शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी

न्यायाधीशलाई घुस दिने प्रयास गरेका व्यवसायी एक वर्षदेखि सर्वाेच्च धाउँदै

धरौटीमा छुट्ने आस, तर मुद्दाको पालो नै पाएन
शुक्रबार, ०९ कात्तिक २०८१, १७ : २३
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनुसन्धानका लागि थुनामा छन् भने अन्य सहकारीका विषयमा पनि प्रश्न उठिरहेको छ । यही समयमा सिभिल सहकारी ठगी आरोपमा थुनामा रहेका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङ धरौटीमा रिहा हुनुपर्ने माग गर्दै करिब एक वर्षदेखि सर्वाेच्चमा पेसी धाइरहेका छन् ।

सिभिल सहकारी मार्फत बचतकर्ताको ४६ करोड रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाए पनि उनी धरौटीमा छुट्ने आसमा सर्वाेच्च अदालत धाइरहेका हुन् । 

तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले २०७८ असोजमा पक्राउ गरेको थियो । पक्राउ गरेपछि उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगी र किर्तेसहितका मुद्दा दायर भएको थियो । जिल्ला अदालतले सहकारीका बचतकर्ताको ठुलो रकम हिनामिना गरेकाले धरौटीमा छोड्न नसकिने भनी पुर्पक्षका लागि उनलाई थुनामा पठाएको थियो ।

काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहँदा तामाङले न्यायाधीशलाई घुस दिने प्रयाससमेत गरेका थिए । उनले जिल्ला न्यायाधीशसँग कानुन व्यवसायी मार्फत घुसको डिल गरेको कुरा सार्वजनिक भएको थियो । 

सिभिल ग्रुपका अध्यक्ष रहेका तामाङ एमालेबाट संविधान सभा सदस्यसमेत बनेका थिए । तत्कालीन समयमा संसद्को अर्थ समितिमा बसेर उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया), २०७२ मा आफ्नो स्वार्थअनुकूल एक दर्जनभन्दा बढी संशोधन हालेर लबिङसमेत गरेका थिए ।

आफैँ बैक तथा वित्तीय संस्थाको सञ्चालक रहेर स्वार्थ बाझिने कानुन निर्माण गरेको भनी त्यतिबेला विवादसमेत भएको थियो । समितिले चलखेलका आधारमा पास भएको विधेयक फेरि फर्केर संशोधन भएको थियो । उक्त विधेयक अहिले फेरि संसदमा संशोधनका लागि आएको छ ।

सिभिल होम, सिभिल अपार्टमेन्ट, सिभिल क्यापिटल मार्केट, सिभिल बैंक, सिभिल रियल इस्टेट, सिभिल इन्टरनेशनल कन्सल्ट्यान्ट, सिभिल ट्रेडिङ, सिभिल बिजनेश कम्प्लेक्स र सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी लिमिटेड तामाङकै नेतृत्वमा थियो ।

सिभिल ग्रुपका विभिन्न संस्था र कम्पनीमा बचत रकम जम्मा गरेका ३२ सय सर्वसाधारणको ७ अर्ब रुपैयाँभन्दा बढी रकम डुबाएर उनी फरार थिए । उनले सबैभन्दा धेरै ठगी सिभिल सहकारीबाटै गरेका थिए ।

तामाङले सिभिल ग्रुपअन्तर्गतकै सिभिल होम्स प्रालिलाई सहकारीमार्फत ८ अर्ब १ करोड ३७ लाख ११ हजार २११ रुपैयाँ ३७ पैसाभन्दा बढी रकम प्रवाह गरेका थिए । सहकारीका बचतकर्तालाई उनले बाउन्स चेक दिँदै झुलाउने गरेका थिए । तर पीडितहरूले रकम नै नपाएपछि प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले मुद्दा चलाउन उनलाई पक्राउ गरेको थियो ।

सिभिल समूहको लगानीमा रहेको सहकारीले आफ्नै हाउजिङ कम्पनीलाई ८० प्रतिशतभन्दा बढी ऋण गैरकानुनी रूपमा प्रवाह गरी संस्थालाई धराशायी बनाएपछि बचतकर्ता र सेयर सदस्य अदालत पुगेका थिए । हालसम्म बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छैनन् ।

सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर

व्यवसायी तामाङ सम्पत्ति शुद्धीकरणमा भने विशेष अदालतबाट दोषी ठहर भएका छन् । २०८० माघ ८ गते विशेष अदालतले सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पूर्वसांसद तामाङ दोषी ठहर हुने फैसला सुनाएको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला सुनाएको थियो । तामाङसँगै उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठ पनि दोषी ठहर भएका थिए । इच्छाराजका दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाएका थिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ०७९ भदौ १६ मा इच्छाराजविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अभियोग दायर गरेको थियो । त्यस्तै, उनकी श्रीमती सिर्जनासँग एक अर्ब तीन करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको थियो ।

इच्छाराज तामाङका नाममा एक कित्ता जग्गा तथा ६९ वटा कम्पनीमा सेयर भेटिएको थियो । सिर्जनाका नाममा भने एउटा सवारीसाधन र कसुरबाट आर्जित जग्गा भेटिएको थियो । विभागले प्रतीक्षा र प्रतिष्ठालाई क्रमशः ६ करोड २२ लाख तथा एक करोड ८९ लाख रुपैयाँभन्दा बढीको बिगोसहित मुद्दा चलाएको थियो । त्यस्तै, इच्छाराजले अपराधबाट आर्जन गरेको २६ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति केशवलालको नाममा राखिएको विभागको अनुसन्धानले देखाएको थियो ।

मीनाकुमारी श्रेष्ठका नाममा भने काठमाडौँका विभिन्न स्थानमा ७ कित्ता जग्गा भेटिएको थियो । यही कारण तामाङसँगै उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठ पनि दोषी ठहर भएका थिए ।

एक वर्षदेखि सर्वाेच्चमा मुद्दा तर पालो नै पाएन

जिल्ला अदालतमा न्यायाधीश राजकुमार कोइरालालाई तामाङका कानुन व्यवसायीले २ करोड घुसको अफर गरेका थिए । १० करोडसम्म धरौटी बुझाउने भन्दै कानुन व्यवसायी रुद्र पोखरेलले घुसको अफर गरेका थिए । तर न्यायाधीशले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएका थिए । यही विवादमा न्यायाधीश कोइराला करिब एक वर्ष छानबिनमा परेका थिए ।

पछि न्याय परिषदले न्यायाधीश कोइरालालाई सफाइ दिएको थियो । उनलाई सचेत गराएर काममा फर्काइएको थियो । जिल्ला अदालतले थुनामा पठाएपछि तामाङ त्यसविरुद्ध उच्च अदालत पाटन पुगेका थिए । न्यायाधीशलाई घुसको अफर अनि ठुलो विगो भएका कारण उच्चले जिल्लाकै आदेश सदर गर्‍यो ।

लगत्तै २०८० माघ २५ गते तामाङ सर्वाेच्च पुगेका थिए । आफूलाई थुनामा राख्ने निर्णय बेरितको भएकाले बदर हुनुपर्ने जिकिर गर्दै उनले दायर गरेको निवेदन पटकपटक पेसी तोकिने तर सुुनुवाइ नहुने हुँदै आएको छ । हालसम्म तामाङको मुद्दा ९ पटक पेसी तोकिएको छ । तर हालसम्म एक पटक पनि सुुनुवाइको मौका पाएको छैन ।

शुक्रबार तामाङको मुद्दा कुमार चुडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । पेसी दोस्रो नम्बरमै रहे पनि न्यायाधीशले ‘हेर्न नमिल्ने’ भएपछि सरेको छ । यसअघि २ पटक उनको मुद्दा ‘हेर्न नभ्याइने’ भएको छ भने ४ पटक ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा पेसी परेका कारण सर्दै आएको छ । शुक्रबार सुनुवाइ नभएपछि अब करिब एक महिनाका लागि उक्त मुद्दा सरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा दुलाल
दुर्गा दुलाल
लेखकबाट थप