शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

३ महिनामा नीतिगत सुधारमा काम गरेको छु : मन्त्री भण्डारी

शुक्रबार, ०९ कात्तिक २०८१, १८ : ३०
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आफ्नो तीन महिनाको कार्यकालमा नीतिगत सुधारमा काम गरेको बताएका छन् । आफ्नो तीन महिने कार्यकालबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले आफ्नो पहिलो प्राथमिकता नीतिगत सुधार रहेको बताए ।

रोजगारको क्षेत्रमा धेरै समस्या रहेको बताउँदै ती समस्या समाधानका लागि मन्त्रालयले नीतिगत सुधारमार्फत अघि बढ्न खोजिरहेको बताए ।

वैदेशिक रोजगार, तथा श्रम ऐनका विषयमा संशोधनको प्रक्रिया अगाडि बढिरहेको बताए । स्वदेशमै रोजगारीका सम्भावनाहरूको खोजिरहेको बताउँदै त्यसका लागि सबै सरोकारवालासँग समन्वय भइरहेको बताए । प्रत्येक पालिकालाई जब हबको रूपमा विकास गर्न खोजिरहेको उनको भनाइ छ ।

यसका लागि बढीभन्दा बढी टेक्नोलोजीको प्रयोग गर्न खोजिरहेको उनको भनाइ छ । मन्त्रालयले सबै सिस्टमहरूलाई एकीकृत गर्नका लागि नेमिसको परिकल्पना गरिरहेको बताए ।

मन्त्री भण्डारीले १०० दिनमा गरेका कार्यहरू:

२०८१ असार ३१ गतेदेखि दोस्रो कार्यकालको लागि मन्त्री नियुक्त भएका भण्डारीले कात्तिक ६ गतेसम्मको कार्य प्रगति सार्वजनिक गरेका हुन् ।

उक्त अवधिमा वैदेशिक रोजगारीमा संलग्न श्रमिकको मृत्यु भएमा उपलब्धि हुने क्षतिपूर्ति ७ लाखबाट बढाएर १० लाख पुर्‍याएको जनाएका छन् ।

त्यस्तै आन्तरिक रोजगार महाशाखा स्थापना तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचनाको प्रक्रिया समेत अगाडि बढाएको बताए । सबै स्थानीय तहबाट एकीकृत श्रम तथा रोजगार सेवा र सूचना प्रविधि विस्तार गरिएको तथा सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको छोराछोरीलाई समेत बीमाको व्यवस्था गरिएको उनको भनाइ छ ।

विज्ञ समितिबाट श्रम आप्रवासन नीतिको अन्तिम मस्यौदा प्राप्ति र विभिन्न सरोकारवाला संस्था तथा नागरिकबाट प्राप्त सुझावको अध्ययन भइरहेको समेत बताए । त्यस्तै आन्तरिक रोजगार प्रवर्द्धन दशक सञ्चालनको तयारी समेत भइरहेको उनको भनाइ छ ।

श्रमिकको स्वास्थ्य परीक्षण तथा प्रभावकारी सेवा प्रवाहमा सुधारका सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेर प्रतिवेदन प्राप्तिको चरणमा रहेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप