आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाढी र पहिरोले पाँचथरमा सङ्कट : माओवादीले गरायो सरकारको ध्यानाकर्षण

शुक्रबार, ०९ कात्तिक २०८१, १९ : ५१
शुक्रबार, ०९ कात्तिक २०८१

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशले गत असोज ९ देखि १२ गतेसम्म परेको अबिरल वर्षाको कारण पाँचथरमा सयौँ घर क्षतिग्रस्त बनेको, करोडौंको भौतिक संरचना नष्ट भएको, खानेपानी, सिँचाइ तथा विद्युत् आयोजनाहरू भत्किएको भन्दै पुनःनिर्माणको पहल गर्न कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । 

माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार), सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष हर्कबहादुर नेम्वाङ, राष्ट्रियसभाका प्रमुख सचेतक गोपिबहादुर अछामी र कार्यालय सचिव टंक गिरीसहितको टोलीले शुक्रबार प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ध्यानाकर्षण गराएका हुन् । 

गृह मन्त्रालयले घोषणा गरेको देशको संकटग्रस्त स्थानीय तहहमध्ये पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका पनि परेको छ । पाँचथरमा उक्त विपदमा परी नौ जना नागरिकहरूको ज्यान गएको छ भने चार जना नागरिक बेपत्ता छन् । ‘बाढीले सयौँको संख्यामा घरबारविहीन र अरबौको खेतिबाली तथा धनसम्पती नष्ट भएको छ । सयौँ संख्यामा शिक्षा, स्वास्थ्य र संघसंस्थाहरुको भौतिक संरचना जोखिम अवस्थामा छन् । अरबौ मूल्यको आधा दर्जन पक्कीपुल तथा वेलिव्रिजलगायत सडक बाढीले बगाएको छ,’ माओवादी केन्द्रका कोशी इन्चार्ज गजुरेलले भने, ‘यसर्थ बाढी पहिरोले पीडित, जनधन गुमाएका, बेपत्ता तथा घरवार विहीन पीडित पाँचथरवासी जनसमुदायहरूको यथाशीघ्र खोज, उद्धार, राहत तथा क्षतिपूर्ति सहित पुनः स्थापना गर्न तथा बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधार यथाशीघ्र पुनर्निर्माण गर्न माग गर्दछौँ ।’

माओवादी टोलीले मृतक परिवारहरूलाई क्षतिपूर्ति दिनुपर्ने, बेपत्ता व्यक्तिहरूको तत्काल खोज तथा राहत दिनुपर्ने, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरेको छ । जिल्लामा एक सय २० घर परिवार पूर्णरुपमा घरवार विहीन भएका छन् भने सयौँ घर परिवार उच्च जोखिम छन् । उनीहरूको पुनर्वास र सुरक्षित आवासको लागि भूगर्भविदहरुको भौगोलिक अध्ययन गराएर बस्ती स्थानान्तरण र पुनःस्थापना गरी एकीकृत बस्ती विकास कार्यक्रम लागू गर्न पनि मुख्यमन्त्री कार्कीलाई माओवादी टोलीले आग्रह गरेको छ । 

जसमा फालेलुङ गाउँपालिका ३ को सुपिन्दाङ–सितलपाटी, वडा नम्बर ४ को चेम्फुवा–खुर्बुक, गैरीगाउँ, गुरुङटार, तालखर्क, वडा नम्बर ५ को लुङमादिन, सिरिसे लुदिन फेङ्लिटार र  वडा नम्बर ६ को ठाडे, नाम्ले, खोलाघारीको बस्ती स्थानान्तरण गर्नुपर्ने उनीहरूको सुझाव छ । यस्तै फिदिम नगरपालिकाको वडा नं १३ खालिङखोप, छेउटार, लमुटार, साङमेना, स्यालधोती गाउँ पनि स्थानान्तरण गर्नुपर्ने जनाइएको छ । 

यस्तै पाँचथरमा मेचि राजमार्गको हेवाखोला पक्की पुल, फिदिम फालोट सडक खण्ड फेमेखोला पक्की पुल, सिवालय लुङरुपा गोरुवाले सडकको फेमेखोला त्रिबेनी पक्की पुल, मध्यपहाडि लोकमार्ग अन्तर्गत ओयाम ठाडो खोलामा पक्की पुल, मध्यपहाडि लोकमार्ग अन्तर्गत ओयाम फलैंचा फलाम खोला पक्की पुल, फिदिम फालोट सडक–मुवाखोला लुदिनटार पक्किपुल र दर्जनौँ संख्यामा झोलुङ्गे पुलहरु मर्मत तथा पुनर्निर्माण गरिनु पर्ने, सयौँ क्षतिग्रस्त शिक्षा स्वास्थ्य संस्थाहरुको भवन मर्मत तथा पुन निर्माण गरिनु पर्नेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 

यस्तै फालेलुङ गाउँपालिका वडा नं. २ देखि ८ को दर्जनौँ सिँचाइ कुलोहरु, फिदिम २ देखि १४ नम्बर वडाका कुलो, फाल्गुनन्द गाउँपालिकाको ७ वटै वडाका दर्जनौँ कुलोहरु भत्किएको भन्दै माओवादीले सम्पूर्ण सिँचाइ कुलोहरु तत्काल सञ्चालन गर्नका लागि वैकल्पिक व्यवस्थापन, मर्मत सम्भार र पाइपको व्यवस्था गर्नुपर्ने पनि माग गरेको छ । 

यस्तै जिल्लामा बाढीपीडित गाउँ वस्तिमा विद्युत् प्राधिकरणका संरचना ध्वस्त भएकोले तत्काल केन्द्रीय प्रसारण लाइनलाई मर्मत तथा निर्माण गरी विद्युत् सेवा सञ्चालन गरिनुपर्ने पनि उनीहरूको माग छ । जिल्लाको फालेलुङ गाउँपालिका ५ मा रहेको मुवाखोला लघु जलविद्युत आयोजना, वडा नं ६ रिगेवा लघु जलविद्युत आयोजना, मुवाखोला लुकुन्डे लघु जलविद्युत आयोजनाको पुनर्निर्माण गर्नुपर्ने देखिएको गजुरेलले बताए । 

यस्तै फिदिम बृहत खानेपानी योजना तत्काल मर्मत गराउनु पर्ने, बाढी पहिरोका कारण फिदिम, फालेलुङ र फाल्गुनन्द गाउँपालिकाहरमा अरवौको खाद्यान्न तथा नगदेवाली (अलैची, अदुवा, अम्लीसो, धान, कोदो)का साथै सयौँको संख्यामा पशु चौपायहरुमा क्षति भएको माओवादी पाँचथरका इन्चार्ज सीता थेबेले जानकारी दिइन् । क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिसहित विशेष किसान राहत कार्यक्रम लागु गर्न उनले माग गरिन् । 

माओवादीले २०८० असार २ गते बगाएका पक्किपुलहरु पनि हालसम्म पुनर्निर्माण नभएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । जसमा हेवाखोला घुमाउनेटार पक्किपुल, हेवाखोला सासुटार पक्किपुल, हेवाखोला पचिसे फिदिम नपा १०– हिलिहाङ–७ बेलिब्रिज र हेवाखोला तमोर कोरिडोरको बेलिब्रिज पुनः निर्माण गर्नुपर्ने माओवादी पाँचथरका संयोजक विशाल रसाइले जानकारी दिए ।

माओवादीले मुख्यमन्त्री कार्कीका साथै भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलगायतसँग संयुक्त छलफल गरेको हो । छलफल सकारात्मक भएको र पुनःनिर्माणमा ध्यान दिने प्रतिबद्धता जाहेर भएको माओवादी नेता अछामीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप