोनयनपत्र दर्ता भएदेखि निर्वाचन परिणाम नआउञ्जेलसम्मका लागि कति खर्च गर्न पाउने भन्ने कानुन अनुसार खर्चको सीमा निर्धारण गर्ने निर्णय भएको आयोगका आयुक्त सगुन शमशेर राणाले रातोपाटीलाई जानकारी दिए ।

महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने, उप–नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५ लाख ५० हजार रुपैयाँ, नगरपालिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् । यस्तै, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ ।

वडा अध्यक्षतर्फ महानगरपालिकाको हकमा ३ लाख रुपैयाँ, उपमहानगरका लागि २ लाख ५० हजार, नगरपालिकाका लागि २ लाख रुपैयाँ र गाउँपालिकाको वडा अध्यक्ष पदको उम्मेदवारले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ ।

पुरानै निर्वाचन सामग्रीको प्रयोग

आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि यसअघिको निर्वाचनमा प्रयोग भएको निर्वाचन सामग्री प्रयोग गर्ने भएकाले त्यसका लागि खर्च कम लाग्ने भएको छ । मतपत्र छपाइ बाहेक मतपेटिका, मतदानका क्रममा प्रयोग हुने अन्य निर्वाचन सामग्रीहरूमा आयोगको खर्च हुने छैन ।

आयोगका आयुक्त भण्डारीले मूल चुनावका बेला जुन–जुन प्रकारका निर्वाचन सामग्री चाहिन्छ, आयोगसँग रहेका सामग्रीहरू प्रयोग गर्ने र अपुग हुने केही खरिद गरिने जानकारी दिए ।

तयारीमा जुट्दै राजनीतिक दलहरू

उपनिर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार चयन लगायतका लागि राजनीतिक दलहरू सक्रिय हुन थालेका छन् ।

नेपाली कांग्रेसको केन्द्रले उपनिर्वाचनबारे ठोस निर्णय नगरे पनि त्यसका लागि आन्तरिक तयारी भइरहेको सो दलका प्रमुख सचेतक श्याम कुमार घिमिरेले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘निर्वाचन परिचालन समिति बनाउने लगायतका कामका लागि आन्तरिक छलफल भइरहेको छ । निर्वाचन केन्द्रित कार्यक्रमका लागि छिटै पार्टीको बैठक बस्नेछ ।’

यता नेकपा एमालेले उपनिर्वाचनको तयारी थालेको छ । उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवार सिफारिस गर्न र चुनावको तयारीका लागि केन्द्रले निर्देशन दिएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।

उनले भने, ‘उम्मेदवारहरूको सिफारिस गर्न भनेका छौँ । चुनावको तयारी गर्न सम्बन्धित जिल्ला कमिटीहरूलाई, सम्बन्धित ठाउँको नेताहरूलाई चुनावको तयारी गर्न, अरु काम छोडेर चुनावमा केन्द्रित हुन निर्देशन दिइएको छ । उम्मेदवार सिफारिस गर्नका लागि हाम्रो पहिलेदेखिकै मापदण्ड छ, सोही मापदण्ड अनुसार उम्मेदवार सिफारिस गर्न भनिएको छ ।’

माओवादी केन्द्रले उपनिर्वाचनबारे कुनै निर्णय नगरे पनि जिल्ला तहबाट आवश्यक तयारीको काम भइरहेको पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

यता पार्टी सभापति पक्राउ परेपछि आन्दोलनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनको कुनै तयारी गरेको छैन । यद्यपि भदौ पहिलो साता बसेको केन्द्रीय समिति बैठकले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय भने गरेको थियो ।

यता नेकपा एकीकृत समाजवादीले पनि आन्तरिक तयारी थालेको छ । समाजवादीले आन्तरिक परिपत्र जारी गर्दै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सातै प्रदेशका लागि  कमाण्डर तोकेको छ । वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपाध्यक्षहरू, उपमहासचिवहरू, सचिवहरू, कानुन व्यवसायी तथा पोलिटब्युरो सदस्यसमेत सम्मिलित उपनिर्वाचन परिचालन कमिटी गठन भएको छ ।

सो दलले स्थानीय तह उपनिर्वाचनका लागि कोशी प्रदेश कमाण्डरमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेस प्रदेश कमाण्डरमा उपाध्यक्ष धर्मनाथ साह, बागमती प्रदेश कमाण्डरमा उपाध्यक्ष डा. गंगालाल तुलाधर, गण्डकी प्रदेश कमाण्डरमा सचिव श्रीनाथ बराल, लुम्बिनी प्रदेश कमाण्डरमा उपमहासचिव मेटमणि चौधरी, कर्णाली प्रदेश कमाण्डरमा उपाध्यक्ष  प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेश कमाण्डरमा उपाध्यक्ष भानुभक्त जोशीलाई तोकेको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम प्रस्ताव गरेको छ । राप्रपा काठमाडौँ जिल्ला कार्यसमितिले मेयरका लागि ३ जना र वडा नम्बर १ र ४ को अध्यक्षका लागि एक–एक जनाको नाम सिफारिस गरेको छ ।

कीर्तिपुर नगरपालिकाका लागि नगर प्रमुख उम्मेदवारमा ध्रुव महर्जन, वरिष्ठ अधिवक्तासमेत रहेका राप्रपा केन्द्रीय सदस्य राजु बस्नेत र अर्का केन्द्रीय सदस्य राजकुमार केसीको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । यस्तै वडा नं १ मा सुरेन्द्रप्रसाद उप्रेती, वडा नं ४ का लागि बिजेस बस्नेतको नाम सिफारिस गरिएको छ । राप्रपाले अन्य रिक्त स्थानका लागि भने उम्मेदवार सिफारिस गरिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप