शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिन

भारतविरुद्ध न्युजिल्यान्डलाई ३०१ रनको अग्रता

शुक्रबार, ०९ कात्तिक २०८१, १६ : ५९
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिन शुक्रबार भ्रमणकारी टोली न्युजिल्यान्डले घरेलु टोली भारतसँग तीन सय एक रनको अग्रता हासिल गरेको छ । दोस्रो दिनको खेल सकिँदासम्म न्युजिल्यान्डले आफ्नो दोस्रो पालीमा पाँच विकेट गुमाएर एक सय ९८ रन बनाएको छ ।

न्युजिल्यान्डका लागि विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डेल अविजित ३० र ग्लेन फिलिप्स अविजित नौ रन बनाउँदै क्रिजमा छन् । दोस्रो पालीमा न्युजिल्यान्डका लागि ओपनर ब्याट्सम्यान टम लाथमले अर्धशतीय पाली खेले ।

कप्तानसमेत रहेका टम लाथमले ८६ रन बनाए । उनले एक सय ३३ बलको सामना गरी १० चौका पनि हिर्काए । ३२ वर्षीय लाथमले टेस्ट क्रिकेटमा बनाएको यो ३०औँ अर्धशतक हो । उनी केवल १४ रनका कारण १४औँ टेस्ट शतक पुरा गर्नबाट चुके ।

दोस्रो पालीमा न्युजिल्यान्डका लागि विल योङले पनि २३ रन बनाए । अर्का ओपनर डेभोन कनवे १७ रन बनाउँदै पेभेलियन फर्किए । युवा ब्याट्सम्यान रचिन रविन्द्र नौ रन र ड्यारल मिचेल १८ रन बनाउँदै आउट भए । भारतीय बलर वासिङ्टन सुन्दरले चार र रविचन्द्रन आश्विनले एक विकेट लिए ।

त्यसअघि भ्रमणकारी टोली न्युजिल्यान्डले पहिलो पालीमा भारतसँग एक सय तीन रनको अग्रता लिएको थियो । पुणेमा जारी टेस्टमा भारतीय टोली आफ्नो पहिलो पालीमा केवल एक सय ५६ रन बनाउँदै अलआउट भएको थियो ।

घरेलु टोली भारतका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिकेटमा टिक्न सकेका थिएनन् । ओपनर यशस्वी जैसवालले ३० रन बनाए । कप्तानसमेत रहेका अर्का ओपनर रोहित शर्मा त खाता खोल्नुअघि नै पेभेलियन फर्किए ।

युवा ब्याट्सम्यान शुभमन गिलले पनि टोलीको खातामा ३० रनमात्र थप्न सके । अनुभवी ब्याट्सम्यान विराट कोहली केवल एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त पनि १८ रनभन्दा अगाडि बढ्न सकेनन् ।

सरफराज खान पनि केवल ११ रन बनाउँदै आउट भए । रविचन्द्रन आश्विन पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । रविन्द्र जडेजाले ३८ रन बनाए । वासिङ्टन सुन्दरले टोलीको खातामा अविजित १८ रन थपे । आकाश दीप ६ रनमा आउट भए ।   

भ्रमणकारी टोली न्युजिल्यान्डका बलर मिचेल सान्टनर एक्लैले सात विकेट लिए । उनले १९.३ ओभरमा एक मेडन राख्दै केवल ५३ रन खर्चिए । ३३औँ वर्ष प्रवेशको सँघारमा रहेका प्रभावशाली स्पिनर सान्टनरको टेस्ट क्रिकेटमा यो हालसम्मकै उत्कृष्ट प्रदर्शन हो । ग्लेन फिलिप्सले पनि दुई विकेट हात पारे । टिम साउथीले एक विकेट लिए ।

त्यसअघि, दोस्रो टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा दुई सय ५९ रन बनाएको थियो । न्युजिल्यान्डको टोली आफ्नो पहिलो पालीमा ७९.१ ओभरमा अलआउट भएको थियो ।

न्युजिल्यान्डका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । ओपनर डेभोन कनवेले ७६ रन बनाएका थिए । उनले एक सय ४१ बलको सामना गरी ११ चौका पनि हिर्काएका थिए । ३३ वर्षीय कनवेले टेस्ट क्रिकेटमा बनाएको यो ११ औँ अर्धशतक हो ।

रचिन रविन्द्रले पनि न्युजिल्यान्डको खातामा ६५ रन थपेका थिए । उनले एक सय पाँच बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काएका थिए । २४ वर्षीय रचिनले टेस्ट क्रिकेटमा बनाएको यो चौटो अर्धशतक पनि हो ।

यसका अतिरिक्त न्युजिल्यान्डका लागि मिचेल सान्टनरले ३३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेको थिएन । भारतका बलर वासिङ्टन सुन्दर एक्लैले सात विकेट लिएका थिए । उनले २३.१ ओभरमा चार मेडन राख्दै ५९ रन खर्चिए ।

२५ वर्षीय वासिङ्टन सुन्दरको टेस्ट क्रिकेटमा यो हालसम्मकै उत्कृष्ट प्रदर्शन हो । रविचन्द्र आश्विनले पनि तीन विकेट हात पारेका थिए । भारतविरुद्धको तीन टेस्टको शृंखलामा न्युजिल्यान्ड १–० ले अगाडि छ । शृंखलाअन्तर्गतको पहिलो टेस्टमा न्युजिल्यान्ड आठ विकेटले विजयी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप