शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
इङ्ल्यान्डविरुद्धको निर्णायक टेस्ट

तल्लो क्रमका ब्याट्सम्यानहरुले जोगाए पाकिस्तानको साख

शुक्रबार, ०९ कात्तिक २०८१, १७ : ०७
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । इङ्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा घरेलु टोली पाकिस्तान आफ्नो पहिलो पालीमा तीन सय ४४ रन बनाउँदै अलआउट भएको छ । पहिलो पालीमा पाकिस्तानले इङ्ल्यान्डसँग ७७ रनको अग्रता हासिल गरेको छ ।

पहिलो पालीमा पाकिस्तानका लागि साउद सकिलले अविस्मरणीय पाली खेले । टोली निकै अप्ठ्यारो स्थितिमा रहँदा साउद सकिलले शतक बनाए । उनले टोलीका लागि एक सय ३४ रनको योगदान गरे । साउद सकिलले दुई सय २३ बलको सामना गरी केवल पाँच चौका हिर्काए । बाँकी रन उनले दौडिएरै पुरा गरेका हुन् ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका २९ वर्षीय साउद सकिलले टेस्ट क्रिकेटमा बनाएको यो चौथो शतक हो । उनले १५ औँ टेस्ट खेलिरहेका छन् । घरेलु टोली पाकिस्तानले एक सय ७७ रनको कुल स्कोरमा आफ्नो सातौँ विकेट गुमाएको थियो ।

त्यसपछि साउद सकिल र नवौँ नम्बरका ब्याट्सम्यान नोमन अलीले टोलीको स्कोरलाई दुई सय ६५ रनको सम्मानजनक स्थितिसम्म पु¥याएका थिए । नोमन अलीले पनि साउद सकिललाई गतिलो साथ दिए । नोमन अलीले ४५ रन बनाए । उनले ८४ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए ।

पाकिस्तानका लागि साजिद खानले पनि अविजित ४८ रनको योगदान गरे । १० औँ नम्बरमा क्रिज समाल्न उनले ४८ बलको सामना गरी चार छक्का र दुई चौका पनि हिर्काए । उनी केवल दुई रनका कारण अर्धशतक पुरा गर्नबाट चुके ।

पाकिस्तानका अन्य ब्याट्सम्यानको प्रदर्शन भने निराशाजनक रह्यो । ओपनर अब्दुल्लाह सफिक १४ रन बनाउँदै आउट भए । अर्का ओपनर सइम अयुब पनि १९ रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान सान मसुद पनि २६ रन बनाउँदै पेभेलियन फर्किए ।

कमरन घुलम तीन रनमै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले टोलीको खातामा २५ रन थपेका थिए । सलमाल अघा एक रनमै आउट भए । आमेर जमालले पनि १४ रनमात्र बनाउन सके । इङ्ल्यान्डका बलर रेहान अहमदले चार विकेट लिए । सोएब बसिरले पनि तीन विकेट हात पारे । गस एट्किन्सनले दुई विकेट लिए । ज्याक लिच पनि एक विकेट हात पारे ।

त्यसअघि, रावलपिण्डीमा जारी तेस्रो टेस्टको पहिलो दिन बिहीबार भ्रमणकारी टोली इङ्ल्यान्ड ६८.२ ओभरमा दुई सय ६७ रन बनाउँदै अलआउट भएको थियो । टस जिती ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डका पहिलो पालीमा विकेटकिपर ब्याट्सम्यान जामी स्मिथले सर्वाधिक ९१ रन बनाएका थिए ।

टोली अप्ठ्यारो स्थितिमा रहँदा सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले एक सय १९ बलको सामना गरी सात छक्का र चार चौका हिर्काएका थिए । २४ वर्षीय स्मिथले टेस्ट क्रिकेटमा बनाएको यो चौथो शतक हो । उनी केवल नौ रनका कारण दोस्रो टेस्ट शतक पुरा गर्नबाट चुकेका थिए ।

इङ्ल्यान्डका लागि ओपनर ब्याट्सम्यान बेन डकेटले पनि अर्धशतकीय पाली खेलेका थिए । डकेटले टोलीको खातामा ५२ रन थपेका थिए । उनले ८४ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काएका थिए । ३० वर्षीय डकेटले टेस्ट क्रिकेटमा बनाएको यो १२औँ अर्धशतक हो । अर्का ओपनर ज्याक क्रावली भने २९ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

तल्लो क्रमका ब्याट्सम्यान गस एट्किन्सनले टोलीको खातामा ३९ रन थपेका थिए । कप्तान बेन स्टोक्स १२ रनमै आउट भएका थिए । ज्याक लिचले टोलीको खातामा १६ रन थपेका थिए । अनुभवी खेलाडी जो रुट, ओली पप र ह्यारी ब्रुकले त दोहोरो अंकमा समेत रन बनाउन सकेका थिएनन् ।

घरेलु टोली पाकिस्तानका बलर साजिद खान एक्लैले ६ विकेट लिएका थिए । उनले २९.२ ओभरमा चार मेडन राख्दै एक सय २८ रन खर्चिएका थिए । नोमन अलीले पनि तीन विकेट हात पारेका थिए । जाहिद महमुदले पनि एक विकेट कुम्ल्याएका थिए । 

तीन टेस्टको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाको पहिलो टेस्टमा इङ्ल्यान्डले पाकिस्तानलाई एक पाली र ४७ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो टेस्टमा भने पाकिस्तानले इङ्ल्यान्डलाई एक सय ५२ रनले हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप