शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
अपराध

चन्दा उठाएको पैसा हिनामिना गरेको विवादमा जय प्रकाश यादवको हत्या

दुईजना पक्राउ
शुक्रबार, ०९ कात्तिक २०८१, १९ : ३९
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । चन्दा बापत उठाएको रकम हिनामिना गरेको आरोपमा कपिलवस्तुमा नेकपा माओवादी (महाविर समूह)का एकजनाको हत्या भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर–१० तेनुवा घर भएका जय प्रसाद यादव ‘दिनेश’लाई सो समूहका अगुवाहरूले हत्या गरेका हुन् । 

कार्तिक ४ मा विजयनगर गाउँपालिका–२ स्थित चिरईखोलाको किनारमा उनको शव भेटिएको थियो । हत्यापछि कम्मर माथिको भाग बलुवाले पुरेको अवस्थामा शव भेटिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए ।

हत्यामा संलग्न आरोपमा प्रहरीले सो समूहका कपिलवस्तु जिल्ला सेक्रेटरी रमेश श्रेष्ठ र महिला विभाग प्रमुख मनकला थारुलाई पक्राउ गरेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट छुट्टिएका ४७ वर्षीय रमेश श्रेष्ठ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–५ का स्थानीय हुन् । ४६ वर्षीया मनकला कपिलवस्तु वाणगंगा नगरपालिका–२ की स्थानीय हुन् । आरोपीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टले जानकारी दिए ।

नेकपा माओवादी (महाविर समूह)मा परिवर्तन भनेर चिनिएका जय प्रकाश यादव विजयनगर गाउँपालिको इन्चार्ज थिए । सो क्षेत्रमा उठाएको चन्दा रकम हिनामिना गरेको आरोपमा खोला किनारमा लगेर ८–१० जनाको समूहले उनको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न अन्य आरोपीबारे अनुसन्धान भइरहेको एसपी भट्टले बताए । हत्यापछि उनीहरुले जय प्रकाशको कम्मरमाथिको भाग बलुवाले पुरेर भागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप