नेपालमा हालसम्म २२ हजार जनाभन्दा बढीमा डेंगु सङ्क्रमण भइसकेको छ । यसमध्ये ११ जनाको मृत्यु भएको छ ।डेंगु कस्तो खालको रोग हो ? यो कसरी फैलिँदै छ ? यसको उपचार के छ भन्नेजस्ता विषयमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीः
डेंगु भनेको एक किसिमको भाइरसका कारण हुने रोग हो । डेंगुको १, २, ३ र ४ प्रजातिका भाइरस हुन्छन् । डेंगु भाइरस साधारणतया लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण मानिसमा देखियो भने डेंगु लागेको अथवा डेंगुको ज्वरो भन्ने गर्छौं ।
डेंगु लागेका बिरामीहरू अथवा कुनै पनि मानिसको शरीरमा डेंगु भाइरस छ भने पनि करिब–करिब ७५ प्रतिशत त्यस्ता बिरामीमा कुनै पनि लक्षण नदेखिकन डेंगु सङ्क्रमण भइरहेको हुन्छ । तर बाँकी २५ प्रतिशत बिरामीमा ज्वरो, जिउ र टाउको दुख्नेजस्ता लक्षण बढी देखिन्छ ।
त्यसबाहेक कसैकसैमा घाँटी दुख्ने, पखाला लाग्ने, खान मन नलाग्ने, जिउ एकदमै आलस्य हुने, कमजोरी महसुस हुने, त्यस्ता अरु लक्षण पनि देखिन्छन् । तर डेंगुको लक्षणबारे कुरा गर्दा एक्कासी उच्च ज्वरो आउने, टाउको र जिउ दुख्ने हुन्छ । डेंगु सङ्क्रमित धेरैजसो मानिसलाई देखिने लक्षण हो यो ।
डेंगुको प्रकोप फैलिनुको मुख्य कारण भनेकै डेंगु सार्ने लामखुट्टेको वृद्धि–विकास हो । एडिस एजिप्ट जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्दछ । वर्षापछि जमेको पानी अथवा कार्यालय वरिपरि, सामुदाय वरिपरि पानी जमेको खण्डमा लामखुट्टेले आफ्नो वृद्धि–विकास गर्न थाल्छ ।
यस्तो ठाउँ आसपासका मानिसलाई सङ्क्रमित लामखुट्टेले टोक्ने सम्भावना बढी हुन्छ । घनाबस्ती भएको ठाउँमा, मानिसहरू बाक्लो उपस्थिति हुने ठाउँमा प्रकोप बढी हुन्छ । मनसुनमा बढी डेंगुका बिरामी देखिन्छन् ।
केही समय पहिला गर्मी हुने ठाउँमा डेंगु सङ्क्रमण बढी फैलिन्छ भनिन्थ्यो । तर पछिल्लो समय गर्मी हुने ठाउँहरूको अलावा पहाडी इलाकामा पनि डेंगु देखिएको छ । सायद यो ग्लोबल वार्मिङका कारणले हो अथवा लामखुट्टे नै एक ठाउँबाट अर्को ठाउँमा सरेर सङ्क्रमण विस्तार भएको हुन सक्छ । नेपालका प्रायः सबै ठाउँमा डेंगुका बिरामी देखिएका छन् । त्यही भएर लामखुट्टेको वृद्धि जति बढ्दै जान्छ, त्यति डेंगुका बिरामी बढ्दै जान्छन् ।
हाम्रो देशको परिप्रेक्ष्य हेर्ने हो भने जेठ, असारदेखि लामखुट्टेको वृद्धि हुने र कार्तिक–मंसिर लागेपछि कम हुँदै जाने देखिएको छ । यसको अर्थ मनसुनको समयमा वर्षा हुन्छ र पानी जम्छ । त्यो बेला डेंगु सार्ने लामखुट्टेको सङ्ख्या वृद्धि हुने र मान्छेलाई डेंगु सार्ने क्रम बढी हुन्छ । नेपालमा जेठ–असारदेखि कार्तिक–मंसिरसम्ममा डेंगु सङ्क्रमण बढी देखिन्छ । अहिलेसम्मको रेकर्ड हेर्ने हो भने मंसिरदेखि डेंगुको सङ्क्रमण कम हुँदै जान्छ ।
नेपालको रेकर्ड नै हेर्ने हो भने डेंगुका भाइरस १, २, ३ र ४ छन् । यी चारै किसिमका डेंगु भाइरस नेपालमा देखिएको छ । पछिल्लो समयमा हाम्रोमा डेंगु बढी सार्ने भाइरस १, २ र ३ हो । डेंगु भाइरस–४ देखिएको छैन ।
डेंगुका चार वटै भाइरसले असर गर्ने तरिका र जटिलता ल्याउने सम्भावना उस्तै नै हुन्छ । एक प्रकारको डेंगु भाइरसको सङ्क्रमण भइसकेपछि १८ महिना वा दुई वर्षपछि अर्को प्रकारको डेंगु भाइरसले सङ्क्रमण गर्दा वा दोहोरिएको डेंगु अथवा पुनः सङ्क्रमण भएको डेंगु अलिकति जटिल हुन सक्छ । लक्षण भने सबैको उस्तै नै हुन्छ ।
डेंगुकै छुट्टै औषधि विकास भइसकेको छैन । तर पनि डेंगुका बिरामीहरूमा सामान्य लक्षण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खान मन नलाग्ने, अलिअलि पखाला लाग्ने, अलिअलि घाँटी दुख्ने समस्या भएमा घरमै बसेर ज्वरोको औषधि खान सकिन्छ ।
कुनै कुनै व्यक्तिलाई डेंगुको जटिलता हुन्छ । जस्तो, तारन्तर बान्ता हुने, पेट अत्यधिक दुख्ने, शरीरको कुनै पनि अङ्गबाट रगत बग्ने, एकदमै बेचैनी, छटपटी हुने, जिउ सुन्निने, पिसाब कम हुनेजस्ता समस्या भएमा चिकित्सकको परामर्श लिनुपर्छ ।
प्रतिक्रिया