शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

मानवअधिकार रक्षक पुरस्कारबाट पत्रकार कुईंकेल सम्मानित

शुक्रबार, ०९ कात्तिक २०८१, १७ : १९
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौं । राष्ट्रिय मानवअधिकार रक्षक पुरस्कारबाट पत्रकार एवं मानव अधिकारवादी राजन कुईंकेल सम्मानित भएका छन् ।  लुम्बिनी वर्ल्ड पिस फोरमले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकार कुईंकेललाई पुरस्कृत गरिएको हो ।

युवाका लागि दिगो शान्ति र सामाजिक उधमशीलता सम्बन्धी राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा संघीय संसद, प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पुरस्कृत गरेका हुन् । 

एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्षसमेत रहेका कुईंकेललाई पत्रकारिताका माध्यमबाट मानवअधिकार प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तिलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा युवा अभियन्ता एवं नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँ र नेपाल युवा संस्था सन्जाल (आयोन) का अध्यक्ष सुजता बराल पनि पुरस्कृत भएका छन् ।  

सम्मेलनलाई सम्बोधन गर्दै सभापति खतिवडाले युवाका नाममा राजनीति गर्न आउनेले गलत कामको आड लिनु दूर्भाग्यपूर्ण भएको बताए । उनले युवाहरू कुनै राजनीतिक रंग नदिएर मुलुकलाई अगाडि बढाउन एकताबद्व भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । खतिवडाले युवाको मापदण्ड उमेर मात्र नभई समाजप्रतिको योगदान मुख्य कुरा भएको भन्दै सम्पूर्ण युवालाई देश र जनताप्रति समर्पित भएर अगाडि बढ्न आग्रह गरे ।

पुरस्कार वितरणका लागि गठित तीन सदस्यीय छनौट समितिमा ग्लोबल युथ पालिर्यामेन्टका अध्यक्ष दिवाकर अर्याल, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए ।  कार्यक्रममा छनौट समितिका सदस्य अर्यालले सामाजिक उद्यमशिलता मार्फत् मुलुकको कायापलट गर्न सकिने भन्दै सकारात्मक योगदानका लागि सम्पूर्ण युवालाई आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष बासु गौतमले समाज, देश र विश्वस्तरमा देखिएका जल्दाबल्दा समस्या समाधानमा युवा संलग्नता र हस्तक्षेप जरूरी परेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप